पशुपतिनाथमा भेटी चोरी : ६ जना विरुद्ध मुद्दा दर्ता, २ करोड ३० लाख बिगो दाबी

पशुपतिनाथमा भेटी चोरी : ६ जना विरुद्ध मुद्दा दर्ता, २ करोड ३० लाख बिगो दाबी

160
SHARES

काठमाडौं : पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरी गर्ने ६ जना विरुद्ध डाँका चोरी मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले मुलुकी अपराध संहिताको दफा २४४ को उपदफा ३ (ख) अनुसार सजाय माग गरेर अभियोग पत्र दर्ता गरेको जिल्ला न्यायाधीवक्ता सन्तोष कटवालले जानकारी दिए।

पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरे, सत्यनारायण जोशी, सञ्जय कपाली, कुमार दमाई र अनिल परियारविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो। उनीहरूसँग २ करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरिएको न्यायाधीवक्ता कटवालले पहिचान अनलाइनलाई जानकारी दिए।

मुलुकी अपराध संहिता २४४ को उपदफा ३ को (ख) मा पाँच वर्षदेखि दश वर्षसम्म कैद र पचास हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। सार्वजनिक पद धारण गरेका समेत चोरीमा संलग्न भएको पाइएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि मुद्दा दर्ता गर्ने तयारी जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।

पशुपति क्षेत्र विकास कोषले सिसिटिभीबाट निरन्तर निगरानी गरेपछि ७ जेठमा चोरीमा संलग्नहरूलाई प्रहरीको जिम्मा लगाएको थियो। पशुपतिनाथ मन्दिरबाट दैनिक तीन लाखदेखि तीन लाख ५० हजार रुपियाँसम्म भेटी सङ्कलन हुन्छ। सङ्कलित भेटी नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कको बत्तिसपुतली शाखाका कर्मचारीले मन्दिर परिसरमै जम्मा गर्छन्।

पक्राउ परेका अभियुक्तले ज्याकेटमा लुकाएर रकम लाने गरेको सिसिटिभी फुटेजमा देखिएको थियो। भेटी चोरीमा बाजा बजाउने कर्मचारी समेत संलग्न भएको पुष्टि भएको छ। जबकि आर्थिक नियमावली अनुसार विशेष अवस्थाबाहेक बाजा बजाउने कर्मचारीलाई भेटी सङ्कलनमा खटाउन पाइँदैन ।

समाचार शेयर गर्नुहोस्
160
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.