भारतले उचाल्यो टी–२० विश्वकप क्रिकेटको उपाधि

भारतले उचाल्यो टी–२० विश्वकप क्रिकेटको उपाधि

104
SHARES

काठमाडौं : आइसिसी टी–२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ। शनिवार राति वेस्ट इन्डिजको ब्रिजटाउनमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि दोस्रोपटक उपाधि उचालेको हो।

भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन मात्र बनाउन सक्यो।

पहिलो पटक फाइनल पुगेको दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ५१, क्विन्टन डी ककले ३९, ट्रिस्टन स्टब्सले ३१ र डेभिड मिलरले २१ रन बनाए पनि हार टार्न सकेनन्। बलिङतर्फ भारतका हार्दिक पाण्डेयले ३ तथा अर्शदीप सिंह र जसप्रित बुमराहले समान २–२ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो। भारतका लागि ओपनर विराट कोहलीले ७६, अक्षर पटेलले ४७ र शिवम् दुवेले २७ रन बनाए।

दक्षिण अफ्रिकाका एनरिच नोट्र्जे र केशव महाराजले समान २÷२ तथा मार्को यानसेन र कगिशो राबाडाले १/१ विकेट लिए।

विश्वकप उपाधि जितेसँगै भारतका कप्तान रोहित शर्मा र विराट कोहलीले टी–ट्वेन्टी अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास घोषणा गरेका छन्। भारतका ओपनर ब्याटरसमेत रहेका रोहित र विराटले सामाजिक सञ्जालमार्फत आफ्नो सन्न्यास घोषणा गरेका हुन्।

कप्तान शर्मा २००७ मा टी–ट्वेन्टी विश्वकपको उपाधि जित्दासमेत भारतीय टोलीको सदस्य थिए। उनले १ सय ५९ टी–ट्वेन्टी आई खेल्दा ५ शतक र ३२ अर्धसतकसहित ४ हजार २ सय ३१ रन जोडेका छन्।

यस्तै १ सय २५ टी–ट्वेन्टी आई खेलेका पूर्वकप्तान विराट कोहलीले सर्वाधिक ३९ अर्धशतक बनाउने पाकिस्तानी ब्याटर बाबर आजमको रेकर्ड बराबरी गरेका छन्। उनीहरू दुवैले विश्वकप उपाधि उचालेपछि टी–ट्वेन्टी आईमा शनिवारको खेल नै आफ्नो अन्तिम खेल भएको बताए।

समाचार शेयर गर्नुहोस्
104
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.