वैवाहिक समानता : थाइल्यान्डका व्यवसायीहरू ‘पिंक भाट’ कमाउन उत्सुक

वैवाहिक समानता : थाइल्यान्डका व्यवसायीहरू ‘पिंक भाट’ कमाउन उत्सुक

एजेन्सी : डुजरुदी थाइथुम्नस थाइल्यान्डको सामुई द्वीपको सेतो बालुवाको तटमा तीन दशकदेखि समलिङ्गी जोडीको प्रतीकात्मक विवाहको अध्यक्षता गर्दै आएको छ।

थाइल्यान्डले समलिङ्गी विवाहलाई वैधानिकता दिने तयारी गरिरहँदा डुजरुदी पहिलो पटक कानुनी मान्यता प्राप्त समारोह आयोजना गरी पिंक भाट (गुलाबी थाई मुद्रा) क्यास इन (भुक्तानी) गर्न उत्सुक छ। थाई सिनेटले विवाह समानता विधेयक पारित गरेसँगै थाइल्यान्ड समलिङ्गी विवाहलाई मान्यता दिने दक्षिण पूर्वी एसियाको पहिलो देश बन्ने बाटो खुलेको छ।

‘सामुईमा विवाहहरू आयोजना गर्न आवश्यक सबै इकोसिस्टम छ, जसमध्ये टापु वन–स्टप शप हो। विधेयक पास भएपछि मलाई कुनै शङ्का छैन, हामी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक विवाह गन्तव्यको रूपमा विश्वमान चित्रमा रहनेछौँ, डुजरुदीले अलजजिरालाई भनिन्–म कति रोमाञ्चित छु भनेर वर्णन गर्ने कुनै शब्द छैन।’

उनी समुद्री तट प्याकेजका लागि १ हजार देखि ५० हजार डलर सम्म शुल्क लिन्छिन्। वर्षौँदेखि असफल हुँदै आएको प्रयासपछि, थाइल्यान्डको वैवाहिक समानता विधेयकले गत महिना आफ्नो अन्तिम संसदीय बाधा पार गर्न सफल भयो।


कानुन बन्नका लागि, विधेयकले अझै पनि शाही स्वीकृति प्राप्त गर्नुपर्छ। यद्यपि कानुन बनेपछि थाइल्यान्ड नेपाल र ताइवानसँगै एसियामा समलिङ्गी जोडीले विवाह गर्न सक्ने मात्र तीन वटा ठाउँहरूमध्ये एक हुनेछ।

अधिकारकर्मीहरूले पहिलो समलिङ्गी विवाहहरू अक्टोबरमा हुने आशा गरिरहेका छन्। कानुनले अन्ततः थाई समाजको यौनिक तथा लैङ्गिकतालाई व्यापक रूपमा स्वीकार गर्ने मनोवृत्तिलाई अङ्गालेको छ। यससँगै अनगिन्ती व्यवसाय, विवाह योजनाकारहरूदेखि लिएर होटल, मल, चिकित्सकीय संस्थानहरू, धितो दलालहरू लाभान्वित हुन तयार देखिन्छन्।

इभेन्ट प्लानिङ/कार्यक्रम आयोजना गर्ने व्यवसायका लागि नयाँ आयस्रोत (स्ट्रिम) हरूका अलावा, कानुनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीलाई पहिलो पटक सम्पत्ति, धितो र बिमा योजनाहरूको संयुक्त स्वामित्वको कानुनी मान्यता दिनेछ, जसले लामो समयदेखि वञ्चित वित्तीय सेवाहरूको दायरामा उपभोक्ताहरूको एउटा नयाँ प्रवाह देखिनेछ।

सामुई टापुका रियल स्टेट ब्रोकर लोय राहोङ आगामी अक्टोबरमा आफ्नी प्रेमिकासँग विवाह गर्ने योजना बनाइरहेका छन्। कानुनमा परिवर्तनसँगै अब यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायभित्र घरहरू बिक्री गर्ने, आइसल्यान्ड गेटवे, सहायताप्राप्त जीवन र सेवा निवृत्त समुदायलाई कसरी लक्षित गर्ने भनेर सोचिरहेको बताउँछन्। ‘हामी मुख्यतः यी जोडीहरूका लागि टापुमा केही विशेष बनाउन चाहन्छौँ’ उनले भनिन्।

थाइल्यान्डको प्राइड मन्थको उत्सव, जसमा बैंकक, फुकेत, पटाया र चियाङ माईमा सबैभन्दा धेरै उपस्थिति रहेको छ, उनीहरूबाट पर्यटन र अतिरिक्त व्ययमा १२० मिलियन डलरसम्मको आय भएको अनुमान गरिएको छ। इन्द्रेणी झन्डा र झाँकीहरूको लहरमा बैंककले गत आइतबार आफ्नो प्राइड मन्थको उत्सव समापन गरेको छ, जसलाई थाई अधिकारीहरूले एसियामा आफ्नो तर्फबाट सबैभन्दा ठुलो उत्सव मानेका छन्। उत्सवमा परेड, ड्र्याग क्याटवाक प्रतियोगिता, कला प्रदर्शनी, पप–अप बजार, साङ्गीतिक कार्यक्रमहरू भएका थिए।

थाइल्यान्डका प्रधानमन्त्री श्रेथा थाभिसिनले यस कानुनलाई भरपुर समर्थन गरेका छन्। दक्षिणपूर्व एसियाको दोस्रो ठुलो अर्थतन्त्रको लागि एक दुर्लभ राजनीतिक जीत र आर्थिक वृद्धि खोजिरहेको थाइल्यान्डले महामारी पछि पुनः उपलब्धि हासिल गर्न सङ्घर्षरत गरिरहेको छ।

थाइल्यान्डको केन्द्रीय बैङ्कले अर्थव्यवस्थामा यस वर्ष २.६ प्रतिशतको झिनो वृद्धि हुने पूर्वानुमान गरेको छ। अघिल्लो वर्ष २०२३ मा अर्थव्यवस्थामा १.९ प्रतिशतले वृद्धि भए पनि छिमेकी मलेसिया र इन्डोनेसिया पछाडि छ।

‘विशेषगरी, देशको अर्थव्यवस्थालाई बढवा दिनका लागि प्राइड फेस्टिभललाई सरकार सहयोग गर्न तयार छ, प्रधानमन्त्री श्रेथाले आइतबार समापन गरिएको ‘लभ प्राइड परेड’ मा भने। जुलाईको अन्त्यमा, थाइल्यान्डले औपचारिक रूपमा २०३० मा वर्ल्ड प्राइड (विश्व गौरव) को आयोजनाको आह्वान गर्नेछ।

गत महिना बैंककमा भएको पिंक पावर अप बिजनेस फोरममा, वक्ताहरूले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक–केन्द्रित फिल्म निर्माणदेखि चिकित्सकीय सेवा र सौन्दर्यसम्म सबै कुराको लागि विश्वव्यापी बजारको रूपमा थाइल्यान्डको बिक्री बिन्दुहरूको चर्चा गरेका थिए।

‘थाइल्यान्ड पहिले देखि नै विदेशी पाहुनालाई देशमा बस्नका लागि लोभ्याउने उद्देश्यसहित यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि शीर्ष गन्तव्यमध्येको एक बनेको छ’ थाइल्यान्डको पर्यटन प्राधिकरण अन्तर्गतको उद्यम, थाइल्यान्ड प्रिभिलेजका अध्यक्ष मानतासे अन्नावतले भने– ‘विधेयक पारित गरेपछि, थाइल्यान्ड यस समुदायको लागि विश्वको केन्द्र बन्न सक्छ।’

तेस्रो लिङ्गी महिला उद्यमी निक्की फिन्यापिन्चा विश्वव्यापी समानताको गन्तव्यका रूपमा थाइल्यान्ड पहिलो पिंक टाइगर नेशन (गुलाबी बाघ राष्ट्र) बन्न सक्ने बताउँछिन्।

थाइल्यान्डको माथिल्लो सदनले अन्तिम सुनुवाइपछि विधेयकलाई स्वीकृति प्रदान गरेको थियो। सदनमा उपस्थित १५२ सदस्यमध्ये १३० जना विधेयकको पक्षमा उभिए भने चार सिनेटरले विवाह समानता विधेयकको विरोध गरेका थिए र १८ जना अनुपस्थित रहेका थिए। उक्त कानुन औपचारिक रूपमा स्वीकृतिका लागि राजा महा वजिरलोङ्गकोर्न समक्ष गएपछि शाही राजपत्रमा प्रकाशित भई १२० दिनपछि लागू हुने व्यवस्था छ।

नयाँ कानुन लागू भएपछि नेपाल र ताइवानपछि समलिङ्गी विवाहलाई वैधता प्रदान गर्ने थाइल्यान्ड तेस्रो एसियाली मुलुक बन्नेछ। थाइल्यान्ड जीवन्त यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक संस्कृति र सहिष्णुताका लागि परिचित भए पनि अधिकारकर्मीहरू रूढीवादी दृष्टिकोणविरुद्ध दशकौँ देखि सङ्घर्षरत छन्।

सम्बन्धित समाचार :

थाइल्यान्डमा विवाह समानता : कतै उत्साह, कतै भेदभावको आशङ्का

समलिङ्गी विवाहलाई मान्यता दिने पहिलो आसियान राष्ट्र बन्दै थाइल्यान्ड

थाइल्यान्डमा समलिङ्गी विवाहलाई मान्यता दिने विधेयक पारित

ग्रीसमा समलिङ्गी विवाहलाई वैधानिकता

समलिङ्गी ग्याब्रियल एटल फ्रान्सको कान्छो प्रधानमन्त्री

केन्याको चर्चमा समलिङ्गी उपासकहरूलाई स्वागत

हङकङ्गमा अदालतका फैसला र जनमत सरकारको इच्छाभन्दा अग्रगतिमा

समलिङ्गी विवाह : भारतको कदम नियाल्दै अमेरिका

भारतमा समलिङ्गी : न विवाहको मान्यता, न धर्मपुत्र राख्ने अधिकार

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.