केन्याको चर्चमा समलिङ्गी उपासकहरूलाई स्वागत

केन्याको चर्चमा समलिङ्गी उपासकहरूलाई स्वागत

एजेन्सी : केन्याको एउटा चर्चले पछिल्लो एक दशकदेखि सावधानी पूर्वक अनि सचेत भएर आफ्ना कार्यहरू सञ्चालन गरिरहेको छ। अति धार्मिक देशमा समलिङ्गी उपासकहरूलाई स्वागत गर्दै आएको यस चर्चले आफ्नो सेवाका बारेमा प्रचार प्रसार गर्दैन।

‘पहिलो पटक चर्चमा प्रवेश गर्दा म रोएँ,’पादरी जोनले बीबीसीलाई भने। चर्चका नेताहरूले आफ्नो कामुकता पाप पूर्ण थियो र ब्रह्मचारी बस्न आवश्यक छ भनेर बताए पछि उनले आफ्नो बस्ती नै छाडिदिए।

‘मैले मेरो जीवनमा पुजारीको रूपमा कहिल्यै सोचेको थिइनँ की, म त्यस्तो ठाउँमा हुनेछु जहाँ म विरोधाभास तीन शब्दहरू भन्नेछु ‘म कालो व्यक्ति हुँ, म समलिङ्गी हुँ, म पुजारी हुँ।’

उनी अहिले सामाजिक सञ्जालबाट चर्चको बारेमा प्रचार गर्दछन्। यद्यपि धेरैजसो मानिस मौखिक प्रचार सुनेरै त्यहाँ पुग्छन्। चर्चमा अन्तरवार्ता लिइएका सबैको झैँ उनको नाम पनि परिवर्तन गरिएको छ।

चर्चका सदस्यहरू भेला भएको बारेमा र चर्चाका विषय सम्बन्धी विवरण सार्वजनिक गर्नु अघि निकै सचेत हुन्छन्। आफूहरूसँगै आबद्ध हुन चाहनेहरूलाई कुनै षड्यन्त्र या दुर्भावनापूर्ण उद्देश्य सहित प्रवेश चाहेको हो या होइन भनी सुरुमा सावधानीपूर्वक जाँच गरेर मात्र त्यहाँ बोलाउँछन्। ‘सुरक्षा र संरक्षण सर्वोपरि हो’ भन्ने सबै मण्डलीको मान्यता छ।

केन्यामा समलिङ्गी यौन कार्य गैरकानूनी मानिन्छ। सामाजिक रूपमा रूढिवादी समाज रहेको केन्यामा यस वर्ष भने सर्वोच्च अदालतले गे र लेस्बियन सङ्गठनहरूलाई गैर–सरकारी संस्थाको रूपमा दर्ता माथि लागेको प्रतिबन्ध खारेज गरिदियो।

आइतबार न्यानो हावा युक्त अनि सङ्गीतमय वातावरणमा चर्चको सेवामा करिब ३० जना मानिस एउटा साधारण भवनको कोठामा एकत्रित हुन्छन्। ‘हामी सुरु गर्न लागेका छौँ। हामी आँखा बन्द गरेर ध्यान गरौँ’ लामो कालो लुगा र रातो स्कार्फ लगाएकी मन्त्री पाउलिनले भने पछि पूरै कोठा शान्त बन्छ।

पाउलिन एक खुला रूपमा पहिचान बनाएकी लेस्बियन हुन्, जो व्यक्तिगत सर्वनामको रूपमा ‘उनीहरू’ र ‘उनीहरूलाई’भन्ने शब्दको प्रयोग गर्छिन्। चर्चका संस्थापक मध्ये उनी एक हुन्। चर्चमा सुरुमा एक अर्कालाई सहयोग गर्न थोरै मात्र आएका थिए।

‘जब तपाईँलाई कुनै स्थान (चर्च) बाट हटाइन्छ, त्यहाँ अरूलाई पनि बहिष्कार गरिएको छ कि भनी थाहा पाउने इच्छा हुन्छ,’पाउलिन भन्छिन्,‘बहिष्कृत नगरिएकाहरूले पनि मुख्य धारका चर्चहरूमा आफूलाई स्वीकार नगरिएको महसुस गरे। हामी अन्य समलिङ्गी ईसाहरूसँग भेट्न चाहन्थ्यौँ।’

आफू १२ वर्षको छँदै एचआइभी/एड्सबाट बुबाको मृत्यु भएपछि पाउलिनको जीवनमा एक्लोपनको भावना हाबी भइसकेको थियो। ‘बुबाको मृत्यु पछि, मानिसहरूले हामीलाई फरक तरिकाले व्यवहार गर्न थाले। हामी सबैलाई एचआइभी छ भन्ने उनीहरूको सोच हुन्थ्यो। मेरी आमालाई छुट्टै राखेर खाना दिन थालियो, हामीलाई केही ठाउँहरूमा प्रवेश गर्न रोकियो। चर्च पनि हामी जान नसक्ने ठाउँहरू मध्ये एक थियो’ पाउलिन भन्छिन्।

प्रत्येक चर्चले पाउलिनको जीवनको कुनै न कुनै पक्ष माथि प्रश्न उठाउने गर्थ्यो। यसबाट दिक्क भएका पाउलिन र उनका साथीहरू आइतबार युट्युबमा प्रवचनहरू हेर्नको लागि एक ठाउँमा भेला भई अन्य एलजीबीटीक्यू केन्यालीहरूलाई पनि सम्पर्क गर्न थाले।

त्यो पूर्वी अफ्रिकामा समलिङ्गी विरोधी वक्तव्यबाजी बढिरहेको समय थियो। छिमेकी युगान्डाले ल्याएको एउटा कठोर समलैङ्गिकता विरोधी कानुन माथि बहस सुरु भइसकेको थियो, जसलाई पछि थप कडा बनाइयो।

१० वर्ष पछि आफूहरूको सानो भेलामा २०० भन्दा बढी सदस्यहरू सम्मिलित हुनेछन् भनेर पाउलिन र उनका साथीहरूले कल्पना पनि गरेका थिएनन्। त्यहाँ आबद्ध भएका मध्ये धेरैले आफ्नो विगतका पूज्य स्थलहरू छाड्न बाध्य हुनु परेको थियो।

रेजिना, चर्चमा कार्यक्रमहरू आयोजना गर्ने टोली मध्येकी एक थिइन्। कार्यक्रमका स्वयंसेवकले ‘उनी वा तिनी’ प्रेमिका बनाएको थाहा पाएपछि उनलाई अल्टिमेटम दियो। ‘मलाई आफूमाथि विश्वासघात गरिएको जस्तो महसुस भयो’ रेजिनाले भनिन्,‘मैले उनीहरूको हिस्सा बन्न सक्दिन भनिदिएँ।’ रेजिनाले आफ्नो प्रेमिका रोजिन्। एक दशकपछि, आफ्नो इसाई धर्म र एउटा समुदायसँग पुनः जोडिने चाहना सहितको यात्राले उनलाई क्वीर पुष्टि गर्ने चर्चसम्म पुर्‍यायो।

‘एक समय थियो जुन बेला भगवानसम्म मेरो कुनै पहुँच छैन जस्तो लाग्थ्यो। म पापी हुँ भन्ने मात्र सुनेको थिएँ। यदि प्रार्थना ईश्वरसँग कुरा गर्ने एक माध्यम हो भने, म कसरी प्रार्थना गर्न सक्छु भनेर सोचेँ। त्यसपछि आफ्नो समुदायमा फर्किँदै छु भन्ने विश्वासले मलाई विगतको पीडाबाट मुक्ति दिलायो’ उनी भन्छिन्।

यद्यपि यो मण्डलीको लागि सधैँ सहज अवस्था रहँदैन। यसले धेरै आक्रमणहरूको सामना गर्नु परेको छ। एलजीबीटी उपासकहरूलाई स्वीकार गरेको कुरालाई लिएर घरबेटी अनि आसपासका मानिसहरू खुसी छैनन्। घर भाडा तिर्दा पनि उनीहरूको परिसरमा ताला लगाइन्छ, तोडफोड गरिन्छ, सदस्यहरू माथि आक्रमण हुने गर्छ। प्रहरीले समेत सुरक्षा प्रदान गर्न खातिर घुस माग्छ अनि कुटपिट गर्ने र पक्राउ गर्ने धम्की दिने गर्दछ।

बस्ने ठाउँ गोप्य राख्न उनीहरू १० वर्ष भित्रमा ९ स्थानमा सरिसकेका छन्। स्थान परिवर्तन गर्दा सदस्यहरूमा पुनः विश्वास कायम गराउन र उनीहरूलाई धार्मिक विधिका साथ फेरी जोडिन मद्दत गर्नु सबैभन्दा कठिन मध्येको एक काम हुने गर्दछ। ‘हामी सबैलाई सामान्य धर्म मन पर्‍यो, तर त्यहाँ केही चीजहरू हराइरहेका थिए। महिलाहरूलाई मान्यता दिइँदैन र क्वीर बच्चाहरूको रूपमा हामीले पनि आफूलाई सम्प्रदायमा राख्नुपर्छ। हामी भगवानमा पिता र आमाको रूप पनि देख्छौँ। यसले सबैलाई पुष्टि गर्छ’ पाउलिन भन्छिन्,‘तिनीहरूको धर्मको पहिलो पङ्क्तिमा एउटै परमेश्वर, हाम्रो सृष्टिकर्ता, हाम्रो निर्माता र प्रिय क्वीर बच्चाहरूको रूपमा हाम्रो अस्तित्वको स्रोतमा विश्वास गर्छौँ।’

केही उपासकहरू आफ्नो कामुकताको बारेमा परिवार र साथीहरूमा झन् खुल्ने भएका कारण चर्चको तालिका पनि लचिलो बनाइएको छ। ‘जब हामीले सुरु गर्‍यौँ, सबै जना असुरक्षित महसुस गर्थे र आफ्नो दुःख पीडाका बारेमा मौन थिए’पाउलिन भन्छिन्,‘उपासकहरू स्वयंलाई तनाव मुक्त एलजीबीटी केन्यालीको रूपमा बाँच्न प्रेरित हुन् भन्ने उद्देश्य सहित एउटा छलफल फोरमका रूपमा ‘च्याटएण्ड च्यु’ को थालनी गर्‍यौँ।’

सेवापछि, धेरै मानिसहरूले सम्बन्ध, परिवारबाट अस्वीकृति, घरबार विहीनता र अन्य धेरै चुनौतीको बारेमा कुरा गर्न पादरीको खोजी गरुन् अनि सँगै रुन, अँगालो मार्न, पीडा र खुसी साटासाट गर्दै एक अर्कालाई प्रेरित गर्न सकुन् भनी च्याटएन्ड च्यू सुरु गरेको उनले बताइन्।

धेरैजसो सदस्यहरू चर्च चलिरहोस् भन्ने चाहन्छन् तर केन्याली जीवन थप होमोफोबिक बन्दै गएकाले केही सदस्यहरूले आफ्नो सुरक्षाको लागि एउटा कोठरीमै फर्कने विचार गरेका छन्। ‘सुरुवात गर्दा हामीले सोचेका थिएनौँ कि यो ठाउँ यति महत्त्वपूर्ण हुनेछ। तर हामी हार मान्न सक्दैनौँ, अगाडिको बाटोबारे सोच्नुपर्छ, पाउलिन भन्छिन्,‘म चाहन्छु यो ठाउँ सबैका लागि खुला र सन्तुलित बन्न सकोस् जहाँ हामी सबैले आफ्नो मान्यता र परम्पराहरूका बाबजुद एक अर्काको सम्मान गर्न सक्छौँ।’

हिन्द महासागरमा तटवर्ती पूर्वी अफ्रिकाको एउटा देश केन्यामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू धेरै चुनौतीहरूको सामना गर्दै आएका छन्। केन्याको दण्ड संहिताले सोडोमीलाई एउटा अपराध मानी २१ वर्षको जेल सजायको व्यवस्था गरेको छ। कुनै पनि यौन कार्यहरूलाई घोर अभद्रता ठानी ५ वर्षको जेल सजाय हुन्छ। देशले समान लिङ्गका व्यक्तिहरुवीचको कुनै पनि सम्बन्धलाई मान्यता दिँदैन र केन्याको विधान अन्तर्गत सन् २०१० देखी समलिङ्गी विवाह माथि प्रतिबन्ध लगाइएको छ।

यौन झुकाव र लैङ्गिक पहिचानको आधारमा हुने भेदभाव एवं दुर्व्यवहार विरुद्ध कुनै स्पष्ट सुरक्षा छैन।

बीबीसीबाट

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading