काठमाडौं : भुटानको चेमगाङ केन्द्रीय कारागारबाट थप एक जना राजनीतिक बन्दी रिहा भएका छन्। ३१ वर्ष १० महिनाको कठोर जेल जीवन बिताएका रामबहादुर राई रिहा भएका भुटानी राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक राम कार्कीले जानकारी दिए।
संयोजक कार्कीका अनुसार कारागारबाट रिहा भए लगत्तै राई ७ जुलाई २०२४ मा नेपालको बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा आएका छन्। भुटानमा जन्मेका ६६ वर्षीय राई ५ जुलाई २०२४ मा भुटानको थिम्पुस्थित चेमगाङ केन्द्रीय कारागारबाट रिहा भएका थिए।
राईलाई देशद्रोहीको नाममा १९९२ को राष्ट्रिय सुरक्षा ऐन अन्तर्गत कारागार सजाय गरिएको थियो। जेल सजायबाट मुक्त भए पनि राईलाई भुटानी शासकले आफ्नो देशमा बस्न नदिएपछि नेपालको शिविरमा आएका कार्कीले बताए।
यसअघि रिहा भएका मधुकर मगरलाई पनि भुटानी शासकले भारतको सीमामा फालिदिएका थिए। मगर भारतको बाटो हुँदै शरणार्थी शिविरमा आएका थिए।
भुटानी राजबन्दी मधुकरको नयाँ जीवनका लागि अपिल
राईलाई पनि भुटानी शासकले सुरक्षाकर्मी लगाएर रिहा भएको दिन राति ११ बजे छिमेकी भारतको जयगाउँमा फालेको हो। ‘आफन्त र साथीभाइलाई भेट्न कम्तीमा एक साता भुटानमा बस्न दिनु पर्ने उनको बारम्बार अनुरोध अस्वीकार गरियो,’अभियानका संयोजक कार्कीले निकालेको विज्ञप्तिमा लेखिएको छ,’राईलाई क्षतिपूर्ति बापत सुरक्षाकर्मीले ५ हजार भुटानी मुद्रा तिर्न बाध्य पारे।’
भारतीय नागरिक राजु मगरले त्यो रात भारतमै बस्ने व्यवस्था गरिदिएको राईले बताए। भारतमा बाढीको अवस्थाका कारण ६ जुलाईमा नेपाल आउन नसकेपछि उनी जयगाउँमा थप एक रात बसेर ७ जुलाई २०२४ मा नेपाल प्रवेश गरे।
राजु मगरले उनलाई भारतीय सहर पानीटङ्कीमा लगे, जहाँ राईले उनको सहयोगको लागि ३००० हजार भारतीय रुपैयाँ दिए। सुरुमा पानीटाँकीमा भारतीय सुरक्षा अधिकारीले उनलाई नेपाल प्रवेशमा रोक लगाएका थिए। तैपनि बेलडाँगीबाट उनलाई लिन गएका ज्वाइँको प्रयासमा रासनकार्ड र अन्य कागजपत्र देखाएर भारत आउन नदिने सर्तमा नेपाल प्रवेश गर्न दिएका राईले बताए।
राई नेपालको बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा पुगे र अहिले आफ्नी छोरी गङ्गा र उनको परिवारसँग बस्दै आएका अभियानका संयोजक कार्कीले बताए। उनी भुटानी जेलमा वर्षौँको यातनाबाट थकित र बिरामी छन्। आफ्नी श्रीमती लच्छीमाया राईको सन् २००९ मा शिविरको झुपडीमा मृत्यु भएको थाहा पाउँदा आफू स्तब्ध भएको उनले बताए।
सन् १९९० को दशकमा भुटानमा मानवअधिकार र प्रजातन्त्रका लागि शान्तिपूर्ण आन्दोलन गर्ने नागरिकलाई भुटानबाट जबरजस्ती निष्कासित गरियो। सयौँ शान्तिपूर्ण मानव अधिकारकर्मीहरूलाई पक्राउ गरियो।
भुटानबाट निकालिएका नागरिकलाई भारतले नेपालमा धकेलेपछि शरणार्थी शिविर स्थापना भयो। भुटानी शरणार्थीहरूले नेपालबाट भुटान फर्कन धेरै शान्तिपूर्ण आन्दोलनहरू गरे तर असफल भए। बरु, ती कार्यकर्ताहरू मध्ये धेरैलाई राष्ट्रिय सुरक्षा ऐन उल्लङ्घनको आरोपमा पक्राउ गरी आजीवन कारावास गरिएको छ।
अभियानका अनुसार तीमध्ये कैयौँ राजनीतिक बन्दीहरू ठुलो अन्तर्राष्ट्रिय दबाबका कारण रिहा भए पनि दर्जनौँ अझै जेलमा छन्। न्युयोर्कस्थित ह्युमन राइट्स वाचले प्रकाशित गरेको प्रतिवेदनले भुटानको विभिन्न कारागारमा रहेका ३५ भुटानी राजनीतिक बन्दीलाई सफलतापूर्वक प्रमाणित गरेको छ भने रामबहादुर राई रिहा भएसँगै तीमध्ये ३४ जना अझै जेलमा छन्।
राईको भनाई उद्धृत गर्दै अभियानले निकालेको विज्ञप्ति अनुसार कारागारमा रहेका कैदीबन्दीको अवस्था अत्यन्तै दयनीय छ। खाना, औषधि र अन्य सुविधा अपुग छ, तर हाल कसैलाई पनि शारीरिक भने यातना दिइएको छैन।
डम्बरसिंह पुलामी, गङ्गाराम ढकाल, नन्दलाल बस्नेत, गोविन्द निरोला, ओमनाथ अधिकारी धेरै वर्षदेखि चेमगाङ केन्द्रीय कारागारमा विभिन्न दीर्घकालीन रोगबाट पीडित छन्। राईले प्रत्येक न्यायप्रेमी व्यक्तिलाई उनीहरूको समयमै रिहाइको लागि अपिल गरेका छन्।
भुटानी राजनीतिक बन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक कार्कीले भुटानका राजा र भुटानको शाही सरकारलाई सबै बाँकी राजनीतिक बन्दीहरूलाई सुरक्षित र ढिलाइ नगरी रिहा गर्न अपिल गरेका छन्।
संयोजक कार्कीले भुटानका सबै राजनीतिक बन्दीहरूलाई मुक्त गर्न र उनीहरूलाई आफ्नो परिवार र प्रियजनहरूसँग शान्ति र स्वतन्त्रतामा जीवन बिताउन अनुमति दिन विश्वभरका भुटानका न्यायप्रेमी मित्रहरू र अन्तर्राष्ट्रिय समुदायलाई पनि अपिल गरेका छन्।
सम्बन्धित समाचार :
राजनीतिक बन्दीलाई आममाफी दिन भुटानी राजालाई अपिल
युरोपियन युनियनलाई भुटानी शरणार्थीको पत्र : जीवनयापन र स्वदेश फिर्तीको पहल गरिदिनु
भुटानका प्रधानमन्त्रीलाई सुझाव : राजाको कठपुतली नबन्नु
भुटानका प्रधानमन्त्रीलाई ह्युमन राइट्स वाचको पत्र : राजनीतिक बन्दीहरूलाई रिहा गर्नु
टेकनाथसँगै जेल पर्यो शरणार्थी व्यवस्थापन मुद्दा : निर्वासन अध्याय – ९
भुटानको शासक पुरानै चिन्तामा, मन्त्रीकै आफन्त शरणार्थी (भिडियो)
नक्कली प्रकरणले थलिएको भुटानी मुद्दा, शरणार्थीभित्र पनि फाटो ल्याउने प्रयास
हेगमा भुटानीहरूको प्रदर्शन, बन्दी रिहा गर्न राजालाई दबाब
हेगबाट कार्कीले भने, भुटानी आन्दोलनको एउटा बलियो स्तम्भ ढल्यो
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.