"/>

भुटानी शरणार्थी : विश्वेश्वर र मदन भण्डारीका अनुयायी किन चुप?

भुटानी शरणार्थी : विश्वेश्वर र मदन भण्डारीका अनुयायी किन चुप?

काठमाडौं : तीन वर्ष अघि झापाको बेलडाँगीमा भेटिएका सन्तकुमार जोगी। उनी त्यति वेलै ९० वर्षका थिए। उनी पत्थरीका रोगी थिए। पाँच छोरा मध्ये तीन जना तेस्रो देश पुर्नवास भइसकेका छन्। दुई छोरा साथमा छन्। पत्थरीको उपचार सन्तकुमारले पाएनन्। चार वर्षदेखि हो उनलाई पत्थरी भएको।

बेलडाँगी शिविरमा वृद्धावस्थामा पुगेका सन्तकुमार जस्तै आफ्नै देश फर्कन पाउने आशामा टानी नागरिक शरण लिएर बसेका छन्। शरण लिएर बसेका भुटानीलाई मरणको अवस्थामा नपुर्‍याउन उनीहरू नेपाल सरकारसँग गुहार मागिरहेका छन्।

सरकारका उच्चपदस्थहरू नै संलग्न भएको नक्कलीलाई सक्कली र सक्कलीलाई नक्कली बनाउने आपराधिक प्रकरणले भुटानीहरूलाई खल्लो बनाएको छ।

भुटानी भन्ने बित्तिकै धेरैले शरणार्थीको पहिचान दिएका छन्। ९० को दशकदेखि थुनिएका राजबन्दीहरू जेलबाट रिहा भए लगत्तै निकालिने गरेका छन्। संयुक्त राष्ट्रसङ्घीय शरणार्थी सम्बन्धी उच्चा आयोग युएनएचसीआरले १ लाख भन्दा बढीलाई तेस्रो देश पुनर्स्थापना गरेपछि सम्पूर्ण सहयोग रोकेको छ।

सन् २०१७ देखि शरणार्थीलाई बाहिर पठाउन रोकिएको हो। भुटानले जेलमुक्त भएका राजबन्दीलाई घचेट्न भने छोडेको छैन। ६६ वर्षका रामबहादुर राई भारतीय सीमामा घचेटिन पुगे। जेलमा बन्दुकको कुन्दाले हान्दा दुखेको शरीर बाहेक रामबहादुर, मधुकर मगर र मानबहादुर खालिङसँग अहिले एउटा मात्र परिचय छ, जेलबाट रिहा हुँदा दिएको पत्र।

जयगाउँमा लगेर फालिदिने पत्रले रामबहादुर आफ्नो देशमा एक घण्टा पनि बस्न पाएनन्। उनलाई भारतीय सीमा क्षेत्रमा फालियो। उनी भारतमा बस्न पाएनन्,परिवार खोज्दै बेलडाँगी आइपुगे। नेपाल आउन खुल्ला छ। भुटानी जेलबाट रिहा भएका यी राजबन्दी भुटानको प्रजातान्त्रिक आन्दोलनमा सहयोग गरिदिन गुहार मागिरहेका छन्।

‘आफ्ना नागरिक होइनन् भने किन जेल हाल्यो? हुन् भने जेलबाट रिहा हुने बित्तिकै किन निकाल्यो?’टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले प्रश्न गरे। नेपालको राणा शासनमा टङ्कप्रसादले भोगेकै नियति भुटानमा अहिले कायम छ। राणा विरुद्ध पर्चा बोकेकै भरमा जेल कोचिए जस्तै भुटानमा पर्चाकै कारण जेल बस्नु पर्ने अवस्था छ। तर, भुटानले आफूलाई विश्वमा खुशीसुखी देशको डोङ पिटिरहेको छ। अन्तर्राष्ट्रिय जगतले पत्याइरहेको छ।

अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी आइसीआरसीले एक दशक भइसक्यो भुटानको अवस्थाबारे अनुगमन नगरेको। अन्तर्राष्ट्रिय समुदायले भुटानमा गएर स्वतन्त्र छानबिन गरेको छैन। नेपाल भुटान १५ औँ चरणको वार्ता पछि अर्को चरण हुन सकेको छैन। ‘देश द्रोहीको अपराधमा टङ्कप्रसाद जेल पर्नुपर्‍यो,’अध्यक्ष प्याकुरेलले भने,’भुटानी राजबन्दीहरूले टङ्क प्रसादको जारी रूप गर्नु भएको छ।’

भुटानी शासक निरङ्कुश : जेलमा कठोर याताना, रिहा पछि देश निकाला

भुटानी राज्य डराएको छ। ‘सत्ता जान्छ भन्ठान्यो,त्यसैले तपाईँहरू राजबन्दी हो। भुटानको बारेमा संसद्मा बोल्ने फुर्सद छैन, किन?’ उनले प्रश्न गरे। २०४८ साल संसद्मा मदन भण्डारीले भुटानमा मान्छेहरूलाई फर्काउने मात्रै गर्न नहुने बताएका थिए। ‘प्रजातान्त्रिक वातावरणमा बस्न पाउनु हुन्छ कि हुँदैन भनेर कुरा उठाउनु भएको थियो। उहाँका अनुयायी किन चुप?’प्याकुरेलले प्रश्न गरे,’विश्वेश्वरप्रसाद कोइरालाले बनाएको पार्टीका नेताहरू आफूलाई लोकतन्त्रवादी भन्छौ भने उठाउनुपर्छ।’

भुटानी शासक अझै पनि आफ्ना नागरिकलाई सिमाना कटाउने काम गरिरहेको छ। भुटानको प्रजातान्त्रिक आन्दोलनलाई नेपालले समर्थन गर्नुपर्ने दृष्टान्त समेत अध्यक्ष प्याकुरेलले सुनाए। बर्मा, बङ्गलादेशको प्रजातान्त्रिक आन्दोलनमा ऐक्यबद्धता जनाएकोले भुटानी राजबन्दीहरूको आन्दोलनलाई नेपालले ऐक्यबद्धता जनाउनु पर्ने उनले बताए।

नेपाल सरकार समस्या प्रति गम्भीर बनेको पाएका छैनन् भुटानी शरणार्थीहरूले। भुटानी शरणार्थी अहिले जीर्ण अवस्थामा बस्नु परेको छ। ‘हिजो शरणार्थीको सङ्ख्या विश्वमा वाहवाही थियो,’बेलडाँगी शरणार्थी शिविरका सचिव सञ्चहाङ सुब्बाले भने,’साढे ५ हजारको सङ्ख्या भए पछि सबै भन्दा टाढा भएको छ।’

युएनएचसीआरले सङ्ख्याको जिम्मा लिएको हो कि समस्याको भन्नेमा शरणार्थीहरू अन्योलमा परेका छन्। ‘सङ्ख्या या समस्या जिम्मा लिनु भएको? समस्या प्रति हो भने नक्कली प्रकरणमा पर्नुभयो। सजाय शिविरमा दिनु भयो,’ सुब्बाले भने,’नजर लगाउनु भएन। गल्ती छ भने सरकारको कानुन मान्न तयार छौँ, सपोर्ट नभएको आभास भएको छ।’

भुटानीको नाममा अर्कोलाई शरणार्थी बनाउने खेलले भुटानी शासक अमानवीय ढङ्गले प्रस्तुत भइरहेको छ। ९० को दशकदेखि जेल परेका राजनीतिक बन्दी ३५ जना छन्। उनीहरू पनि जेल मुक्त भए पछि आफ्नो देशमा बस्न पाउँदैनन्। उनीहरूलाई पनि रामबहादुरको जस्तै अवस्थामा पुर्‍याउँछन्।

भुटानको चेमगाङ कारागारबाट रिहा भए राई, आए बेलडाँगी शिविरमा

नेपालमा पनि परिचयपत्र विहीनको अवस्थामा छन् उनीहरू। जिल्ला प्रशासन कार्यालय झापाले दर्ता बन्द भैसकेको बताएपछि रामबहादुर, मधुकर, मानबहादुर शरण लिन आउँदा मरणको अवस्थामा पुगेको बताउँछन्। ‘चिल्ली बिचल्ली भएका छौँ, देश फिर्तीको लागि बसेकाहरू,’सचिव सुब्बाले भने।

संयुक्त राष्ट्र सङ्घीय नियोग जेनेभामा नेपालका लागि पूर्वराजदूत समेत रहेका परराष्ट्रविद् दिनेश भट्टराईले प्रजातान्त्रिक मुलुकको नागरिकको नाताले भुटानी राजबन्दीको बलिदान प्रति ऐक्यबद्धता जनाए। ‘तेस्रो मुलुकमा पुनः स्थापना कुरा निस्कँदा भुटान नै फर्काउने हो भनेर स्व.गिरिजाप्रसाद कोइरालाले भन्नु भएको थियो,’भट्टराईले भने,’एक घण्टाका लागि भए पनि भुटानमा लगेर पुनर्स्थापना गर्नुहोस् भन्नु भएको थियो।’

नेपालको भुटानसँग प्रत्यक्ष सीमा नजोडिए पनि समस्या भोग्नु परेको उनले सुनाए। ‘वार्ताबाट समाधान गरेन भुटानले। भुटान भाग्यो,’उनले भने,’एक जना पनि भुटान फर्केको छैन। फर्किन पाउँदैनन्।’

२१ वर्ष जेल सजाय मुक्त भए पछि आएका मानबहादुर खालिङ क्याम्पमा आधारविहीन छन्। गत वर्ष मात्रै जेलमुक्त भएर बेलडाँगी शिविर आएका मधुकर मगरको एक वर्षदेखि परिवार पुनर्मिलन भएको छैन।

अहिले उनलाई परिवार र आफन्तले नआएको भए हुन्थ्यो जस्तो गरिरहेका छन्। ‘यता परिचयपत्र छैन। नानीहरू विदेशमा छ। याद नगर्दो रैछ,’मधुकरले भने,’छोराछोरी पनि कुरा गर्न नमान्दा रैछन्। उता बस्न दिएन। यहाँ पनि केही छैन,हामी कहाँको हो? मन मरेर आएको छ। घर न थरको भइएको छ।’

उनीहरूले युएनएसचीआरलाई पनि भेटिसके। ‘परिवारको नाम युएनएचसीआरको कम्प्युटरमा सेभ गरेको भेट्यौ,’मधुकरले भने,’तर परिवार भेट्न पाइएन।’

सक्कलीको नाममा नक्कली, नक्कलीको नाममा सक्कली प्रकरणले बेलडाँगी शिविरका भुटानी नागरिक दुई वर्ष देखि बन्धक छन्। परिवार र आफन्त भेट्न जान पाउँदैनन्। ‘नेपाल सरकारले ट्राभल डकुमेन्ट दिँदैन,’उनीहरूले भने,’बन्देजको अवस्था छ।’

युएनएचसीआर हराएको छ। कता हरायो? कहाँ गयो? नेपाली नागरिकले पनि खोजी गरेका छन्। अन्तर्राष्ट्रिय दायित्वबाट नचुक्न भनेका छन्। प्रतिष्ठानका अध्यक्ष प्याकुरेलले यो सबैको सामूहिक दायित्व भएको बताए।

भुटान आततायी निरङ्कुश देश हो। प्रजातन्त्र छैन। संसारले मानेको कानुन मान्दैन। राष्ट्रिय अन्तर्राष्ट्रिय कानुन अनुसार देश निकाला गर्नै मिल्दैन। उपचारसम्म गर्न नदिएर भुटानी शासकले आफ्ना नागरिकलाई देश निकाला गरिरहेको छ। जेल मुक्त भएर आएका तीन जनालाई नै उपचारको खाँचो छ।

शारीरिक रूपमा दुर्दान्त छन् उनीहरू। अर्थोपेडिक अस्पतालले आइतबार उनीहरूको उपचार गर्ने जानकारी वरिष्ठ पत्रकार कनकमणि दीक्षितले कार्यक्रममा गराए। एमनेस्टी इन्टरनेशनका पूर्वअध्यक्ष राजन कुइँकेलले भुटानी नागरिकको समस्यालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताए।

राष्ट्रिय मानवअधिकार आयोगले भुटानी शरणार्थी समस्याको बारेमा जानकारी पाएको छ। ‘शरणार्थी समस्याको बारेमा जानकारी पाएका छौँ,’आयोगका उपसचिव कमल थापा क्षेत्रीले भने,’क्याम्प अनुगमन पनि गर्ने तयारी छ।’

विश्वले नदेखेको भुटानका राजबन्दीसँग भेट र चिन्तन कार्यक्रममा चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसी पनि पुगेका थिए। उनी तीन राजबन्दीको वेदना सुने पछि शिविरका सचिव सुब्बासँग हात मिलाए अनि निस्किए।

सम्बन्धित समाचार :

राजनीतिक बन्दीलाई आममाफी दिन भुटानी राजालाई अपिल

युरोपियन युनियनलाई भुटानी शरणार्थीको पत्र : जीवनयापन र स्वदेश फिर्तीको पहल गरिदिनु

भुटानका प्रधानमन्त्रीलाई सुझाव : राजाको कठपुतली नबन्नु

भुटानका प्रधानमन्त्रीलाई ह्युमन राइट्स वाचको पत्र : राजनीतिक बन्दीहरूलाई रिहा गर्नु

टेकनाथसँगै जेल पर्‍यो शरणार्थी व्यवस्थापन मुद्दा : निर्वासन अध्याय – ९

भुटानको शासक पुरानै चिन्तामा, मन्त्रीकै आफन्त शरणार्थी (भिडियो)

नक्कली प्रकरणले थलिएको भुटानी मुद्दा, शरणार्थीभित्र पनि फाटो ल्याउने प्रयास

हेगमा भुटानीहरूको प्रदर्शन, बन्दी रिहा गर्न राजालाई दबाब

हेगबाट कार्कीले भने, भुटानी आन्दोलनको एउटा बलियो स्तम्भ ढल्यो

भुटानी राजबन्दी मधुकरको नयाँ जीवनका लागि अपिल

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.