महिलालाई प्रधानमन्त्री बनाउने ओलीको गृहकार्य, जनयुद्ध गर्ने प्रचण्डको धम्की

महिलालाई प्रधानमन्त्री बनाउने ओलीको गृहकार्य, जनयुद्ध गर्ने प्रचण्डको धम्की

232
SHARES

काठमाडौं : नेपालमा महिलालाई प्रधानमन्त्री बनाउने बहस सुरु भएको छ। बहालवाला र पूर्वप्रधानमन्त्रीहरु महिलालाई प्रधानमन्त्री बनाएर इतिहास रच्ने सुनाउन थालेका छन्। आफू प्रधानमन्त्रीबाट हट्ने दिन प्रतिनिधिसभाको बैठकमा पुष्पकमल दाहाल प्रचण्डले महिलालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो बर्हिगमनपछि महिलालाई प्रधानमन्त्री बनाउने गृहकार्य गरिरहेको बताएका छन्। देशले राष्ट्रपति, प्रधानन्यायाधीश, मुख्यसचिव महिला पाए पनि प्रधानमन्त्री पाउन नसकेको भन्दै ओलीले गृहकार्य गरिरहेको सुनाए।

केही दिन अघि मात्रै भारत भ्रमण गर्दा परराष्ट्र मन्त्री एवं शेरबहादुर देउवा पत्नी आरजु राणाले उच्च सम्मान पाएको चर्चा चलिरहँदा ओलीले महिला प्रधानमन्त्री बनाउने गृहकार्यको कुरा सुनाएका हुन्।

राजेश हमालदेखि विभिन्न क्षेत्रमा नाम चलाएकाहरूलाई सम्मान गर्न उपस्थित यूथ कनक्लेभ २०२४ मा प्रधानमन्त्री ओलीले विदेशमा हुने डेलिगेसनहरूमा महिलालाई अनिवार्य सहभागी गराउनु पर्ने नियम नै बनाएको बताए।

ओलीले महिलालाई प्रधानमन्त्री बनाउने गृहकार्य गरिरहेको सुनाउँदा सरकारबाट हटेका दलहरू भने जनता गुहार्न थालेका छन्। प्रधानमन्त्री पद खुस्के पछि पुष्पकमल दाहाल प्रचण्डलाई छटपटी सुरु भएको छ। १० वर्ष युद्ध लडेको माओवादी आफ्नै कारण सकिने अवस्थामा पुगेको टिप्पणी भइरहेको छ।

किन चाउरिस मरीच आफ्नै पिरोले भन्ने अवस्थामा पुगेको माओवादी भने अहिले पनि पुराना दिन सम्झेर कुर्लने गरेको छ। युद्धका सुप्रिमोकमाण्डर प्रचण्डलाई २०६४ सालको पहिलो संविधान सभा चुनावमा पाएको जनमत झल्झल्ती आइरहेको छ।

नेता कार्यकर्तालाई प्रचण्डले ६४ को चुनावमा भोट हाल्नेहरूको नामावली सङ्कलन गर्न नै भनेका छन्। देशमा शान्ति स्थापनाका लागि काँग्रेस र एमालेको भोट पाएर शक्तिशाली प्रधानमन्त्री बनेका प्रचण्ड सत्ताबाहिर हुने बित्तिकै युद्धको धम्की दिँदै आएका छन्।

प्रचण्डले शनिवार नुवाकोटमा भएको कार्यक्रममा पनि जाली फटाहरूलाई तह लगाउने गरी फेरी जनयुद्ध सुरु गर्ने धम्की दिए। तीन पटक गरी झन्डै ४ वर्ष सरकारको नेतृत्व गर्दा माखो मार्न नसकेका प्रचण्डले उही पहिलेको जस्तै युद्ध गर्ने धम्की दिएका हुन्।

मोहन वैद्य किरण, डा.बाबुराम भट्टराई, विप्लव सहित एकपछि अर्को युद्धका सारथिहरू गुमाउँदै गएका प्रचण्ड यतिबेला बिलखबन्दमा परेका छन्।

सरकारबाट बाहिरिनु परेको पीडामा रहेका प्रचण्ड अरू भन्दा पनि केपी शर्मा ओलीसँग रिसाएका छन्। काँग्रेससँग मिलेर सत्ताबाट सडकमा पुर्‍याउने अरू कोही नभएर ओली नै भएको देखेका प्रचण्डले ओलीलाई कायरको संज्ञा दिए।

समाचार शेयर गर्नुहोस्
232
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.