भीषण वर्षाले पुर्‍याएको क्षतिको विवरण आउने क्रम जारी, ४ दिनदेखि रोकिएका बस गुड्न थाले

भीषण वर्षाले पुर्‍याएको क्षतिको विवरण आउने क्रम जारी, ४ दिनदेखि रोकिएका बस गुड्न थाले

काठमाडौं : गत बिहीबारदेखि शनिवारसम्म भएको भीषण वर्षाले पुर्‍याएको क्षतिको विवरण आउन क्रम जारी छ। वर्षापछिको बाढी पहिरोले सडक भत्किँदा यात्रुहरू बीचबाटोमै मर्ने अवस्थामा पुगेका छन्। विद्युत् र सञ्चार सेवासमेत अवरुद्ध हुँदा क्षतिको यकिन विवरण आउन नसकेको हो।

प्रभावित क्षेत्रमा सङ्क्रामक रोगको जोखिम समेत देखिएको छ। विवरण सङ्कलनकै क्रममा रहेको सरकारले सोमबार साँझ ७ बजेसम्ममा २०९ जनाको मृत्यु भएको बताएको छ। २९ जना अझै बेपत्ता छन् भने १४२ जना घाइते भएका छन्।

सबैभन्दा बढी काठमाडौं उपत्यका र बागमती प्रदेशमा जनधनको क्षति पुगेको छ। विपद्बाट काठमाडौँ उपत्यकामा मात्रै ८२ जना र उपत्यकाबाहेक बागमती प्रदेशमा ९४ जनाको मृत्यु भएको छ। जिल्लाका आधारमा सबैभन्दा बढी काभ्रेपलान्चोकमा ५९ जनाले ज्यान गुमाउँदा ५२ जना घाइते भएका छन्। देशभरका १७ सय ८३ घरमा क्षति हुँदा काभ्रेका मात्रै एक हजार घरमा क्षति पुगेको छ।

सरकारले हालैको प्राकृतिक प्रकोपबाट भौतिक पूर्वाधार क्षेत्रमा २५ अर्ब भन्दा बढीको क्षति भएको बताएको छ। देशभरका १९ वटा पुलमा क्षति पुगेको छ। पाँचथर, सुनसरी र सिन्धुपाल्चोकमा तीन बेलिब्रिज बाढीले बगाएको छ।

देशका केही स्थानमा पक्लीपुल देखि सडक, झोलुङ्गे पुल बगाएको र ठुलो क्षति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताए। उनले चाडबाडअघि नै अवरुद्ध भएका सबै सडक सञ्जाल सुचारु भइसक्ने दाबी गरे।

ठाउँठाउँको सडक सञ्जाल टुट्दा बिचैमा अलपत्र परेका यात्रुहरूले पैदल नै भए पनि गन्तव्यमा पुग्ने प्रयास गरिरहेका छन्। काभ्रेमा अलपत्र पर्दा हिँडेरै राजधानीको यात्रामा निस्किएका १४८ यात्रुलाई सशस्त्र प्रहरी बल नेपालको बसमा काठमाडौँसम्म ल्याइएको छ।

घाइते, बिरामी र अलपत्र यात्रुको उद्धारमा तीन वटै सुरक्षा निकाय खटाइएको गृह मन्त्रालयले जनाएको छ। सोमबार नेपाली सेनाको हेलिकप्टरमार्फत ४२५ जनाको उद्धार गरिएको मन्त्रालयले बताएको छ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार ७०७ सवारीसाधन काठमाडौं उपत्यका भित्रिएका छन्।

अविरल वर्षाले अवरुद्ध बनेको पृथ्वी राजमार्ग खुलेसँगै काठमाडौँबाट रात्रिकालीन बस चल्न थालेका छन्। काठमाडौँको नयाँ बसपार्कबाट नागढुंगाको नाका हुँदै १ हजार ८ सय भन्दा बढी लामो दुरीका गाडी छुटेको यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए।

काठमाडौँ उपत्यकाबाट दैनिक करिब १२ सय यात्रुवाहक सवारी साधन काठमाडौँ बाहिर जाने गरेका छन्। नयाँ बसपार्कमा काठमाडौँबाट दशैं मान्न घर जाने यात्रुको भीड लाग्ने गरेको छ।

वरिष्ठ उपाध्यक्ष सिटौलाले गंगबुबाट ४ दिनदेखि रोकिएका बस गुड्न थाले पनि पहिरो जान क्रम नरोकिएकाले कसरी गन्तव्यमा पुग्ने हुन भन्ने चिन्ता थपिएको बताए।

पीडितले समयमै उद्धार र राहत पाउन नसकेको गुनासोकै बीच बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले विपद्पछि उत्पन्न हुने सम्भावित स्वास्थ्य समस्यालाई ध्यान दिइएको सुनाएका छन्।

दीर्घकालीन कामलाई थाती राखेर बाढी पहिरो प्रभावितको उद्धार, राहत र अस्थायी आवासको व्यवस्थापनमा लाग्नसमेत गृहमन्त्री लेखकले निर्देशन दिएको बताए।

बैठकले बढिपहिरो पीडितका लागि अस्थायी आवास निर्माण गर्न अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। विपद्मा घरवास गुमाएका परिवारहरूको अस्थायी आवास बनाउन वास्तविक लाभग्राही पहिचान गर्ने र पहिचान भएको तीन दिनभित्र दुई किस्तामा गरी ५० हजार उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।

अवरुद्ध सडक, विद्युत्, टेलिफोन लगायतका अत्यावश्यक सेवा चाँडोभन्दा चाँडो सुचारु गर्न पहल भइरहेको दाबी गरेको मन्त्रालयले क्षतिको आङ्कलन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्राविधिक सहसचिवको संयोजकत्वमा समिति समेत गठन गरेको छ।

ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलामा बग्दै गरेका दुई जनाको सकुशल उद्धार गरेका काभ्रेका चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले डेढलाख नगदसहित सम्मान गर्ने भएको छ।

काभ्रेको तेमाल गाउँपालिका– ९ चोपटारका तामाङले गत शनिवार नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी ६ वर्षीया मेघना साह र राजुका भाइ २२ वर्षीय राज साहको उद्धार गरेका थिए।

अविरल वर्षाले बाढी र पहिरो जाँदा देशभरका ४२ वटा सामुदायिक विद्यालयहरूमा क्षति पुगेको छ। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको विवरणअनुसार हुम्ला, जाजरकोट, सिन्धुली, तेह्रथुम रसुवा, मकवानपुर, मोरङलगायत जिल्लाका ४२ वटा विद्यालयहरूमा क्षति पुगेको छ।

कुनै विद्यालय भत्किएका छन् भने कतै पुरिएका छन्। बाढी पहिरोले यी विद्यालयहरूमा क्षति पुग्दा झन्डै ११ हजार विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ। पहिरोमा परी मकवानपुर, इन्द्रसरोवर गाउँपालिकाको वात्सल्यदेवी माध्यमिक विद्यालयका ६ जना विद्यार्थीहरूको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

तीमध्ये तीन जना अनुपम घलान, साइमन योञ्जन र बाराका विकल रेग्मीको शव बिहान हेलिकप्टरमार्फत हेटौँडा लगिएको छ। मृतक दिवस बानिया र प्रियन्स आचार्यको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.