"/>

तेस्रोलिंगी उम्मेदवारलाई मतदाताको भर, पैसावाल उम्मेदवारहरूसँग डर

तेस्रोलिंगी उम्मेदवारलाई मतदाताको भर, पैसावाल उम्मेदवारहरूसँग डर

360
SHARES

काठमाडौँ : ‘चुनाव जित्न पैसा खर्च गर्नुपर्छ,भोज खुवाउनु पर्छ, हामीसँग त्यस्तो खर्च गर्ने पैसा छैन,’उमेरले ६५ कटेका सुर्ज बहादुर महर्जनले भने। उनी कीर्तिपुर नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिएर चुनाव प्रचारमा व्यस्त रहेका दीपक महर्जन (हनि)का बुबा हुन्।

सुर्ज बहादुरलाई पैसा खर्च नगरी चुनाव जितिँदैन भन्ने परेको छ। उम्मेदवारहरूको तडकभडक देखेका उनले सामान्य परिवारका हनिको छाता चुनाव चिन्हमा भोट दिन भनेका छन्, दिन्छु भन्ने आश्वासन पनि पाएका छन्। तर, भोजभतेर गर्ने उम्मेदवारहरूका कारण हनिले भोट नपाउने हो कि भन्ने शंंका रहेको उनी सुनाउँछन्।

कीर्तिपुरका स्थायी बासिन्दा हनि सामाजिक सेवामा क्रियाशील रहँदै आएका छन्। तेस्रोलिंगी पहिचान खुलाएर उम्मेदवारी दिएका हनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक बाबुआमाका सन्तान विद्यालय शिक्षाबाटै वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न लागेका छन्।

संविधान सभा सदस्य सुनिलबाबु पन्तको पहलमा उनी जस्तै लैङ्गिक पहिचानका व्यक्तिहरू मिलेर दुई वर्ष देखि समर्पण सभ्य समाज नेपाल संस्था खोलेका छन्। पन्तले जबरजस्ती विवाह अन्त्य हुनुपर्ने सन्देश दिन बनाएको नीलो फूल वृत्तचित्रमा हनिले अभिनय पनि गरेका छन्।

उनी संस्थाको सचिव छन्। अध्यक्ष छन् तीर्थमान शाक्य। तीर्थमान हनिको प्रस्तावक बसेका छन्। सुर्ज बहादुरको जस्तै हनिलाई पैसावाल उम्मेदवारहरूसँग डर छ। स्थानीय मतदाताको भर लागे पनि पैसावाल उम्मेदवारबाट डराउनु पर्ने अवस्था देखिएको उनी सुनाउँछन्।

उनले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट मायाको पहिचान नेपालको पहलमा उम्मेदवारी दिएका हुन्। मेयर बन्ने सपनासहित चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रममा होमिएकी छन् हनि।

उनको मेयर पदमा उम्मेदवारी दिनेसम्मको यात्रा भने त्यति सहज छैन। पोखराको काहुँडाडास्थित मामाघरमा २०३७ साल कार्तिक २१ गते जन्मिएका हनिको परिवार उनी जन्मिएको केही महिनामा नै आफ्नो घर कीर्तिपुर फर्किए।

कीर्तिपुरमा तेस्रोलिंगी उम्मेदवार बने सेलिब्रेटी

कीर्तिपुर आएको केही वर्षपछि हनिको भाइ जन्मिए। उनको बुबा नेवार समुदायका थिए भने आमा ब्राह्मण समुदायकी थिइन्। आमा र बुबा फरक जातीय समुदायको भएकै कारण विचार नमिल्दा परिवारमा आमा र बुबाबीच खटपट भइराख्थ्यो। हनि ११ वर्षको हुँदा आमाले दोस्रो विवाह गरिन्।

‘जन्मिदा म एक छोरा भएर जन्मिएको थिएँ। समाजले मलाई छोरालाई गर्ने व्यवहार नै गर्थ्यो तर म भित्रभित्रै आफू महिला भएको अनुभूति गर्थेँ,’उनले भने,’जब आमाले छोडेपछि भाइको जिम्मेवारी पनि ममाथि थपियो म आफ्नो पहिचान खोज्न भन्दा एक छाक खान र भाइको रेखदेख गर्न पैसा कमाउनेतर्फ सोच्न बाध्य भएँ।’

जीवन चलाउनका लागी उनी अर्काको घरमा भाँडा माझ्न पनि पुगे। कहिले गलैँचा कारखानामा गलैँचा बुन्न पुगे। कहिलेकाहीँ उनी कीर्तिपुर घुम्न आउने विदेशी पर्यटकहरू साथीहरूको लहैलहैमा लागेर पैसा र खानेकुरा माग्न समेत पुगे।

कीर्तिपुरमा नै रहेको गोरखनाथ स्कुलमा कक्षा १० सम्म पढेका हनिलाई धेरथोर भए पनि अङ्ग्रेजी बोल्न आउँथ्यो। यसकारण उनले विदेशी पर्यटकहरूलाई पैसा माग्ने होइन, उनीहरूलाई घुमाउन गाइडको काम गर्न थाले। त्यति बेला नै भेटिएका केही आफूजस्तै साथीहरूबाट उनले आफू तेस्रोलिंगी भएको थाहा पाए।

कीर्तिपुरमा तेस्रोलिंगी उम्मेदवारलाई भोट किन?

सानैदेखि जामा, सारी, लिपिस्टिक, गाजल लुकिलुकी लगाउने हनिले त्यसपछि बल्ल आफूजस्तै साथीहरू अरू पनि हुन्छन् भन्ने थाहा पाए। त्यसपछि उनले आफ्नो वास्तविक पहिचान समाजमा खुलेर दिन थाले। ‘मलाई हामीजस्तै व्यक्तिहरूको सर्कलमा रहँदा त कहिल्यै पनि अल्पसङ्ख्यक समुदाय समाजमा हुने अन्य व्यक्तिहरूभन्दा फरक र हेपिएको जस्तो लागेन तर जब हामी बाहिर निस्कन्थ्यौँ, मानिसहरूले हामीलाई कुनै ग्रहबाट झरेका एलियन (काल्पनिक जीव) लाई जसरी हेर्थे,’उनले भने।

कतिपय ठाउँमा बिनाकारण गाली गलौच र छिछि दुरदुर गरेको अनुभव समेत उनीसँग छ। यो बिचमा कति पटक अविचलित भए, कति ठाउँमा हेपाई सहनुपर्‍यो त्यो हिसाब गरेर साध्य छैन।

कीर्तिपुरको मेयरमा जितेपछि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूका हकहित संरक्षण र उनीहरूलाई रोजगारी दिने त छदै छ उनले सफा, स्वच्छ र सुन्दर कीर्तिपुरलाई भ्रष्टाचारमुक्त नगर बनाउने विषयलाई मुख्य एजेन्डा बनाएका छन्।

उपचारका लागि सुविधा सम्पन्न अस्पताल बनाउने उनको योजना छ। उद्यमी बन्न प्रोत्साहन पुग्ने कार्यक्रम सञ्चालन गर्ने, पदमार्गहरूको पहिचान गर्ने र पर्यटकहरूका लागि घुम्नैपर्ने सहरका रूपमा कीर्तिपुरको विकास गर्ने पनि उनको योजना छ।

कीर्तिपुरका जनताले आफूलाई मत दिने विश्वास छ हनिलाई। आफ्नो उम्मेदवारीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू पनि नेतृत्व तहमा पुग्न सक्छन् है भन्ने सन्देश प्रवाह गर्न सकेकोमा उनलाई गर्व लागेको छ। ‘मैले यो चुनाव जितुँला या हारुँला यसमा भन्दा पनि मेरो उम्मेदवारीले मेरो समुदायप्रति समाजले हेर्ने दृष्टिकोणमा केही भए पनि सकारात्मक परिवर्तन पाएको छु,उनले भने,यो परिवर्तन मेरो लागी मात्र होइन हामी सबैको लागी ठुलो उपलब्धि हो।’

समाचार शेयर गर्नुहोस्
360
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.