लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि व्यवसाय प्रवर्धन तालिम पुस्तिका विमोचन

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि व्यवसाय प्रवर्धन तालिम पुस्तिका विमोचन

986
SHARES

काठमाडौँ : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि व्यवसाय प्रवर्धन तालिम पुस्तिका तयार भएको छ। सफल पार्टनर्स र मायाको पहिचान नेपाल मिलेर तालिम पुस्तिका तयार गरेका हुन्।

वित्तीय योजना, जोखिम व्यवस्थापन, बजार रणनीति र टिम नेतृत्व जस्ता आवश्यक व्यावसायिक अवधारणाहरू समेटिएको तालिम पुस्तिका बिहीबार विमोचन भएको छ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक उद्यमीहरूलाई आधारभूत तहबाट व्यवसाय स्थापना गर्न र आफ्नो पहिचान तथा अनुभवसँग सम्बन्धित चुनौतीहरू पार गर्दै अघि बढ्न तालिम पुस्तिकाले चरणबद्ध निर्देशन प्रदान गर्ने मायाको पहिचान नेपालले जनाएको छ।

तालिम पुस्तिकाको राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सचिव इन्द्र विलास पौडेल, संविधान सभा सदस्य सुनिलबाबु पन्त, राष्ट्रिय मानवअधिकार आयोगकी मधु सुनम, एक्सन एड नेपालका बिजनेस डेभलपमेन्ट म्यानेजर दिनेशराज पाठक, समता फाउन्डेसनकी सङ्गीता दूतराज, सफल पार्टनर्सका प्रतिनिधिले संयुक्त रूपमा विमोचन गरे।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई आर्थिक क्षेत्रमा पाइला टेक्नका लागि एउटा दस्ताबेज आएको मायाको पहिचान नेपालका कार्यकारी निर्देशक समेत रहेका पन्तले बताए। यो तालिम पुस्तिका लिन कुनै शुल्क तिर्नुपर्दैन।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूका लागि व्यावसायिक क्षेत्रमा प्रवेश गर्न विशेष चुनौतीहरू सामना गर्नुपर्ने अवस्था छ। सामाजिक कलङ्क, वित्तीय बहिष्करण, स्रोत र सञ्जालको सीमित पहुँच जस्ता समस्याहरू मुख्य रूपमा देखिएका संविधान सभा सदस्य पन्तले बताए। यी चुनौतीहरूलाई मध्यनजर गर्दै सफल पार्टनर्स र मायाको पहिचान नेपालले मिलेर व्यवसाय प्रवर्धन तालिम पुस्तिका विकास गरेको उनले बताए।

तालिम पुस्तिकाले नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक उद्यमीहरूलाई सहयोग पुर्‍याउने उद्देश्य राखेको मायाको पहिचान नेपालका कार्यकारी निर्देशक समेत रहेका पन्तले बताए।

मायाको पहिचान नेपालले सफल पार्टनर्सलाई व्यवसाय विकास र क्षमता अभिवृद्धिमा प्रदान गरेको विशेषज्ञताका लागि धन्यवाद दिएको छ। ‘सबै मिलेर एक यस्तो भविष्य निर्माण गरौँ,जहाँ लैङ्गिक पहिचान र यौनिक अभिमुखीकरणको आधारमा कसैलाई पनि उद्यमशीलता यात्रा सुरु गर्न अवरोध नहोस्,’पन्तले भने।

समाचार शेयर गर्नुहोस्
986
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.