"/>

राजनीतिमा प्रतिनिधित्व सहितको सहभागिताले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक उत्साहित

राजनीतिमा प्रतिनिधित्व सहितको सहभागिताले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक उत्साहित

2.1k
SHARES

काठमाडौँ : राजनीतिमा इच्छा थिएन, तेस्रोलिंगी सम्झना केसीलाई। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको कुनै पनि ठाउँमा पहुँच नभएको कारणले पार्टीमा प्रवेश गरिन उनले। जनता समाजवादी पार्टी (जसपा) नेपाल काठमाडौँ जिल्लाको उपाध्यक्षमा निर्वाचित भएपछि उनको प्रतिक्रिया थियो,’यो मेरो नयाँ अनुभव हो।’

राजनीतिक दलहरूमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व शून्य रहेका बेला जसपा नेपालले जिल्ला कार्य समिति काठमाडौँमा सम्झना र राजीव महर्जन (मौनी)लाई पदाधिकारी बनाएको छ।

जसपा नेपालले गत स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयरमा तेस्रोलिंगी दीपक महर्जन (हनि) र वडा अध्यक्षमा मौनीलाई उम्मेदवार बनाएको थियो। तेस्रोलिंगी पहिचानमा मेयर र वडा अध्यक्षमा प्रतिस्पर्धा गर्ने हनि र मौनीले उम्मेदवारी दिने आँट गरे।

हारजितको कुरा भन्दा पनि पहिचान सहित खुलेर प्रतिस्पर्धा गर्नु नै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूका लागि महत्त्वपूर्ण उपलब्धि भएको मायाको पहिचान नेपालले बताएको छ।

सम्झनाले आफू सम्पूर्ण एलजीबीटीआई कम्युनिटीका लागि नै जसपा नेपालको उपाध्यक्षमा निर्वाचित भएको बताइन। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक कुनै पनि पार्टीमा एकबद्ध नभएको कारणले गर्दा पनि आफू जसपा नेपालमा आबद्ध भएको बताइन।

राजनीतिक समावेशिताका लागि राजनीतिक दलहरूलाई घचघच्याइँदै आएको मायाको पहिचान नेपालले विभिन्न दलमा आबद्ध समुदायका सदस्यहरूलाई सम्मान पनि गरेको छ। सम्मान कार्यक्रममा केसीले एलजीबीटीआई साथीहरूको हकहितका लागि राज्यलाई घचघच्याइने सुनाइन। ‘राजनीति सम्बन्धी जे जति मुद्दाहरू छन्, म गर्छु भन्ने सबैलाई जानकारी गराउँदछु,’उनले भनिन्।

उनले जसपा नेपालका केन्द्रीय पार्टी अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गरिसकेको सुनाइन। ‘लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई कुनै पनि पार्टीले नबुझेको अवस्था छ। मैले बुझेँ, तपाईँहरूलाई माथि लान चाहन्छौँ। तपाईँहरूको हक अधिकारको मुद्दा अगाडि ल्याउन चाहन्छौँ,’यादवको भनाई उद्धृत गर्दै केसीले भनिन्,’तपाईँहरू अगाडी बढ्नुहोस् भनेर उपेन्द्र सरले भन्नु भएको छ। एलजीबीटीआई मुद्दामा काम गर्छु भन्ने नै छ।’

वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं मायाको पहिचान नेपालका उपाध्यक्ष देवेन्द्रबहादुर खत्रीले देश र समाजको सर्वाङ्गीण विकासका लागि राजनीतिबाट पृथक् रहन नसकिने बताए। ‘हामीहरू राजनीतिबाट अलग्गै बस्छौ। यो अवस्था सम्भव नै छैन,’उनले भने,’राजनीतिक रूपमा प्रत्यक्ष र अप्रत्यक्ष जोडिएकै हुन्छौ।’

उनले शक्तिशाली व्यक्तिहरू जहिल्यै पनि अग्रपङ्क्तिमा र उच्च तहमा रहने गरेको सुनाए। यो समुदाय शिक्षा, स्वास्थ्य, रोजगारीका विषयमा जहिले पनि पछाडि पर्नु परेको उनले गुनासो गरे।

परिवर्तन ल्याउन शैक्षिक चेतनासँग राजनीतिक चेतना पनि अपरिहार्य रहेको उनले बताए। सरकारले पनि सम्बोधन गरेको छैन। ‘हामीले कहिलेसम्म सङ्घर्ष गर्ने त?,’केन्द्रीय सदस्य खत्रीले भने,’परिवर्तन ल्याउनका लागि शैक्षिक चेतनासँगै राजनीतिक चेतना पनि अपरिहार्य छ।’

उनले राजनीतिमा लागेर समुदायको जीवन परिवर्तन गर्न सकिने सम्भावना रहेको बताए। ‘कोही बेलामा सुनिलबाबु पन्त हाम्रो प्रतिनिधित्व गर्दै सदनसम्म पुग्नु भएको थियो। उहाँले हाम्रो समुदायका लागि केही नीति नियम राख्न सफल हुनु भएको थियो,’उनले भने,’राजनीतिक प्रतिनिधित्व बलियो गरी बढ्दै गएको खण्डमा हाम्रो समुदायको जीवन परिवर्तन गर्ने सम्भावना देखियो।’

उनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको आवाजलाई सदनमा बसेका मान्छेहरूले कहिले नसुनेको उल्लेख गरे। ‘इनारको भ्यागुतो, इनारमै कराए जस्तो भयो। समुदायबाट बाहिर गाँसिन नसकेको अवस्था देखियो,’उनले भने,’समाजले हेर्ने दृष्टिकोण पनि हामीहरूप्रति अबुझाई जस्तो भयो, सरकारले पनि हाम्रा मुद्दाहरू सुनेन।’

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई हेला र घाँडोको रूपमा हेरेको जस्तो देखिएको खत्रीले उल्लेख गरे। ‘राज्यलाई योगदान नै दिन नसक्ने जस्तो सम्झियो। हामीसँग क्षमता पनि छ, योग्यता पनि छ,’उनले भने,’हामीले हाम्रो क्षमतालाई निखार्दै भावी पीढीहरूलाई पनि सही बाटो देखाउनुपर्छ।’

उनले समुदायको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्दै सदनमा बसेर भोलीका दिनमा टेबुल ठोकेर भए पनि आवाजहरूलाई बुलन्दका साथ उठाउन सक्नु पर्ने बताए। ‘महिला र पुरुष सरह हाम्रो समुदायका जति पनि व्यक्तिहरू छन्, यो समुदायले सङ्घर्ष गर्नु परेको अवस्था छ,’उनले भने,’आफ्नो क्षमताको पहिचान गरेर आर्थिक र शैक्षिक राजनीतिक सशक्तीकरण गर्न सकोस् र आफ्नै समुदायलाई पनि सुदृढ गर्न सकोस्। त्यसैले म वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीमा लागेको हुँ।’

उनले समुदायका सदस्यहरूलाई अन्तरमुखी भएर नबस्न आग्रह गरे। बहिर्मुखी भएर आफ्नो क्षमतालाई प्रदर्शन गर्दै राम्रो ठाउँमा पुग्न उनले सुझाए। ‘राम्रो छाप छोड्नुहोस्। प्रतिनिधित्वलाई बलियो बनाउनुहोस्। राजनीतिलाई माउ नीति भन्दै गर्दा जसरी हामी हेपिएर, चेपिएर बस्नु परेको छ। यो अवस्थाबाट हामी उन्मुक्ति पाउन सकौँ,’उनले भने,’सिङ्गो देशको कायापलट गर्न सकौँ। देशका विभिन्न क्षेत्रमा योगदान दिन सकियोस्।’

मायाको पहिचान नेपालले गर्दा जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट कीर्तिपुर नगरपालिकाको मेयरमा प्रतिस्पर्धा गर्न पाएको समर्पण सभ्य समाज नेपालका सचिव दीपक महर्जन (हनि)ले सुनाए।

उनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको छुट्टै पार्टी खोल्न पनि सकिने बताए। ‘हामी सधैँ अरू पार्टीहरूमा मात्रै लाग्ने? सङ्गठन बनाएर छुट्टै पार्टी किन नखोल्ने? जुन पार्टीमा जान्छौ,त्यो पार्टीले हामीलाई प्रयोग गर्छ,’उनले भने,’जित्यो भने मात्रै मतलब गर्छ। हार्‍यो भने वास्ता नै गर्दैन।’

उनले सधैँ समुदायलाई समुदाय नै चाहिने बताए। ‘एकअर्कालाई साथ दिनुपर्छ,’उनले भने,’अर्काको चाहिने नचाहिने कुरा सुन्नु हुँदैन।’

मायाको पहिचान नेपालका सचिव एवं दक्षिण एसियामै पहिलो समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्न सफल सुरेन्द्र पाण्डेले समुदायका सदस्यलाई राजनीतिक समावेशिता गराउन दलहरूलाई घचघच्याएकै कारण केही सफलता प्राप्त भएकोमा खुसी व्यक्त गरे।

उनले लुकेर नबस्न आग्रह गर्दै हिम्मतका साथ राजनीतिमा होमिनु पर्ने बेला आएको बताए। ‘अब चुप लागेर बस्नु हुँदैन,राजनीतिमा पनि समुदायको प्रतिनिधित्व आवश्यक छ,’उनले भने।

समाचार शेयर गर्नुहोस्
2.1k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.