भारत–पाकिस्तान युद्धले विश्व चिन्तित, नेपाल सतर्क

भारत–पाकिस्तान युद्धले विश्व चिन्तित, नेपाल सतर्क

1.8k
SHARES

काठमाडौं : भारत–पाकिस्तानबीच युद्ध सुरु भए पछि विश्व चिन्तित भएको छ। विश्वको सर्वशक्तिमान् राष्ट्र अमेरिका तटस्थ बस्दा दुवै देशको छिमेकी मुलुक चीन पाकिस्तानतर्फ ढल्केको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान लामो समयदेखि लड्दै आएको भन्दै यो चाँडै सकियोस् भने पनि चीनले भारतीय प्रत्याक्रमणको विरोध जनाएको छ।

दुई साताअघि पहलगाममा भएको आतङ्कवादी हमलाको ‘जवाफी कारबाही’ भन्दै भारतले पाकिस्तानमा हवाई आक्रमण गरेको थियो। तर भारत र पाकिस्तानबीचको युद्धबारे नेपाल सरकारले आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन।

एक नेपाली नागरिकसहित मृत्यु हुने गरी भएको पहलगाम आक्रमणलाई आतङ्कवाद भन्दै त्यस्तो गतिविधिको विपक्षमा रहेको सन्देश दिएको नेपालले पछिल्लो अवस्थाबारे बोलेको छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधवार सिंहदरबारमा उच्चस्तरीय सुरक्षा परिषद्को बैठक बसेको छ। बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललगायत सुरक्षा संयन्त्रका उच्च अधिकारीहरूको सहभागिता थियो।

यो बैठकअघि गृह मन्त्रालयमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले सीमावर्ती क्षेत्र, विमानस्थल तथा अन्य संवेदनशील स्थानमा सुरक्षा निगरानी कडाइ गर्ने निर्णय गरेको छ। केन्द्रीय सुरक्षा समितिको बैठकपछि सीमा क्षेत्रमा थप कडाइ गरिएको छ।

सशस्त्र प्रहरीलाई सीमा नाकाको आवतजावतमा कडाइ गर्ने जिम्मा दिइएको छ। सबै युनिटहरूलाई हाइ अलर्टमा राखिएको गृह मन्त्रालयले जनाएको छ।

संसदमा प्रवेश

भारत र पाकिस्तानबीच युद्ध सुरु भएपछि नेपालको सङ्घीय संसदमा यो विषय प्रवेश गरेको छ। छिमेकी मुलुक भारत र पाकिस्तानबीच सुरु भएको युद्धले नेपाललाई पार्न सक्ने प्रभावको विषयलाई लिएर सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभा बैठकको शून्य समयमा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका काँग्रेस नेता एनपी साउदले हालै पाकिस्तानी सैनिकले नेपाल भ्रमण गरेको विषय समेत उचित नरहेको बताए।

काँग्रेसकै सांसद सञ्जयकुमार गौतमले विशेष समयमा भारत–पाकिस्तान युद्धले पार्ने प्रभावबारे नेपाल सरकार समयमै गम्भीर बन्नुपर्ने बताए।

स्वतन्त्र सांसद अमरेश कुमार सिंहले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाकै कार्यक्षमतामाथि प्रश्न उठाए।

परराष्ट्र मामिलाकी जानकार इन्द्रा अधिकारीले भने पछिल्लो समय दुई छिमेकबीच बिग्रिँदो परिस्थितिकाबीच नेपालले सार्कलाई समेत अघि सार्नुपर्ने सुझाव दिइन।

पाकिस्तानको चेतावनी

पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफले भारतले आफ्नो भूमिमा गरेको हमलाको जवाफ दिने चेतावनी दिएका छन्। पहमलगाम आतङ्कवादी आक्रमणको १५ दिनपछि भारतले पाकिस्तानमा गरेको हमलामा २६ जना मारिएपछि पाकिस्तानले उक्त चेतावनी दिएको हो।

पाकिस्तानले आतङ्कवादीको नाममा गरेको आक्रमण ‘जघन्य अपराध’ भन्दै त्यसको कडा शब्दमा निन्दा समेत गरेको छ। बुधवार बसेको सुरक्षा समितिको बैठकमा संयुक्त राष्ट्रसङ्घ बडापत्रको धारा ५१ उद्धृत गर्दै पाकिस्तानले आफ्नो प्रतिरक्षा गर्न पाउने अधिकार आफूसँग भएको बताएको हो।

भारतको आक्रमणमा २६ जनाको मृत्यु भएपछि पाकिस्तानी प्रधानमन्त्रीले सशस्त्र सेनालाई ’समान कारबाही’ गर्न अधिकार दिएका छन्। पाकिस्तानी सार्वभौमसत्तामाथि भारतले धावा बोलेको निष्कर्ष निकालेको पाकिस्तानी सञ्चारमाध्यमहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

बैठकपछि प्रकाशित विज्ञप्तिमा पाकिस्तानले पाँच वटा भारतीय लडाकु विमान र ड्रोन खसालिएको दाबी गरेको छ।

पाकिस्तानी भूमिमा आतङ्ककारीहरूका शिविरहरू भएको भारतीय आरोपको पाकिस्तानले पुनः खण्डन गरेको छ। पीपीपीका अध्यक्ष बिलावल भुट्टो जरदारीले पाकिस्तानलाई आतङ्कवादी राज्य बनाउने भारतको वर्षौँ पुरानो कथाले अब काम नगर्ने बताए।

कुनै पनि देशले जथाभाबी अर्को देशलाई आतङ्कवादी राज्य भएको आरोप लगाउन नसक्ने बताउँदै उनले पहलगाम आक्रमणमा पाकिस्तानको कुनै सम्बन्ध नभए पनि भारतले “निराधार आरोप“ लगाइरहेको उल्लेख गरे।

बुधवार राति १ बजे भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका धेरै स्थानमा हवाई आक्रमण गरेको थियो। जसमा २६ जना सर्वसाधारणको मृत्यु भएको थियो भने ४६ जना घाइते भएको पाकिस्तानले जनाएको छ।

पाकिस्तानी भूमिमा सैन्य कारबाही थालेपछि दुवै पक्षका सेनाबीच सीमावारिपारि गोलाबारी पनि भएको छ। भारतीय सेनाले आफ्नो भूमिमा १५ जना सर्वसाधारण मानिसको मृत्यु हुनुका साथै ४३ जना घाइते भएको उल्लेख गरेको छ।

युद्धका कारण भारत र पाकिस्तानमा ५५० भन्दा बढी निर्धारित उडानहरू रद्द भएका छन्। वास्तविक–समय उडान ट्र्याकिङ सेवा राडार २४ को तथ्याङ्क अनुसार हवाई हमला पछि पाकिस्तानमा सबै निर्धारित व्यावसायिक उडानहरूको सोह्र प्रतिशत र भारतमा ३ प्रतिशत उडानहरू रद्द भएका छन्।

पाकिस्तानमा इस्लामिक सुन्नी तहरीक आन्दोलनका सदस्यहरूले भारत विरोधी प्रदर्शन गरेका छन्। उनीहरूले भारत विरोधी नारा लगाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन्।

पाकिस्तान र भारतको युद्धले विश्व समुदाय चिन्तित भएका छन्। जर्मन, रुस, बेलायत र फ्रान्सले दुवै देशलाई संयम अपनाउन आग्रह गर्दै विद्यमान मतभेदहरू शान्तिपूर्ण माध्यमबाट समाधान गर्न भनेको छ।

समाचार शेयर गर्नुहोस्
1.8k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.