काठमाडौँ : नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (एलजीबीटीआई) समुदायका लागि स्वास्थ्य सेवा सधैँ उपेक्षित र सीमित रहँदै आएको छ। पछिल्लो समय त झन् सङ्कट गहिरिएको थियो—विशेषगरी अमेरिकी सरकारले डोनाल्ड ट्रम्प प्रशासनको कार्यकाल सुरु भएसँगै लैङ्गिक तथा यौनिक स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूको अनुदान अचानक कटौती गरेपछि। उक्त निर्णयपछि नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई स्वास्थ्य सेवा दिँदै आएका २० भन्दा बढी क्लिनिकहरू बन्द हुन पुगे।
यस्तो चुनौतीपूर्ण अवस्थामा, मायाको पहिचान नेपाल र एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र बीचको नयाँ साझेदारीले एक सकारात्मक मोड दिएको छ। यो साझेदारीले स्वास्थ्य सेवा सुरु गरेको छ। अझ सस्तो, सहज र समावेशी ढङ्गमा सञ्चालन गर्न थालेको छ।
एक एक पाइला स्वयंसेवी चिकित्सकहरूको पहलमा सञ्चालित स्वास्थ्य सेवा अभियान हो, जसले ग्रामीण र उपेक्षित क्षेत्रमा गुणस्तरीय सेवा पुर्याउँदै आएको छ। अब, यही अभियानले एलजीबीटीआई समुदायका लागि विशेष कार्यक्रम सुरु गरेको छ, जसअनुसार उनीहरूले निम्न शुल्कमा चिकित्सक परामर्श तथा यौनिक स्वास्थ्य सेवा लिन सक्नेछन्।
सामान्य परामर्श शुल्क : रु. १५०
विशेषज्ञ परामर्श शुल्क : रु. ३००
अन्य सेवा : यौन स्वास्थ्य परीक्षण, यौन सङ्क्रामक रोग उपचार, एचआइभी परीक्षण आदिमा पनि न्यूनतम शुल्क
यससँगै मायाको पहिचान नेपालले दुई जना स्वयंसेवक पनि खटाएको छ, जसले क्लिनिकमा सेवा लिने एलजीबीटीआई व्यक्तिहरूलाई सहज परामर्श, मार्गदर्शन तथा सम्मानजनक सेवा सुनिश्चित गर्न सहयोग गर्नेछन्।
अमेरिकी ट्रम्प प्रशासनले यौनिक तथा प्रजनन स्वास्थ्य कार्यक्रमहरूमा व्यापक कटौती गरेपछि नेपालमा पनि यसको गम्भीर असर देखिएको छ। धेरैजसो क्लिनिकहरू अन्तर्राष्ट्रिय सहयोगमा सञ्चालित थिए, जसले एलजीबीटीआई समुदायका लागि सुरक्षित, गोपनीय र सहज सेवा प्रदान गर्दै आएका थिए। अनुदान रोकिएपछि यी सेवा बन्द हुँदा समुदाय पुनः जोखिममा पर्यो।
तर एक एक पाइलाको यो सहभागिताले त्यो खालीपनलाई भरिदिएको छ। “समावेशी र न्यायपूर्ण स्वास्थ्य प्रणाली निर्माणतर्फ हाम्रो यात्रामा, हामी एक एक पाइलाको साथ एक एक पाइला अगाडि बढिरहेका छौँ,” संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्त भन्छन्।
पन्तले एक एक पाइलाका सम्पूर्ण टोली र डा. सुमन थापालाई धन्यवाद दिए। जसको नेतृत्व र सक्रियताले यो साझेदारी सम्भव भएको हो,पन्तले भने।
नेपालको स्वास्थ्य नीतिमा एलजीबीटीआई समुदायका विशेष आवश्यकतालाई समेट्न अझै धेरै काम गर्न बाँकी छ। तर यस्तो साझेदारीले समुदायमै आधारित, पहुँच योग्य सेवा विस्तारको सम्भावना देखाएको छ। यो केवल स्वास्थ्य सेवा मात्र होइन, समाजमा एलजीबीटीआई व्यक्तिको सम्मान र पहिचानप्रति सकारात्मक सङ्केत पनि हो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.