"/>
सन् २०१७। बैंकक। त्यहीँ गएर सन्ध्या लामाले आफूलाई पूर्णरूपमा महिला बनाउने सपना साकार पारिन्। यो सपना सजिलो थिएन। नेपालमा त्यो बेला लिङ्ग परिवर्तन (सेक्स चेन्ज) सम्भव थिएन। त्यसैले देश छाड्नै पर्यो। तर, सन्ध्याले हरेस खाइनन्। किनकि उनले आफैलाई धेरै पहिलेदेखि चिन्न थालेकी थिइन्। मन त महिला नै थियो। शरीर मात्र फरक थियो।
“म जुन जस्तो छु, त्यसैमा सन्तुष्ट हुन सकिनँ। म पूर्ण महिला बन्न चाहन्थेँ। त्यो सम्भव होला त भन्ने डर पनि हुन्थ्यो। तर इच्छा मर्न दिइनँ। सोचेँ — एक दिन, जब खर्च जुट्छ, जब सबै मिल्छ, त्यो दिन म आफैलाई जन्म दिनेछु।”
२५ वर्षको उमेरमा उनले आफ्नो जिन्दगीको सबैभन्दा ठुलो निर्णय लिइन्—लिङ्ग परिवर्तन। करिब २० लाख रुपैयाँ खर्च भयो। त्यो पनि उनले आफै अफिसको प्रोजेक्ट अफिसरको जागिर गरेर बटुलेकी थिइन्। कुनै डोनेसन होइन, आफ्नै पसिनाले।
शरीर परिवर्तन भयो, तर पीडाहरू झनै थुप्रिए
सर्जरीपछि सन्ध्या लामाले सोचिन्—अब त जिन्दगी सहज हुन्छ। तर त्यो सोच झुटो साबित भयो। ३–६ महिना आराम गर्नु पर्ने, दिनरात एन्टिबायोटिक र पेनकिलर। जीवनभर खानुपर्ने हर्मोन औषधि, जुन नेपालमै पाइँदैन। भारतबाट ल्याउनु पर्छ, महँगो छ। सरकारले कुनै सहुलियत दिएको छैन।
शरीरमा शक्ति कम, थकान, प्रेसर, क्लासियमको कमी—यी सबै समस्याले घेरिरहन्छन्।
तर त्यो भन्दा पीडादायी थियो—मानसिक द्वन्द्व। “कहिले काहीँ सोच्थेँ—किन गरेँ यो सब? म जे थिए, त्यसैमा बाँच्थेँ भने हुन्थ्यो। प्रकृतिले दिएको शरीरलाई किन परिवर्तन गरेँ? पछुतो लाग्दो रहेछ।”
समाजको समर्थनले उकासियो मनोबल
सौभाग्यवश, उनको आमाबुबा, दाजुभाइ, दिदीबहिनी—सबै साथमा रहे। “जे भए पनि हामी त तेरो साथमा छौँ,” भनेर परिवारले दिएको साथले उनको जीवनमा प्रकाश ल्यायो।
“संस्था या कुनै अफिसले बोलाएको जस्तो लागेन। एकपटक हेटौँडा अफिसमा बोलाएको थियो, उनी गइन्। माइन्डको जाँच, ‘सुसाइड सोच्नु हुन्छ?’ ‘पार्टनरले कुट्छ?’ जस्ता प्रश्न।
हेर्दा लाग्यो, यी प्रश्न त सेक्स वर्करका लागि बनाइएको हो। म सेक्स वर्कर होइन। मानसिक स्वास्थ्य त सबैलाई चाहिन्छ नि१”
मानसिक स्वास्थ्यप्रति उपेक्षा
नेपालका अधिकांश सङ्घसंस्थाले ट्रान्सजेन्डरहरूप्रति अझै पनि पूर्ण ध्यान दिएको छैन। मानसिक स्वास्थ्य कार्यक्रम सुरु हुन थालेका छन् तर ती पनि लक्षित, समावेशी छैनन्।
“जो सेक्स वर्कर होइन, उसलाई पनि मानसिक पीडा हुन्छ। तर प्रश्नहरू सेक्स वर्करकै लागि बनाइएका छन्। हाम्रा लागि होइन। यस्तो भेदभावले समस्या समाधान हुँदैन।”
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पहिलोपटक ‘मेल टु फिमेल’ सर्जरी सफलतापूर्वक गरेको समाचार आयो। सन्ध्यालाई त्यो थाहा भयो। उनी एकातिर खुसी भइन्, अर्कातिर शङ्का र डरले भरिएकी थिइन्।
“सर्जरी भयो रे१ तर के साइकोकाउन्सेलिङ भयो? के मानसिक जाँच गरियो? के त्यसपछि नागरिकता मिल्ने हो? नागरिकता दिने हो कि फेरि मन्त्रिपरिषद्को बैठक बसेर खारेज गरिदिने? हामी जस्ता मान्छे कहाँ जाने?”
सन्ध्याको अनुभवले देखाउँछ—नेपालमा लिङ्ग परिवर्तनको सुरुवात त भएको छ, तर त्यो अपुरो छ। कानुनी सुरक्षा छैन। संवैधानिक व्यवस्था छैन। सेवामा समान पहुँच छैन। स्वास्थ्यमा सहुलियत छैन।
“संविधानमा लेखिनुपर्छ—लिङ्ग परिवर्तन गरेका व्यक्तिले महिलाको सरह अधिकार पाउँछ। अहिले त मन्त्रिपरिषद्को निर्णयमा भर परेको छ। आज दियो, भोलि खोस्यो भने हामी कहाँ जानु?”उनी प्रश्न गर्छिन्।
सन्ध्या भन्छिन्—“यो सजिलो यात्रा होइन। हाम्रो समाजले अझै स्वीकारेको छैन। हामीले जीवनको अर्को अध्याय सुरु गर्दा पनि राज्य र समाजले हामीलाई ‘अर्कै’ ठान्छ।”
उनी चाहन्छिन्—संविधानमै संशोधन गरेर लिङ्ग परिवर्तन गरेका व्यक्तिलाई महिला पुरुष सरहको अधिकार दिइओस्। मानसिक, आर्थिक, र औषधोपचारको सहुलियत दिइयोस्।
सन्ध्या भन्छिन्—“हामीले खाने हर्मोन औषधि नेपालमा पाइँदैन। भारतबाट ल्याउनुपर्छ। कुनै सरकारी सहुलियत छैन। शरीर कमजोर हुन्छ। थकाइ लाग्छ। भारी काम गर्न सकिन्न। हाम्रो स्वास्थ्य अवस्थाका लागि कुनै सरकारी संरचना छैन।”
सन्ध्याको सन्देश छ, हामी महिला हौँ, तर प्रमाणित गर्न राज्यसँग लड्नुपर्छ। हामी चुप लागेर बस्न सक्दैनौँ। यो विषयमा आवाज उठाउनै पर्छ। लिङ्ग परिवर्तन गर्ने र नगर्ने दुवैलाई बराबर अधिकार मिल्नुपर्छ।ू
हामीलाई महिला भनेर मान्यता चाहिएको हो। र जो लिङ्ग परिवर्तन गर्न सक्दैनन्, उनीहरूलाई पनि तेस्रोलिंगीको हैसियतमा पूरा हक दिनुपर्छ।”
सन्ध्याको कथा एउटा व्यक्तिको मात्र होइन। यो नेपाली समाज, राज्य र कानुनी ढाँचाको कमजोरीको दर्पण हो। यो जीवनको एउटा यात्रा हो, जहाँ शरीर परिवर्तन गरेर आत्मालाई स्विकार्ने सङ्घर्ष छ।
तर त्यो सङ्घर्ष अझै अपुरो छ—सम्मान, सुरक्षा र अधिकारको प्रत्याभूति नभएसम्म।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.