कालीकोट—वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका कालीकोटको रास्कोट नगरपालिका-३ का नागरिकको घर आँगनमै स्वच्छ खानेपानी पुगेपछि हर्षित भएका छन्।
बुधवार रास्कोट नगरपालिका वडा नम्बर—३ स्थित कुमालवाडा र साँगाटिया क्षेत्रमा निर्माण गरिएका दुई खानेपानी तथा सरसफाइ योजनाको एकै साथ औपचारिक उद्घाटन गरिएपछि घरघरमा स्वच्छ खानेपानी पुगेको हो।
नगरप्रमुख धर्मराज शाही ‘पोषण’ र उपप्रमुख मनिराज बरालले संयुक्त रूपमा उद्घाटन गरेको उक्त योजना अन्तर्गत कुल १ सय ८१ धारा स्थानीयवासीको घर आँगनसम्म पुर्याइएको छ। जसबाट करिब २ सय घरधुरीसँगै विद्यालय र वडा कार्यालय समेत लाभान्वित भएका छन्।
‘एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम (वाम्पी)’ अन्तर्गत हेल्भेटास नेपाल र रास्कोट नगरपालिकाको आर्थिक सहयोग तथा मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक नेपाल) कालीकोटको प्राविधिक तथा सामाजिक सहजीकरणमा साँगटिया खानेपानी तथा सरसफाइ योजना र कुमालवाडा नैकला खानेपानी तथा सरसफाइ योजना सम्पन्न भएपछि खानेपानी सञ्चालनमा ल्याइएको हो।
१ करोड ३६ लाख बढीको लागतमा १ सय ८१ धारा निर्माण
हेल्भेटास नेपाल, रास्कोट नगरपालिकाको आर्थिक सहयोग र हुरेन्डेक नेपाल कालीकोटको प्राविधिक तथा सामाजिक सहजीकरणमा साँगाटिया टोलमा ७७ धारा र कुमालवाडा, नैकलाटोलमा १ सय १ धारा निर्माण गरिएको हुरेन्डेक नेपाल कालीकोटका प्राविधिक प्रमुख राजेन्द्र बहादुर शाहीले जानकारी दिए।
उनका अनुसार साँगाटिया खानेपानी तथा सरसफाइ योजनाको लागि रास्कोट नगरपालिकाको १८ लाख ६ हजार ८ सय ६० रुपैयाँ, समुदायको श्रमदान १८ लाख ३८ हजार ७ सय रुपैयाँ तथा हेल्भेटास नेपालको ३७ लाख ४२ हजार ३ सय ६९ गरी कुल ७३ लाख ८७ हजार ९ सय ७६ को लागतमा धारा निर्माण गरिएको हो।
त्यस्तै, कुमालवाडा, नैकलाटोल खानेपानी योजनामा रास्कोट नगरपालिकाको १५ लाख १७ हजार ५ सय ७९ रुपैयाँ, समुदायको श्रमदान १५ लाख ३० हजार ६ सय ३४ रुपैयाँ तथा हेल्भेटास नेपालको ३२ लाख ६३ हजार २ सय २८ रुपैयाँ गरी कुल ६३ लाख ११ हजार ४ सय ४३ रुपैयाँमा १ सय १ धारा निर्माण भएका छन्। १ सय ७८ धारा निर्माण गर्न १ करोड ३६ लाख ९९ हजार ४१९ रुपैयाँ खर्च भएको छ।
कुमालवाडा नैकला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मन्दिरे कुमालको अध्यक्षता, नगरप्रमुख धर्मराज शाहीको प्रमुख आतिथ्यता, उपप्रमुख मनिराज बराल तथा हेल्भेटास नेपालका क्षमता विकास विज्ञ नीलकण्ठ पाण्डेको विशेष आतिथ्यतामा एक विशेष कार्यक्रमकाबीच खानेपानी धारा उद्घाटन गरिएको थियो।
आँगनमै खानेपानी पुगेपछि वर्षौँ देखिको प्यास मेट्ने सपना पूरा भएको भन्दै स्थानीयवासीले हर्ष व्यक्त गरेका छन्। योजना क्षेत्रभित्रका धेरै बस्तीहरूमा वर्षौँसम्म दैनिक उपभोगका लागि खोल्सा र टाढाटाढाको मुहानमा भर पर्नुपर्ने बाध्यता अन्त्य भएको छ। “वर्षौँ भयो पानी ल्याउने सपना देखेको, आज घर आँगनमै धारा देख्दा सपना पूरा भयो,” उद्घाटन कार्यक्रममा सहभागी कर्ण कुमालले भने।
योजनाको सफल कार्यान्वयनले अब समुदायमा शुद्ध पिउने पानीको पहुँचसँगै स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
स्थानीय सरकार र साझेदार संस्थाहरूको सहकार्यको नमुना
नगर प्रमुख धर्मराज शाहीले स्थानीय तहको अगुवाइमा सहकार्यद्वारा सम्पन्न भएको यो योजना भविष्यमा अरू स्थानका लागि पनि प्रेरणादायी बन्ने बताए। ‘हामीले खानेपानी जस्तो आधारभूत अधिकारलाई टेकेर नागरिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने योजना सम्पन्न गर्न सफल भयौँ, हामीले शिक्षा, स्वास्थ्य र कृषिमा पनि यस्तै साझा प्रयास गरिरहेका छौँ,’ उनले भने।
त्यस्तै उपप्रमुख मनिराज बरालले योजना पारदर्शी, सहभागी र जनमुखी ढङ्गले सम्पन्न भएकोमा सन्तोष व्यक्त गरे। हेल्भेटासका नीलकण्ठ पाण्डेले योजना प्रभावकारी र प्राविधिक रूपमा उत्कृष्ट भएको बताउँदै, सहजीकरणमा स्थानीय जनशक्ति र स्रोतको उपयोग नै यसको सफलता भएको बताए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.