कालीकोट—सङ्कटग्रस्त वन्यजन्तु रेडपाण्डाको संरक्षणमा कालीकोटका स्थानीय सरकारहरू सक्रिय देखिएका छन्।
शुभकालिका गाउँपालिका र तिलागुफा नगरपालिकाले विभिन्न साझेदार संस्थासँग सहकार्य गर्दै जैविक विविधता संरक्षण र वातावरणीय सन्तुलन कायम राख्ने दीर्घकालीन अभ्यास थालेका छन्।
रेडपाण्डा नेटवर्कको आर्थिक सहयोग, शुभकालिका गाउँपालिकाको समन्वय र ह्युमन राइट्स एन्ड एनभाइरोमेन्ट डेभलपमेन्ट सेन्टर (हुरेन्डेक) नेपाल कालीकोटको सहजीकरणमा सञ्चालित ‘समुदायमा आधारित रेडपाण्डा संरक्षण परियोजना’ अन्तर्गत सप्ताहव्यापी वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको हो।
शुभकालिका–६ स्थित रतेथलामा आयोजित वृक्षारोपण कार्यक्रममा देवदार, ओखर, गुराँस र सल्लो प्रजातिका ६ हजारभन्दा बढी बिरुवा रोपिएका छन्।
राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा सुरु गरिएको कार्यक्रममा सामुदायिक वन, उपभोक्ता समूह र स्थानीय स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको हुरेन्डेक नेपालले जनाएको छ।
हुरेन्डेक नेपाल कालीकोटका संस्थापक अध्यक्ष जजराज शाही भन्छन्, “जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न वृक्षारोपण मात्र होइन, जैविक विविधता र मानव अस्तित्व जोगाउन रेडपाण्डाको संरक्षण अपरिहार्य छ।”
संरक्षण कार्यक्रम सात वडामा सञ्चालन
रेडपाण्डा संरक्षण कार्यक्रम हाल तिलागुफा नगरपालिकाका वडा नं. २, ८, ९ र १० तथा शुभकालिका गाउँपालिकाका वडा नं. ४, ५ र ६ मा सञ्चालन भइरहेको छ। तिलागुफाका नगरप्रमुख शङ्कर प्रसाद उपाध्यायका अनुसार चालु आर्थिक वर्षमा रेडपाण्डा संरक्षणका लागि साझेदारी रकम विनियोजन गरिएको छ।
“रेडपाण्डाको संरक्षणसँगै यसको वासस्थान वरपरका समुदायको जीविकोपार्जन र पर्यटकीय सम्भावना विकास गर्ने हाम्रो योजना छ,” उपाध्यायले बताए। उनले हुरेन्डेक नेपाल र रेडपाण्डा नेटवर्कप्रति आभार समेत व्यक्त गरे।
शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्य र उपाध्यक्ष धर्मकला शाहीले रेडपाण्डाको दीर्घकालीन संरक्षणका लागि समुदायमा आधारित कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।
वडा नं. ६ का अध्यक्ष दर्शन शाहीले रेडपाण्डा र यसको वासस्थान संरक्षण सबैको साझा दायित्व भएको भन्दै समुदायको सहभागिता अनिवार्य रहेको बताए।
जैविक सन्तुलन र हरित भविष्यतर्फको कदम
रेडपाण्डा जैविक विविधताको सन्तुलनमा महत्त्वपूर्ण भूमिका खेल्ने वन्यजन्तु हो। विश्वमै सङ्कटग्रस्त सूचीमा परेको यस प्रजातिको संरक्षण आजको आवश्यकता भएको सरोकारवालाहरू बताउँछन्।
हुरेन्डेक नेपाल कालीकोटकी अध्यक्ष गौरी कुमारी शाहीले रेडपाण्डाले जैविक प्रणाली सन्तुलनमा राख्न मद्दत गर्ने भएकाले यसको संरक्षण वातावरण बचाउने काम भएको बताइन्।
हुरेन्डेकका जिल्ला व्यवस्थापक दिलीप कुमार शाहीका अनुसार रेडपाण्डा संरक्षण भनेको मानव अस्तित्वको दीर्घकालीन सुरक्षा गर्नु हो।
उनका अनुसार हुरेन्डेकले तिलागुफा–१० को चिमारिखर्क क्षेत्रमा करिब ५ हजार बिरुवा रोपेर घेरबार समेत गरिसकेको छ।
नर्सरी निर्माण र वैकल्पिक रोजगारी
परियोजनाले रेडपाण्डा संरक्षणका लागि ८–९ हजार बिरुवा उत्पादन क्षमता भएको नर्सरी निर्माण गरिसकेको छ। साथै, समुदायको क्षमता विकास, रोजगारी सिर्जना र वैकल्पिक जीविकोपार्जनका कार्यक्रमहरू समेत सञ्चालन भइरहेका छन्।
परियोजनाकी फिल्ड प्रमुख मिना धितालका अनुसार, “परियोजना संरक्षण मात्र होइन, स्थानीय समुदायको दिगो जीविकोपार्जनका उपाय पनि अघि सारेको सहभागीमुखी कार्यक्रम हो।”
तीन जिल्लामा ३२ हजार बिरुवा रोपाइँ
रेडपाण्डा नेटवर्कले कर्णाली प्रदेशका जाजरकोट, जुम्ला र कालीकोट जिल्लाका हिमाली क्षेत्रमा २०८२ सालमा ३२ हजारभन्दा बढी बिरुवा रोपेको छ।
जैविक मार्ग सुधार, वासस्थान व्यवस्थापन र संरक्षणलाई लक्ष्य बनाइएको कार्यक्रममा स्थानीय समुदायको सक्रिय सहभागिता रहेको नेटवर्कले जनाएको छ।
नेटवर्कका कार्यक्रम अधिकृत दिनेश घलेका अनुसार, “हाब्रे (रेडपाण्डा) संरक्षणका लागि सन् २०१८ देखि स्थानीय सहभागिता र सरोकारवालासँगको सहकार्यमा अभियान सञ्चालन भइरहेको छ।” भविष्यमा अझ रचनात्मक ढङ्गले अगाडि बढ्ने प्रतिबद्धता पनि उनले जनाए।
संरक्षणलाई हरित विकाससँग जोड्ने अभ्यास
कालीकोटको पहाडी भूगोलमा रेडपाण्डा संरक्षण, वृक्षारोपण, वातावरणीय सन्तुलन र समुदाय–सरकार–संस्थाबीचको सहकार्यलाई यो अभियानले ऐतिहासिक अभ्यासका रूपमा अगाडि बढाएको सरोकारवालाहरू बताउँछन्।
स्थानीय सरकारको प्रतिबद्धता, संस्थागत सहजीकरण र समुदायको सहभागिताले रेडपाण्डा संरक्षण अब केवल वन्यजन्तु जोगाउने अभियान मात्र नभई हरित र समृद्ध भविष्य निर्माणतर्फको साझा यात्राको रूपमा अगाडि बढिरहेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.