रैथाने सीपको बजारीकरण गर्दै नीतिगत संरक्षण गर्न राज्यलाई आग्रह

रैथाने सीपको बजारीकरण गर्दै नीतिगत संरक्षण गर्न राज्यलाई आग्रह

1.9k
SHARES
सदरमुकाम मान्ममा आयाेजित २ दिने “रैथाने तथा परम्परागत सीप प्रवर्द्वन कार्यक्रम । तस्बिर : मानबहादुर/ पहिचान डटकम

कालीकोट — कालीकोट सदरमुकाम मान्ममा आयोजित दुई दिने “रैथाने तथा परम्परागत सीप प्रवर्धनसम्बन्धी अभिमुखीकरण कार्यक्रम” मा सहभागी सरोकारवालाहरूले नेपालको परम्परागत ज्ञान, सीप र शिल्पकलालाई संरक्षण गर्दै आधुनिक प्रविधिसँग जोड्न जरुरी भएकोमा जोड दिएका छन्।

सामाजिक विकास कार्यालय कालीकोटको आयोजनामा आयोजित उक्त कार्यक्रममा जिल्लाभरबाट परम्परागत पेसा गर्दै आएका व्यवसायीहरू, जनप्रतिनिधिहरू, नागरिक समाजका अगुवा, पत्रकार, तथा सरकारी अधिकारीहरूले रैथाने, परम्परागत ज्ञान र सीपलाई बढ्दो आधुनिक प्रविधिसँग जोडेर अगाडि लैजानुपर्नेमा जोड दिएका हुन्।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै जिल्ला समन्वय समिति कालीकोटका प्रमुख धनजित शाहीले रैथाने कलालाई सम्मान गर्न र यसको सम्मानजनक उपयोगबाट आयआर्जनको दिगो मार्ग खोल्न जरुरी रहेको बताए। उनले भने, “हामीले परम्परागत सीपलाई विज्ञान र प्रविधिसँग जोड्न सक्यौँ भने, यसलाई रोजगारीको स्रोत बनाउँदै दिगो विकासमा टेवा दिन सकिन्छ।”

उनले परम्परागत सीपलाई मात्र जगेर्ना नभई त्यसलाई आधुनिक बजारसँग जोडेर यसको मूल्यवृद्धि गर्न सकिने बताए। सोही कार्यक्रममा जिल्ला समन्वय समितिकी उप–प्रमुख मिना रावत (विश्वकर्मा) ले दलित समुदायका पुस्तौँ देखिका सीप र कलाको संरक्षणमा राज्यको चासो नदेखिएको गुनासो सुनाइन। उनले आधुनिकताको आडमा स्थानीय ज्ञान, सीप र परम्परागत प्रविधिहरू सङ्कटमा पर्दै गएको बताउँदै तत्काल संरक्षण र प्रवर्द्धनको पहल नगरे लोप हुने बताइन।

परम्परागत ज्ञान, सीप र इन्जिनियरिङ शिक्षामा रूपान्तरणको माग

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले परम्परागत ज्ञान र सीपलाई अध्ययनको विषय बनाउनुपर्ने बताए। सीप, कला र इन्जिनियरिङलाई शैक्षिक ढाँचामा रूपान्तरण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न सक्नुपर्ने उनको भनाई थियो।

“नेपालमा थुप्रै रैथाने सम्पदाहरू छन्, ती सबै इन्जिनियरिङका अद्भुत नमुना हुन्,उनले भने,अब तिनलाई शैक्षिक कार्यक्रमसँग जोडेर विश्वमञ्चमा चिनाउनुपर्ने बेला आएको।”

कालीकोट सदरमुकाम मान्ममा आयोजित दुई दिने “रैथाने तथा परम्परागत सीप प्रवर्द्वन कार्यक्रम सहभागी । तस्बिर : मानबहादुर/ पहिचान डटकम

नेकपा माओवादी केन्द्र निकट दलित मुक्तिमोर्चा नेपालका कर्णाली प्रदेश अध्यक्ष दिनेश चदाँराले परम्परागत आरन, माटो तथा तामाको भाँडा निर्माणजस्ता पेसाहरू लोप हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे। उनले दलित समुदायको सीपमा आधुनिकता थपेर त्यसलाई रोजगारी र आम्दानीको आधार बनाउनु आवश्यक रहेको बताए। “हामी काम गर्छौँ, तर खलो प्रथाबाट मुक्त हुन सकेका छैनौँ। सीपलाई व्यवस्थित गरेर पुस्तान्तरणको काम अघि बढ्यो भने कलाको पहिचान पनि सुरक्षित हुन्छ,” उनले भने।

कार्यक्रममा सहभागी खाँडाचक्र नगरपालिका–५ का वडा अध्यक्ष देउराम विश्वकर्माले रैथाने सीप र परम्परागत प्रविधि आधुनिकतासँगै हराउने अवस्थामा पुगेकाले तत्काल संरक्षणको खाँचो रहेको औँल्याए।

संरक्षण, बजारीकरण र नीति निर्माणमै जीवित मौलिक सीप

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा सामाजिक अभियन्ता तुलाराम पाण्डे, उद्योग वाणिज्य सङ्घ कालीकोटका अध्यक्ष रतनबहादुर शाही, गैरसरकारी संस्था महासङ्घका सचिव रमेश नेपाली र दलित सेवा सङ्घका अध्यक्ष वसन्त सुनारले परम्परागत सीप र शिल्पकलाको पुस्तान्तरण कमजोर हुँदा यसको अस्तित्व सङ्कटमा परेको बताए। उनीहरूले रैथाने सीपको बजारीकरण गर्दै नीतिगत संरक्षण गर्न राज्यलाई आग्रह गरे।

सामाजिक विकास कार्यालयका प्रमुख रछाने लोहारले कार्यपत्र प्रस्तुत गर्दै परम्परागत सीपको प्रयोग गरेर वर्षौँदेखि उत्पादन हुँदै आएका घरेलु सामग्री, उपकरण र कलाकृतिहरू लोप हुने स्थितिमा पुगेको जानकारी दिए। उनका अनुसार अहिले पनि कालीकोटका ग्रामीण भेगमा आरन, सिलाई, काठको ठेकी, माटोको भाँडा, पानीघट्ट, ढिकी, जाँतो, डोका, नाम्ला, सुपा, नाङ्ला आदि परम्परागत साधन प्रयोगमा छन्, तर तिनको संरक्षण नहुँदा अस्तित्व खतरामा परेको उनले बताए।

कार्यक्रममा सहभागीहरूले रैथाने सीप र ज्ञान प्रवर्द्धन गर्न शिक्षा, उद्यमशीलता र प्रविधिसँगको जोड आवश्यक रहेको धारणा राखेका छन्। उनीहरूले हस्तकला, घरेलु उपकरण निर्माण, कलात्मक निर्माण, काष्ठकलाजस्ता सीपहरूलाई लोप हुन नदिन आधुनिक प्रविधिको सहकार्य, बजार व्यवस्थापन र सीप प्रशिक्षणका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने माग गरे।

कार्यक्रमको अध्यक्षता सामाजिक विकास कार्यालयका प्रमुख रछाने लोहारले गरेका हुन् भने सहजीकरण प्राविधिक गोविन्द विश्वकर्माले गरेका थिए।

समाचार शेयर गर्नुहोस्
1.9k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.