पत्रकारको सुरक्षा राज्यको दायित्व : मुख्यमन्त्री कँडेल

पत्रकारको सुरक्षा राज्यको दायित्व : मुख्यमन्त्री कँडेल

705
SHARES
मुख्यमन्त्री यामलाल कंडेल मन्त्रालयका सचिव पुष्पराज शाहीले महासंघ कर्णालीका पदाधिकारीको उपस्थितिमा अध्यक्ष विष्णुप्रसाद शर्मालाई वीमा पाेलिसी हस्तान्तरण गरिँदै । तस्बिर : साैजन्य/पुष्पराज भट्टराई

सुर्खेत — कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पत्रकारको सुरक्षा सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताएका छन्।

कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार सुर्खेतमा आयोजना गरेको ‘पत्रकार स्वास्थ्य बीमा पोलिसी’ हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन् । उनले पत्रकारिता पेसा जोखिमपूर्ण मात्र नभई लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख समेत गरे।

मुख्यमन्त्री कँडेलले व्यावसायिक पत्रकारिताको विकास र नागरिकप्रतिको उत्तरदायित्व निर्वाहका लागि पत्रकार स्वयंले पनि उच्च व्यावसायिकता अपनाउनुपर्नेमा जोड दिए । साथै, पत्रकारको पेसागत र भौतिक सुरक्षाका लागि नीतिगत तथा संरचनागत सुधारमा प्रदेश सरकार जुटिरहेको पनि जानकारी गराए ।

कँडेलले भने, “प्रदेश सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ। राज्य र सञ्चारकर्मीबीच पारदर्शिता, आपसी सम्मान र सहकार्य आवश्यक छ।”

स्वास्थ्य बीमा योजनालाई उनले पत्रकार सुरक्षाप्रतिको राज्यको दायित्वबोध र लोकतान्त्रिक मूल्यप्रतिको सरकारको प्रतिबद्धताको प्रतीकका रूपमा व्याख्या गरे।

कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका ६९३ जना क्रियाशील पत्रकारलाई स्वास्थ्य बीमा गराएको छ। यो योजना नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समिति र प्रदेश सरकारको सहकार्यमा निःशुल्क रूपमा सञ्चालन गरिएको हो।

यस योजनाअनुसार बीमित पत्रकारले प्रति वर्ष ७० हजार रुपैयाँसम्मको उपचार सुविधा पाउनेछन्। कुल बीमा खर्च करिब १४ लाख रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ।

बीमा सुविधाका लागि बिरामी परेको ६० दिनभित्र वा अस्पतालबाट डिस्चार्ज भएको ३५ दिनभित्र बीमा कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।

महासङ्घका प्रतिनिधिहरूले प्रदेश सरकारले सञ्चारकर्मी सुरक्षाप्रतिको देखाएको सक्रियतालाई ऐतिहासिक कदमको रूपमा लिएको बताएका छन्।

समाचार शेयर गर्नुहोस्
705
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.