निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

भविष्य निर्माणका लागि रास्कोटका बालबालिकालाई तीन दिने तालिम

भविष्य निर्माणका लागि रास्कोटका बालबालिकालाई तीन दिने तालिम

208
SHARES
तालिममा सहभागी रास्काेटका तीन सामुदायिक विद्यालयका विद्यार्थी । तस्बिर : मानबहादुर/पहिचान डटकम

कालीकोट – बालबालिकाको अधिकार, नेतृत्व विकास र भविष्य सुदृढीकरण गर्ने उद्देश्यले रास्कोटमा सञ्चालन गरिएको तीन दिने ‘जीवन वृत्त योजना परामर्श तथा लक्ष्य निर्धारण कार्यशाला तालिम’ मङ्गलवार सम्पन्न भएको छ।

रास्कोट नगरपालिकाका तीनवटा सामुदायिक विद्यालयका १३ देखि १९ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो। प्लान इन्टरनेशनल नेपालको सहयोगमा मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरन्डेक) नेपालले तालिम आयोजना गरेको थियो।

तालिममा बालबालिकालाई आत्मविश्वास वृद्धि, नेतृत्व सीप विकास, अधिकार र कर्तव्यबारे जानकारी दिइएको आयोजकले जनाएको छ। साथै विद्यालय र समुदायमा सकारात्मक परिवर्तन ल्याउने व्यवहारिक उपायहरू पनि सिकाइएको थियो।

प्रशिक्षक उमाशङ्कर आचार्यका अनुसार, तालिमले बालबालिकामा आत्मविकासको भावना र सामाजिक जिम्मेवारीबोध जगाएको छ। सहभागी विद्यार्थी पूजा बमले भनिन्, “यस तालिमले मलाई आफ्ना अभिभावकको मेहनत र ममाथिको अपेक्षा बुझ्न सहयोग पुर्‍यायो। अब मैले मेरो भविष्यका लागि स्पष्ट लक्ष्य बनाएकी छु।”

विद्यालयका शिक्षकहरूले बालबालिकाले अहिलेबाटै नेतृत्व सीप सिक्न थालेमा भविष्यमा समाजमा अग्रणी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

सशक्त बालिका परियोजनाका संयोजक पदम हमालका अनुसार, रास्कोटका बालबालिकाले आफ्नो भविष्यको सपना आफैँ देखुन् र त्यसका लागि प्रयासशील बनुन् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।

तालिममा बडिमालिका माध्यमिक विद्यालय, मोतिराम र कालाशिल्ला माध्यमिक विद्यालयका करिब १९० जना बालबालिका सहभागी थिए।

समाचार शेयर गर्नुहोस्
208
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.