नवगठित नेपाली कम्युनिस्ट पार्टीमा तेस्रोलिंगी बद्री पुन केन्द्रीय सदस्य

नवगठित नेपाली कम्युनिस्ट पार्टीमा तेस्रोलिंगी बद्री पुन केन्द्रीय सदस्य

767
SHARES

काठमाडौँ – नेपाली राजनीतिमा तेस्रोलिंगी व्यक्तित्वले नवगठित ठुलो वाम दलको केन्द्रीय तहमा स्थान पाएका छन्। समावेशी मञ्चका अध्यक्ष समेत रहेका तेस्रोलिंगी अधिकारकर्मी बद्री पुन नवगठित नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बनेका हुन्। उनले पार्टीको केन्द्रीय सदस्यका रूपमा औपचारिक रूपमा शपथ ग्रहण गरेका छन्।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी सहित विभिन्न १० दलबीच एकता भएर बनेको यो नवगठित पार्टीले पुँजीवादी जनवादी क्रान्तिको उपलब्धिको रूपमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरणमार्फत समाजवादी लक्ष्य पूरा गर्ने लक्ष्य लिएको छ।

बद्री पुन एकता हुनुअघि नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य थिए। नयाँ पार्टीमा पनि उनले सोही तहमा निरन्तरता पाएका छन्। राजनीतिक यात्राको क्रममा उनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई संवैधानिक अधिकार अनुसार राजनीतिक सहभागिताबाट वञ्चित गरिएको अवस्था विरुद्ध निरन्तर सङ्घर्ष गर्दै आएको बताए।

उनका अनुसार, “संविधानले सबै नागरिकलाई समान राजनीतिक अधिकार दिएको छ, तर व्यवहारमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय अझै पनि प्रतिनिधित्वबाट वञ्चित छन्।” उनले यस असमानताका विरुद्ध विद्रोहकै बाटो समातेको र सङ्घर्षकै परिणाम स्वरूप आजको स्थानमा आइपुगेको बताए।

पुनले नवगठित पार्टीभित्र पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको समान अवसर र राजनीतिक अधिकार सुनिश्चित गर्न खबरदारी गरेका छन्।

सुनिल बाबु पन्तविरुद्ध नेपाल सरकार रहेको मुद्दामा सर्वोच्च अदालतले २०६४ पुस ६ गते दिएको ऐतिहासिक आदेशपछि, बद्री पुनले तेस्रोलिंगी पहिचानमा पहिलोपटक नागरिकता प्राप्त गरेका थिए। त्यो आदेशले नेपालमा तेस्रोलिंगी पहिचानलाई कानुनी मान्यता दिलाउने ऐतिहासिक पाटो कोरेको थियो।

पुनले २०७९ सालको आमनिर्वाचनमा समानुपातिक उम्मेदवारको रूपमा भाग लिएका थिए। तर, एकीकृत समाजवादी पार्टीले थ्रेसहोल्ड पार गर्न नसकेकाले उनी सांसद बन्नबाट वञ्चित भए।

हाल उनी नवगठित नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यका रूपमा पुनः राजनीतिक यात्रामा सक्रिय बनेका छन्। उनले अब नयाँ पार्टीबाट लैङ्गिक समानता, राजनीतिक समावेशीकरण र सामाजिक न्यायका मुद्दालाई सशक्त रूपमा अघि बढाउने घोषणा गरेका छन्।

२०६४ सालमा भएको संविधान सभा चुनावमा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व सुनिल बाबु पन्तले गरेका थिए। पन्त पछि हालसम्म यो समुदायबाट एक जनाको पनि प्रतिनिधित्व हुन सकेको छैन।

समाचार शेयर गर्नुहोस्
767
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.