"/>

खगेन्द्र र इब्सलको स्वरमा गगनको सभापति-प्रधानमन्त्री अभियान (भिडियो)

खगेन्द्र र इब्सलको स्वरमा गगनको सभापति-प्रधानमन्त्री अभियान (भिडियो)

565
SHARES

काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा नेताहरू आ–आफ्नो पक्षमा माहौल बनाउन सक्रिय देखिएका छन्। यही क्रममा कांग्रेसको १४ औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित गगन थापाले १५ औँ महाधिवेशनमा सभापति बन्ने र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएर प्रधानमन्त्री बन्ने अभियान थालेका छन्।

कांग्रेसले पुस २६ देखि २८ गतेसम्म १५ औँ महाधिवेशन गर्ने मिति घोषणा गरिसकेको छ। यही महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन हुने भएपछि नेतृत्वको दौड थप तीव्र बनेको छ। नेतृत्वका लागि विभिन्न नेताहरूको दौडधुप बाक्लिँदै गएको बेला महामन्त्री गगन थापाको पक्षमा गीत तयार गरी सार्वजनिक गरिएको छ।

कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री निर्वाचित भएका गगन विगतदेखि नै पार्टीभित्र स्पष्ट विचार, सङ्गठन निर्माण र युवामैत्री एजेन्डाका कारण चर्चामा रहँदै आएका नेता हुन्।

स्वास्थ्य क्षेत्रको सुधारदेखि संसद्मा सशक्त आवाज उठाउने सक्रिय भूमिकाले उनलाई युवामाझ आशा र भरोसाको केन्द्रका रूपमा स्थापित गरेको छ।

गगनलाई केन्द्रमा राखेर गाइएको गीतमा चिया पसलदेखि गाउँघरमा उनकै चर्चा चल्ने, सभापति र प्रधानमन्त्री गगन बन्नुपर्छ भन्ने भाव व्यक्त गरिएको छ। गीतमा “देश–विदेश जहाँ भए पनि दाजु–भाइ युवाहरू गगन दाइलाई आशा र भरोसाको केन्द्र मान्छन्” भन्ने सन्देश समेटिएको छ।

गीतमा देशकै नेता बन्ने आशा जनताले गरेको, बिपी कोइरालाजस्तै जनआवाज देखिने नेता गगन भएको, नेतृत्वमा दक्षता भएको, स्वच्छ छवि, उच्च विचार र क्षमताको खानी भएको उल्लेख गरिएको छ।

खगेन्द्र दुलालको शब्द र सङ्गीतमा तयार गरिएको “युवाको आशा भरोसाको केन्द्र गगन दाइ” बोलको गीत भिडियोसहित युट्युबमा अपलोड गरिएको छ। गीतमा खगेन्द्र दुलाल र इब्सल सञ्ज्यालको स्वर रहेको छ भने सङ्गीत संयोजन पूर्ण संयोगले गरेका हुन्।

कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै जाँदा गगन थापालाई केन्द्रमा राखेर सुरु भएको यो साङ्गीतिक अभियानलाई पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धासँगै युवाको राजनीतिक आकाङ्क्षाको अभिव्यक्तिका रूपमा पनि हेरिएको छ।

हेर्नुस् भिडियो

समाचार शेयर गर्नुहोस्
565
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.