तेस्रो मुलुक पुनर्वासको लहरमा एक लाखभन्दा बढी भूटानी उडेर गए। आफ्नै देश फर्कने आशामा बसेकाहरू भने आज पनि झापा र मोरङका शिविरमा छन्। भोकै, उपेक्षित, तर एउटा आवाज जीवित छ, स-सम्मान स्वदेश फिर्ती या परिवारसँगको पुनर्मिलनको आवाज।
झापाको बेलडाँगी शिविरको एउटा कुनामा बिहानको उज्यालो पर्दा पनि धुवाँको मुस्लो उठ्दैन। खाना पकाउने चुलो निभेको छ। खाली भाँडो खट्किरहेको छ। यो कुनै एक घरको कुरा होइन भूटानी शरणार्थी शिविरको दैनिकी बनेको छ।
सन् २००७ देखि सुरु भएको तेस्रो मुलुक पुनर्वासको लहरमा एक लाख १३ हजार भूटानी शरणार्थी अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोपका विभिन्न देशमा छरिए। तर जो गएनन्, जो जान सकेनन्, अथवा जो आफ्नो जन्मभूमि भूटानमा नै फर्कने सपना छाड्न तयार थिएनन्, देशले नहेरेपछि तेस्रा देश पुनर्वास भएका आफन्त साथीभाइको कुरा सुनेर शिविर कुर्न बाध्य छन्।
आज झापाको बेलडाँगी र मोरङको पथरी शिविरमा ६००० हजार भन्दा बढी भूटानी जनता शरणार्थीको बसोबास छ। त्यही शिविरमा मानवीय सहायता प्राय बन्द भएको छ। अन्तर्राष्ट्रिय संस्थाहरूको उपस्थिति सीमित हुँदै गएको छ।
बालबालिकाले पढ्न पाएका छैनन्, स्वास्थ्य सेवा सहज छैन। नेपाल सरकारको स्पष्ट नीति छैन। न नेपाल सरकारको, न भूटानसँगको द्विपक्षीय संवाद पनि बन्द छ। उनीहरू तीन दशकभन्दा बढी समयदेखि न घरको, न घाटको अवस्थामा छन्।
‘मर्नुपरे पनि नेपालमै मर्छु, तर भूटान फर्कने सपना छाडेको छैन’ – विष्णु चौहान
बेलडाँगी–२ छाप्रो नं ३८, सेक्टर सि/४ शिविरका विष्णु चौहान यतिबेला काठमाडौँमा छन्। उनको उद्देश्य एउटै छ – प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट्ने, निवेदन दिने, र भूटानसँग सिधा वार्ता गरेर आफ्ना नागरिक फिर्ता लैजाऊ।
उनका तीन दाइ, दुई दिदी र आमा सबै तेस्रो देश पुगिसके। दुई दाइ र दुई दिदी अमेरिकामा छन्, एक दाइ डेनमार्कमा, काका अस्ट्रेलियामा। परिवार संसारका कुनाकाप्चामा छरिएको छ, तर चौहान एक्लै शिविरमा बाँकी छन्। किन?
‘तेस्रो देश पुनर्वास हुनु नै गलत थियो। त्यतिबेलै भूटानी बुद्धिजीवी र जान्नेबुझ्नेहरूले विरोध गर्नुपर्ने थियो। नेपाल सरकारसँग कोसिस गरेर भूटान फर्कने नै माग हुनुपर्थ्यो।’
उनले शिविरमा नेतृत्वको अभाव रहेको गुनासो पनि पोखे। ‘पहिला टेकनाथ रिजाल र रतन गजमेर भन्ने नेता थिए। अरू त नेता भन्ने कि के भन्ने, मौका पाउँदा आफैँ विदेश गइसके, हामीलाई छाडेर,’ उनले भने। ‘क्याम्पमा न त राम्रो नेता छ, न त हाम्रो आवाज पुर्याउने कोसिस नै भएको छ। हामीसँग केही छैन।’ तर नयाँ सरकारप्रति उनको आशा मरेको छैन।
‘मर्नुपरे पनि नेपालमै मर्छु, नेपालबाट अर्को देश जानु छैन। ३०–३५ वर्षदेखि नेपालमै छौँ। यहाँ जन्मिएका बालबालिकालाई बाँच्ने अधिकार नेपाल सरकारले दिनुपर्छ। नेपालको भूमिमा जन्मिएका बालबालिकालाई नागरिकता प्रदान गरी उनीहरूको भविष्य सुरक्षित गर्नुपर्छ।’
उनले आफूलाई ‘आवाजविहीनहरूको आवाज’ भन्छन्। शिविरमा बाँकी हजारौँमध्ये धेरै नेपालमै जन्मिएका बालबालिका छन् — न यो देशको, न त्यो देशको। तीन दशक बित्यो, तर उनीहरूको पहिचान अझै कागजमा उतरेको छैन।
‘शब्दहरूले पनि भोक खान्छन्’ कवि दिल भूटानी
शिविरका ती साक्षी हुन् कवि दिल भूटानी, जसले विस्थापनको पीडालाई कविताका शब्दमा उतारे। उनको कविता सङ्ग्रह ‘नब्बेका घाउहरू’ शिविरकै अनुभवको निचोड हो। नेपालको एक टेलिभिजन च्यानलमा दिएको अन्तर्वार्तामा उनले भनेका थिए- शिविर रित्तियो, तर पीडा रित्तिएन।
‘शरणार्थी भएर बाँच्नुको अर्थ भनेको प्रत्येक बिहान एउटा नयाँ लज्जाको बोझ बोक्नु हो। हाम्रा बच्चाहरूलाई हामीले के दियौँ? न पहिचान, न भविष्य, न आफ्नो माटो। तेस्रो मुलुक गएकाहरू नयाँ जीवन बनाउँदैछन् – राम्रो कुरा हो। तर हामी जो यहाँ बाँकी छौँ, हामीलाई कसले सम्झिन्छ?’
भूटानी नेपाली साहित्यका अध्येताहरूले साहित्यिक चेतनामा तीन तहका पीडा पहिचान गर्छन् – पहिलो, आधारभूत अभावको पीडा; दोस्रो, राज्यविहीनताको अनुभूति; र तेस्रो, शरणार्थी भएर खेप्नुपरेको हीनताबोध। दिल भूटानीका कविताहरूले यी तीनै तहलाई एकैसाथ बोल्छन्।
उनको ‘म हरिण हुँ’ कवितामा शरणार्थी जीवनको सार यसरी आउँछ। सीमित तार घेरामा थुनिएको छु कसैले दिए मिठो मिठो पनि खान पाउँछु नदिए भोक लुकाएरै पनि मुस्कुराउँछु म हरिण हुँ।
हरिण – जो जङ्गलमा स्वतन्त्र हुन्छ, तर चिडियाखानाको तारभित्र थुनिएपछि भोक लुकाएर मुस्कुराउन बाध्य हुन्छ। भूटानी शरणार्थी जीवन यही हो – मर्यादा बाहिर गएको छैन, तर स्वतन्त्रता गइसकेको छ। कविता आफ्नै जङ्गल (देश) फर्कने पर्खाइमा बाँचिरहेको कुरा गर्छ र यही पखाई नै स-सम्मान स्वदेश फिर्तीको माग हो।
शिविरको यो पीडालाई दियालो वार्षिक पत्रिकामा प्रकाशन भएको ‘शिविरको बतास’ कवितामा अर्को स्वरले पनि सुन्न सकिन्छ।
एक हूल मानिस छन्, यो शिविरको बतासमा लरबराइरहेका भोक अभाव र पीडाले छटपटाइरहेका तर थाक्दैनन् सपना बोकेर। छाप्रोको बतास एक्लै उभिएर आँसु टिलपिलाउँदै आफ्नो कथा सुनाइरहेको छ। अपिलहरू पठाइरहेको छ, कुर्सीमा बसिरहेका ढुङ्गाहरूलाई।
यी कविताका शब्दहरू केवल साहित्य होइनन्, शिविरको जीवन्त दस्ताबेज हुन्। डाँस खोला र रतुवा, बेलडाँगी र पथरी, यी नाम कविताका हरफमा मात्र होइनन्, यी ठाउँहरूमा आज पनि उनीहरू आफ्नै देश जपिरहेका छन्। बतास चलिरहेको छ – कहिले कुलागाङ्ग्री छुँदै, कहिले मिसिसिपिसम्म पुग्दै। तर शिविरका ग्याप र गल्लीहरूमा त्यो बतास थितिक्क भएको छ।
अहिले शिविरमा साहित्यिक गतिविधि लगभग शून्य छ। पुनर्वासको लहरमा कवि, लेखक, बौद्धिक – सबै गए। जो बाँकी छन् उनीहरूसँग न कागज किन्ने पैसा छ, न कलम। शिविरका गल्लीहरूमा कविता गुन्जिने दिन इतिहास बनिसकेका छन्।
‘हाम्रो माटोको गन्ध कविताका शब्दमा जोगाउन खोज्यौँ। तर शब्दहरूले पनि भोक खान्छन्। भोको मानिसले कविता लेख्न सक्दैन, र कविताविहीन समुदायले आफ्नो पहिचान जोगाउन सक्दैन।’
‘स्वैच्छिक र सम्मानजनक स्वदेश फिर्ती, यो राजनीतिक होइन, मानवीय अधिकार हो’- डिबी सुब्बा
झापाको बेलडाँगीस्थित भूटान स्वतन्त्र जनता मञ्चका महासचिव डिबी सुब्बा यो अभावलाई केवल मानवीय समस्याका रूपमा मात्र होइन, नीतिगत विफलताका रूपमा पनि हेर्छन्। द हेगमा आधारित ग्लोबल कोअर्डिनेटर राम कार्कीसँग मिलेर उनले हालै नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई खुला पत्र पठाएका छन्।
पत्रमा उनीहरूको माग स्पष्ट छ- शरणार्थीहरूको स्वैच्छिक र सम्मानजनक स्वदेश फर्काइ सुनिश्चित गर्न भूटानसँग नयाँ संवाद सुरु गरियोस्, बाँकी शरणार्थी र रिहा भएका राजनीतिक बन्दीहरूलाई आधारभूत सेवा र पहिचान दस्ताबेज उपलब्ध गराइयोस्, र राजनीतिक कैदीहरूको मुद्दालाई कूटनीतिक रूपमा निरन्तर उठाइयोस्।
‘दुई दशकभन्दा बढी भयो, समस्या अझै अल्झिएकै छ। मानवीय सहायता बन्द प्रायः भएको छ, जीवनयापन कठिन बन्दै गएको छ, र भविष्य अन्योलपूर्ण छ। हाम्रो माग स्पष्ट छ – स्वैच्छिक र सम्मानजनक स्वदेश फिर्ती। हामी भूटान जान चाहन्छौँ। हाम्रो पुर्खाको जमिनमा, हाम्रो मातृभाषामा, हाम्रो संस्कृतिसहित। यो कुनै राजनीतिक माग होइन- यो मानवीय अधिकार हो।’
राम कार्कीका अनुसार, हालै रिहा भएका केही राजनीतिक बन्दीहरूलाई पुनःस्थापना नगरी भारततर्फ निर्वासित गरियो र त्यसपछि उनीहरू फेरि नेपालका शिविरमा फर्किए। उनीहरूसँग आवश्यक कागजात छैनन् – न नागरिकता, न पहिचानपत्र। आधारभूत सेवामा पहुँच कठिन छ।
खुला पत्रमा नेपालको वर्तमान राजनीतिक स्थिरताले यो जटिल मानवीय मुद्दा समाधान गर्ने अवसर प्रदान गरेको उल्लेख छ। सुब्बाको तर्क छ – पारदर्शिता, जबाफदेहिता र न्यायपूर्ण प्रक्रियाबिना समाधान सम्भव छैन।
‘नेपालको राजनीतिक नेतृत्व अहिले नयाँ ऊर्जाले भरिएको छ। हामीले त्यही ऊर्जाबाट आशा राखेका छौँ। परिवार पुनर्मिलन सहज बनाइयोस्, मानवीय पहुँच पुनःस्थापना गरियोस्, र अन्तर्राष्ट्रिय साझेदारहरूसँग समन्वय गरी अधिकारमा आधारित दृष्टिकोण अपनाइयोस् – यति मात्रै माग्दैछौँ।’
‘शिविरबाट स्टेटहाउससम्म – सङ्घर्षको यात्रा सकिएको छैन’ – सुरज बुढाथोकी, न्यु ह्याम्पशायर प्रतिनिधि
टिमाइ शरणार्थी शिविरमा उनको बाल्यकाल बित्यो। १९ वर्ष। त्यो उमेर जसमा अरू बच्चाहरू सपना बुन्छन्, स्कुल जान्छन्, खेल्छन् – सुरज बुढाथोकी शिविरको काँडेतारभित्र बाँचे। न नागरिकता थियो, न भविष्यको ग्यारेन्टी। तर सपना थियो र त्यो सपना उनले तिलाञ्जलि दिएनन्।
सन् २००९ मा शरणार्थीको हैसियतले अमेरिका पुगेका बुढाथोकीले न्यु ह्याम्पशायरलाई आफ्नो थातथलो बनाए। साउदर्न न्यु ह्याम्पशायर विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक, नोर्विच विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर, र अहिले सेब्रुक विश्वविद्यालयमा पिएचडी अध्ययनरत। तर उनको सबभन्दा ठूलो डिग्री भनेको शिविरमै सिकेको – बाँच्ने र लड्ने हिम्मत।
सन् २०१९ मा उनले पिस इनिसिएटिभ भूटान (PIB) स्थापना गरे। यो संस्थाले वासिङ्टन डिसीमा बारम्बार प्रतिनिधिमण्डल पुर्याएको छ। अमेरिकी कांग्रेसमा भूटानी शरणार्थीको मुद्दा उठाउन, सिनेट रेजोलुसन १०८ र हाउस रेजोलुसन २२८ का लागि समर्थन जुटाउन। यी रेजोलुसनहरूले भूटान सरकारलाई एक लाखभन्दा बढी नेपाली भाषी भूटानीहरूको जबरजस्त विस्थापनलाई स्वीकार गरी सम्बोधन गर्न आग्रह गर्छन्।
र सन् २०२४ मा इतिहास बन्यो। सुरज बुढाथोकी न्यु ह्याम्पशायर हाउस अफ रिप्रेजेन्टेटिभ्समा निर्वाचित भए। पहिलो भुटानी-अमेरिकी राज्य प्रतिनिधि। टिमाइ शिविरको काँडेतारबाट अमेरिकी स्टेटहाउसको भव्य हलसम्मको यात्रा – यो केवल एक व्यक्तिको कथा होइन, यो एउटा समुदायको अदम्य जीवटताको प्रमाण हो।
‘यो विजय तीन महिनाको मेहनतको मात्र फल होइन – यो १६ वर्षको समर्पण, दृढता र यस समुदायप्रतिको प्रतिबद्धताको परिणाम हो।’
तर पदको कुर्सीमा बसेपछि पनि उनले शिविरको पीडा बिर्सेका छैनन्। हार्वर्ड विश्वविद्यालयको साउथ एसिया इन्स्टिच्युटदेखि अमेरिकी स्टेट डिपार्टमेन्टसम्म उनले भूटानी मानवअधिकार उल्लङ्घनका विषयमा प्रस्तुति दिएका छन्। बेलडाँगी र तिमाईका शिविरहरूमा अझ हजारौँ बाँकी छन् भन्ने उनलाई राम्रोसँग थाहा छ।
‘हामी जो अमेरिका आयौँ, हामीले नयाँ जीवन पाइयौँ। तर जो शिविरमा बाँकी छन्, उनीहरूको आवाज बुलन्द गर्नु हाम्रो दायित्व हो। स्वदेश फिर्ती उनीहरूको अधिकार हो र त्यो अधिकारका लागि लड्न हामी थाकेका छैनौँ।’
तिमाई शिविरबाट न्यु ह्याम्पशायर स्टेटहाउससम्मको सुरजको यात्राले एउटा सन्देश दिन्छ – शरणार्थी कमजोर हुँदैनन्, उनीहरूलाई केवल अवसर चाहिन्छ। तर जो अझ शिविरमा छन्, उनीहरूसँग त्यो अवसर पनि छैन।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.