नेपालीभाषी भूटानी समुदायको विस्थापन, भाषिक सङ्घर्ष र सांस्कृतिक पहिचानको कथा बोकेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ अन्तर्राष्ट्रिय मञ्चमा क्रमशः आफ्नो उपस्थिति जनाउँदै छ। निर्देशक मित्र प्रधान (नर)को यस चलचित्रले ‘टोकियो लिफ्ट-अफ फिल्म फेस्टिभल २०२६’का लागि आधिकारिक छनोट पाएको छ, जहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय १०५ चलचित्रलाई पछाडि पार्दै यसले स्थान सुरक्षित गरेको हो।
यसअघि यो चलचित्रले यूकेको मिल्टन केन्स इन्टरनेशनल फिल्म फेस्टिभल २०२५ मा ‘अन्य भाषाहरू’ विधाअन्तर्गत उत्कृष्ट छायाङ्कन पुरस्कार हात पारेको थियो। सान फ्रान्सिस्को इन्टरनेशनल न्यू कन्सेप्ट फिल्म फेस्टिभल २०२५ मा पनि यसले “Excellent Feature Film” पुरस्कार प्राप्त गरेको छ।
नेपाली भाषा र संस्कृतिको संरक्षणमा उल्लेखनीय योगदान पुर्याएको भनी चलचित्र विकास बोर्डलगायत सरकारी सङ्घसंस्थाले पनि यस चलचित्रलाई सम्मान गर्दै आएका छन्।
सन् १९८८ पछि भूटान सरकारले नेपालीभाषी ल्होत्साम्पा समुदायमाथि थोपरेको पहिचान सङ्कट, नागरिकताको अनिश्चितता र भाषाविहीन बनाउने नीतिले लाखौँ मानिसलाई शरणार्थी जीवनमा धकेल्यो। त्यही पीडालाई चलचित्रले कविता, प्रतीक र स्मृतिको माध्यमबाट पर्दामा उतारेको छ।

फिल्मभित्र वाचन गरिने कविता “छ महिना” त्यस्तै एउटा मार्मिक अंश हो, जसले राज्यले गरेको अस्थायी आश्वासन कसरी दशकौँ लामो निर्वासनमा बदलियो भन्ने कुरालाई सशक्त रूपमा प्रस्तुत गर्छ।
पटकथा शिवम अधिकारीले लेखेका छन् भने सौरभ लामाको छायाङ्कनले भूटान, नेपाल र अमेरिकाका दृश्यावलीलाई भावनात्मक रूपमा जोडेको छ। रोशन श्रेष्ठ र आयुष समालको अभिनयसँगै विजय बराल, बुद्धि तामाङ र विल्सन विक्रम राईजस्ता अनुभवी कलाकारहरूले फिल्मलाई थप गहिराइ दिएका छन्।

सन् २००७ पछि संसारभर पुनर्वास भएका नेपालीभाषी भूटानीहरूले नयाँ देशमा नयाँ जीवन सुरु गर्दा पनि भाषा र साहित्यमार्फत आफ्नो सांस्कृतिक जरा जोगाउँदै आएका छन्। यो चलचित्रले त्यही सामूहिक प्रयासलाई सिनेमाई रूपमा सम्मान गरेको छ।
चलचित्रका निर्देशक मित्र प्रधान (नर)का अनुसार यो फिल्म भाषा, पहिचान र विस्थापित समुदायको भावनात्मक यात्रालाई सम्मान गर्ने सिर्जनात्मक प्रयास हो।
उल्लेखनीय कुरा के छ भने यो चलचित्रलाई नेपालीहरूभन्दा अन्य भाषीहरूले बढी चासोका साथ हेरिरहेका छन्, जुन तथ्यले नेपाली सिनेमाको वैश्विक सम्भावनाका साथसाथै आफ्नै समुदायमा भाषिक जागरणको खाँचोलाई पनि उजागर गर्छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.