काठमाडौं – सन् १९९० मे १७ मा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले समलैङ्गिकता तथा यौनिक विविधतालाई मानसिक रोगको सूचीबाट औपचारिक रूपमा हटाएको ऐतिहासिक निर्णयको स्मरणमा विश्वभर मे १७ लाई “यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकमाथि हुने घृणाविरुद्धको अन्तर्राष्ट्रिय दिवस” का रूपमा मनाइँदै आएको छ। नेपालमा पनि सन् २००४ यता विभिन्न कार्यक्रम, अभियान तथा जनचेतनामूलक गतिविधिमार्फत यो दिवस मनाउने गरिएको छ।
तर नेपालमा तेस्रोलिङ्गी तथा समलैङ्गिक नागरिकहरू अझै खुला रूपमा आफ्नो पहिचान प्रकट गर्न सहज वातावरणबाट वञ्चित छन्। सामाजिक बहिष्कार, पारिवारिक उपेक्षा, कानुनी अन्यौलता र सरकारी उदासीनताका कारण समुदायले समान अधिकार र सम्मानका साथ जीवन यापन गर्न नसकेको अभियन्ताहरू बताउँछन्।
उनीहरूका अनुसार “हामी नेपाली नागरिक हौँ, यही राष्ट्रका सन्तान हौँ। तर हाम्रो अस्तित्वलाई अझै पनि दातृ निकायको भरमा धकेल्ने प्रवृत्ति कायमै छ।” यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूमाथि हुने विभेद तथा हिंसालाई आपराधिक संहितामा स्पष्ट रूपमा “घृणा अपराध” का रूपमा परिभाषित गर्न अभियन्ताहरूको माग छ। यस्ता अपराधलाई राज्यविरुद्धको गम्भीर अपराध मानी राज्य आफैँले मुद्दा दायर गर्ने तथा कडा सजाय सुनिश्चित गर्ने कानुनी व्यवस्था गर्नुपर्ने माग लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले गरेको छ।
नेपालमा संविधान सभा सदस्य सुनिलबाबु पन्तको नेतृत्वमा सन् २००४ देखि यस दिवसलाई चेतनामूलक गतिविधि, कार्यक्रम र नीति बहसका माध्यमबाट मनाउने गरिएको छ। दिवसको अवसरमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायकी अभियन्ता बाबु दुमि राईले आफ्नो विगतदेखि वर्तमानसम्मको सङ्घर्ष, पीडा, आत्मस्वीकार र सामाजिक यात्रालाई स्मरण गरेकी छन्।
बाबु दुमि राई बाल्यकालमा मोटो, खाइलाग्दो, रातो–रातो गाला भएकी, हँसिलो अनुहारकी थिइन्। मावलीतर्फका मावली हजुर आमाले तीन जना छोरीपछि बल्ल नाति जन्मिएको भन्दै मायाले उनको नाम “भोटे” राखिदिएका थिए। उनलाई मावली हजुरआमाले “भोटे” भनेर बोलाएको निकै मन पर्थ्यो। तर अरूले “भोटे” भनेर बोलाएको भने पटक्कै मन पर्दैनथ्यो।
“नभन मलाई भोटे, मेरो मुवाको मात्रै हो म भोटे,” भनेर उनी प्रतिवाद गर्थिन्।
उनी आज पनि सम्झिन्छिन् – सिमसिमे साउनको अन्तिमतिर गहिरो बारीमा कोदो रोप्ने काम भइरहेको थियो। आफ्ना दिदीहरू र गाउँका केही महिलासँग उनी पनि खेतमै थिइन्। त्यो शनिवारको दिन थियो। मौसम अँध्यारो–अँध्यारो थियो।
एक्कासि माथिल्लो डाँडाबाट कसैले ठूलो स्वरमा “भोटे छक्का… छक्का…” भनेर करायो।
पहिलो पटक त्यस्तो शब्द सुन्दा उनले अरू कसैलाई भनेर बोलाएको होला भन्ने ठानिन्। तर आवाज रोकिएन। अझ चर्को स्वरमा दोहोरिन थाल्यो।
“म झसङ्ग भएँ। के भनिरहेको छ? किन भनिरहेको छ? केही ठम्याउन सकिनँ,” उनी सम्झिन्छिन्।
दिदीहरू र खेतमा आएका महिलाहरू पनि केहीबेर मौन भए। उनी नसुनेझैँ गर्दै कोदालो चलाइरहिन्। तर त्यो शब्दको प्रहार त्यत्तिमै रोकिएन। फेरि नजिकै आएर कानैमा ठोक्किने गरी आवाज आयो – “ओइ, भोटे छक्का !”
पछि फर्केर हेर्दा आफ्नै कक्षाका साथी क्षेत्री रहेछन्।
“म झन् झस्किएँ। के भन्ने, केही थाहा भएन। केही समयपछि ‘के भनिस् अरे?’ भनेर सोधेकी थिएँ,” उनी भन्छिन्।
सायद दिदीहरू सँगै भएकाले ती साथीले थप आक्रमण गरेनन्। तर “छक्का” शब्द भने कानभरि गुन्जिरह्यो।
“हप्ता–दश दिनसम्म पढाइमा ध्यान गएन। कहिले स्कुल सकिएला र जङ्गलमा गएर एक्लै भेडा चराउँदै शान्त बसौँला जस्तो मात्रै लाग्थ्यो,” उनी सुनाउँछिन्।
जङ्गलको सुनसानमा कसैको विभेद सहनु पर्दैनथ्यो। तर जीवनसँग भाग्ने अर्को उपाय पनि थिएन।
“कि आत्महत्या, कि पढाइ सुधार्ने,” भन्ने द्वन्द्वभित्र उनी गुज्रिइन्।
एक रात उनले आत्महत्यासम्म सोचिन्।
“तर आमाको अनुहार सम्झिएँ। दिदीहरू विवाह गरेर जानुहुन्छ। बुढेसकालमा आमाको साथमा को बस्ने? आमाले हामी सन्तानकै लागि आफ्नो जिन्दगी त्याग गरेर बस्नुभएको छ,” उनी भन्छिन्।
त्यही सोचले उनलाई फेरि उठायो।
“राति १ बजे उठेर बत्ती बालेँ। जानी–नजानी पढ्नै पर्छ भनेर किताब समाएँ,” उनी सम्झिन्छिन्।
त्यसपछि उनले विद्यालयका हरेक कार्यक्रममा भाग लिन थालिन्। बिस्तारै डर हराउँदै गयो। आत्मबल बढ्दै गयो। पढाइमा सुधार हुन थालेपछि विभेदको अनुभूति पनि केही कम हुँदै गयो।
उनी अर्को घटना पनि सम्झिन्छिन्।
त्यतिबेला विद्यालयमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीले मात्रै हाजिरीजवाफजस्ता कार्यक्रममा भाग लिन पाउँथे। संयोगवश प्रथम हुने विद्यार्थी बिरामी भएर काठमाडौं आएपछि उनको समूहको नेतृत्व गर्ने अवसर बाबु दुमिलाई मिल्यो।
त्यसपछि उनले एसइई दिएर काठमाडौँको यात्रा तय गरिन्।
“मैले काठमाडौं आउँदा केही बोकेर आएको थिएँ भने, त्यो केवल सपना र आफूभित्रको इख थियो,” उनी भन्छिन्।
“ममाथि भएका व्यवहार गलत थिए भन्ने प्रमाणित गर्नु थियो।”
काठमाडौं आएपछि उनी बिस्तारै सामाजिक कामतर्फ जोडिइन्। सामाजिक अनुसन्धान, स्वयंसेवा र समुदायसँग सम्बन्धित अध्ययनमा सहभागी हुन थालिन्।
त्यसपछि मात्रै उनले आफू पनि यही समुदायको सदस्य रहेको महसुस गरिन्।
“म गलत रहेछु भन्ने होइन, समाजले बनाएको परिभाषा गलत रहेछ भन्ने महसुस भयो,” उनी भन्छिन्।
सामाजिक सञ्जालमा खुलेर आउने कि नआउने भन्ने दोधारमा रहँदा उनलाई बाल्यकालका ती शब्दहरू फेरि सम्झना भए- “छक्का”, “हिजडा”।
तर त्यही अपमानले उनलाई थप साहस दियो।
अहिले उनी सात–आठ वर्षदेखि निरन्तर समुदायको हक अधिकारका लागि काम गर्दै आएकी छन्। विशेषगरी घर, परिवार र समाजमा खुल्न नसकेका व्यक्तिहरूलाई मानसिक तथा भावनात्मक स्वास्थ्यसम्बन्धी परामर्श दिने काममा उनी सक्रिय छिन्।
उनी अहिले नेपालको पहिलो खुला समलिङ्गी संविधानसभा सदस्य तथा एसियाकै पहिलो खुला समलिङ्गी सांसद सुनिल बाबु पन्तको टिमसँग आबद्ध हुँदै मायाको पहिचान नेपालमा बागमती प्रदेश लिडरका रूपमा कार्यरत छिन्।
उनी आफ्नो कामप्रतिको समर्पणकै कारण विभिन्न अन्तर्राष्ट्रिय परियोजनामा “बेस्ट स्टाफ अफ द इयर” समेत बन्न सफल भएकी थिइन्।
उनले ५०–६० जनाभन्दा धेरै एचआइभी तथा यौन रोगको जोखिममा रहेका व्यक्तिहरूलाई परीक्षण र उपचारसम्म पहुँच पुर्याएकी छन्।
“घरपरिवारले थाहा पाउला, साथीभाइले थाहा पाउलान् भन्ने डरले औषधि खान डराउनेहरूलाई दिन–रात नभनी परामर्श गरेकी छु,” उनी भन्छिन्।
उनका अनुसार ५००–६०० जनाभन्दा धेरै व्यक्तिलाई स्वास्थ्य परीक्षण तथा उपचार सेवासम्म पुर्याउन सहकार्य गरिसकेकी छन्।
“परियोजना बन्द भएपछि पनि आर्थिक तथा सामाजिक कारणले उपचार गर्न नसकेकाहरूलाई अहिलेसम्म अस्पताल र सम्बन्धित संस्थासँग समन्वय गरेर सहयोग गरिरहेकी छु,” उनले भनिन्।
“यो मेरो लागि पैसाको कामभन्दा पनि धर्म र मानवताको काम हो।”
हाल उनी मानवअधिकार, एचआइभी तथा यौन रोग रोकथाम, मानसिक तथा भावनात्मक स्वास्थ्य परामर्श, र राजनीतिक समान समावेशिताका मुद्दामा सक्रिय रूपमा काम गरिरहेकी छन्। साथै समाजशास्त्रमा स्नातकोत्तर अध्ययन पनि गरिरहेकी छन्।
“मलाई आफूमाथि गर्व छ,” उनी भन्छिन्।
“मैले आफूलाई गर्वका साथ स्विकार्न सकेँ। परिवारलाई खुसी दिन सकेँ। आफ्नो सिद्धान्त बनाउन सकेँ। हजारौँ समुदायका व्यक्तिलाई बाटो देखाउन, सहयोग गर्न र एउटा उदाहरण बन्न सकेँ।”
उनी भन्छिन्, आफूले भोगेका विभेद, शोषण र अपमान अमानवीय थिए। तर त्यही अनुभवले आफूलाई अझ बलियो बनाएको छ।
“मलाई विभेद गर्ने ती साथीहरू, केही शिक्षकहरू र समाजका ती मानिसहरू पनि अहिले मेरो सिकाइका पात्र बनेका छन्,” उनी भन्छिन्।
तर आज पनि उनलाई एउटा डरले सताइरहेको छ – अझै कतिले त्यही विभेद सहिरहेका होलान् ?
“समुदायका धेरै व्यक्तिहरू अझै डर, अपमान र बहिष्करणभित्र बाँचिरहेका छन्,” उनी भन्छिन्।
त्यसैले उनी अहिले पनि समुदायसँग निरन्तर भेटघाट गर्दै अधिकारका लागि आवाज उठाउन प्रोत्साहित गरिरहेकी छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.