काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमान अनुसार चालु वर्ष आर्थिक वृद्धि ३.८५ प्रतिशत रहने बैङ्कले समीक्षामा उल्लेख गरेको छ।
विप्रेषण आयको बढोत्तरीले चालु खाता र शोधनान्तर बचत उल्लेख्य रहेको छ। विदेशी विनिमय सञ्चिति यथेष्ट रहेको राष्ट्र बैङ्कले जनाएको छ।
पश्चिम एसियामा जारी युद्धका कारण पेट्रोलियम पदार्थ, रासायनिक मल र औद्योगिक कच्चा पदार्थलगायतको आयातमा देखिएको अवरोध तथा मूल्य वृद्धिले अर्थतन्त्र प्रभावित हुन थालेको मौद्रिक नीति त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैङ्कले खुलाएको छ।
२०८२ फागुन १६ देखि सुरु भएको पश्चिम एसियाको तनावले विश्व आपूर्ति शृङ्खला प्रभावित भएको छ। यस अवधिमा पेट्रोलियम पूर्वाधारमा भएको क्षति एवम् स्ट्रेट अफ होर्मुजमा देखिएको अवरोधका कारण कच्चा तेलको मूल्य औसतमा ५० प्रतिशतले वृद्धि भएको छ।
समग्रमा आयातित वस्तुहरूको मूल्य बढेका कारण विश्व मुद्रास्फीति र आर्थिक वृद्धि प्रभावित भएको छ। सन् २०२५ मा विश्व मुद्रास्फीति ४.१ प्रतिशत रहेकोमा सन् २०२६ मा ४.४ प्रतिशत पुग्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ।
विश्व बजारमा २० प्रतिशतभन्दा बढी पेट्रोलियम पदार्थको हिस्सा रहेको यस क्षेत्रको तनावले विश्व अर्थतन्त्र अनिश्चिततातर्फ धकेलिएको कोषको विश्लेषण छ। सन् २०२६ मा विश्वको आर्थिक वृद्धि ३.४ प्रतिशत कायम हुने प्रक्षेपण रहेकोमा युद्धका कारण ३.१ प्रतिशत रहने प्रक्षेपण छ।
पश्चिम एसियाको तनाव तत्काल समाधान नभए विश्वले आर्थिक मन्दी र उच्च मुद्रास्फीतिको सामना गर्नुपर्ने कोषको विश्लेषण छ।
सन् २०२६ मा विकसित र उदीयमान तथा विकासोन्मुख मुलुकहरूको आर्थिक वृद्धि क्रमशः १.८ प्रतिशत र ३.९ प्रतिशत कायम हुने प्रक्षेपण छ। छिमेकी मुलुकहरूमध्ये भारतको आर्थिक वृद्धि ६.५ प्रतिशत र चीनको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने प्रक्षेपण छ।
भूराजनीतिक तनाव र इन्धनको मूल्य वृद्धिसँगै विश्व मुद्रास्फीतिमा चाप पर्दै गएको राष्ट्र बैङ्कले उल्लेख गरेको छ। तर पनि हाललाई विश्वका प्रमुख केन्द्रीय बैङ्कहरूले नीतिगत दर परिवर्तन गरेका छैनन्, यथावत् कायम राखेका छन्।
वित्तीय प्रणालीमा न्यून ब्याजदर सहित लगानीयोग्य तरलता पर्याप्त रहेको राष्ट्र बैङ्कले जनाएको छ। बैङ्कका समष्टिगत मागमा भने अझै अपेक्षित सुधार आउन सकेको छैन। २०८२ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट नयाँ सरकार गठन भई शासकीय एवम् आर्थिक सुधारका कार्यहरू थालनी गरिएबाट लगानी अभिवृद्धि भई समष्टिगत माग र आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने अपेक्षा रहेको बैङ्कले उल्लेख गरेको छ।
राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको तेस्रो त्रयमाससम्ममा भएको मौद्रिक नीतिको कार्यान्वयन स्थिति, समष्टिगत आर्थिक तथा वित्तीय स्थिति र परिदृश्यका आधारमा आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरिएको जानकारी दिएको छ।
२०८२ चैतमा वार्षिक विन्दुगत मुद्रास्फीति ४.४७ प्रतिशत रहेको छ। २०८१ चैतमा यस्तो मुद्रास्फीति ३.३९ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ४.०१ प्रतिशत एवम् गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७२ प्रतिशत रहेको छ।
२०८२ चैतमा थोक मुद्रास्फीति ३.९२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.२० प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रयमासमा वार्षिक विन्दुगत तलब तथा ज्याला सूचकाङ्क २.६० प्रतिशतले बढेकोमा २०८२/८३ को सोही अवधिमा ६.३० प्रतिशतले बढेको छ।
आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा कुल वस्तु निर्यात १८.५ प्रतिशतले वृद्धि भई रु.२ खर्ब २२ अर्ब ९४ करोड पुगेको छ। यस अवधिमा वस्तु आयात १३.८ प्रतिशतले वृद्धि भई रु.१४ खर्ब ९० अर्ब ५० करोड पुगेको छ।
समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १३.० प्रतिशतले वृद्धि भई रु.१२ खर्ब ६७ अर्ब ५६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६.४ प्रतिशतले वृद्धि भएको थियो।
आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशत (अमेरिकी डलरमा ३१.९ प्रतिशत) ले वृद्धि भई रु.१६ खर्ब ५९ अर्ब ४१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह १०.२ प्रतिशतले वृद्धि भएको थियो।
समीक्षा अवधिमा चालु खाता रु.६ खर्ब १८ अर्ब ६८ करोडले र शोधनान्तर रु.७ खर्ब ३१ अर्ब १६ करोडले बचतमा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु.२ खर्ब २२ अर्ब ६७ करोड र शोधनान्तर रु.३ खर्ब ४६ अर्ब २३ करोडले बचतमा रहेको थियो।
राष्ट्र बैङ्कका अनुसार कुल विदेशी विनिमय सञ्चिति २०८२ चैतमा रु.३४ खर्ब ९४ अर्ब ७३ करोड (अमेरिकी डलरमा २३ अर्ब ५५ करोड) पुगेको छ।
आर्थिक वर्ष २०८२/८३ को नौ महिनासम्ममा चालु खर्च रु.७ खर्ब ४७ अर्ब ५२ करोड, पुँजीगत खर्च रु.९६ अर्ब २० करोड र वित्तीय व्यवस्था खर्च रु.२ खर्ब १६ अर्ब २३ करोड गरी नेपाल सरकारको कुल खर्च रु.१० खर्ब ५९ अर्ब ९५ करोड भएको छ।
सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.८ खर्ब ८६ अर्ब २८ करोड भएको छ। समीक्षा अवधिमा सरकारी खर्च गत वर्षको सोही अवधिको तुलनामा ६.२ प्रतिशतले र राजस्व परिचालन ६.६ प्रतिशतले वृद्धि भएको छ।
आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा नेपाल सरकारले रु.२ खर्ब ८३ अर्ब ६७ करोड आन्तरिक र रु.६४ अर्ब ४९ करोड बाह्य गरी कुल रु.३ खर्ब ४८ अर्ब १६ करोड सार्वजनिक ऋण परिचालन गरेको छ।
यस अवधिमा रु.१ खर्ब ६३ अर्ब ७८ करोड आन्तरिक ऋण र रु.४० अर्ब ३९ करोड बाह्य ऋण गरी रु.२ खर्ब ४ अर्ब १७ करोड सार्वजनिक ऋण भुक्तानी भएको समेतलाई गणना गर्दा आन्तरिक र बाह्य गरी खुद रु.१ खर्ब ४३ अर्ब ९९ करोड सार्वजनिक ऋण परिचालन भएको राष्ट्र बैङ्कले जनाएको छ।
आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा विस्तृत मुद्रा प्रदाय ८.१ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा प्रदाय ६.२ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन ८.५ प्रतिशतले वृद्धि भई रु.७८ खर्ब ७९ अर्ब ५४ करोड पुगेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले वृद्धि भई रु.५८ खर्ब ९ अर्ब ६६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.१ प्रतिशतले वृद्धि भएको थियो।
२०८२ चैत महिनामा निक्षेपको भारित औसत ब्याजदर वाणिज्य बैङ्कको ३.४० प्रतिशत, विकास बैङ्कको ३.७७ प्रतिशत र वित्त कम्पनीको ४.७४ प्रतिशत कायम रहेको छ भने कर्जाको भारित औसत ब्याजदर वाणिज्य बैङ्कको ६.७७ प्रतिशत, विकास बैङ्कको ७.९६ प्रतिशत र वित्त कम्पनीको ९.२६ प्रतिशत कायम रहेको छ।
राष्ट्र बैङ्कमा खुला बजार कारोबारका विभिन्न उपकरणमार्फत बैङ्किङ प्रणालीको तरलता प्रशोचनबाट २०८३ वैशाख मसान्तमा रु.१० खर्ब २८ अर्ब ६० करोड मौज्दात रहेको छ। समीक्षा अवधिमा बैङ्कले वाणिज्य बैङ्कहरूबाट अमेरिकी डलर ५ अर्ब २७ करोड खुद खरिद गरी रु.७ खर्ब ५७ अर्ब ७७ करोड तरलता प्रवाह गरेको छ।
अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर खुद खरिदमार्फत रु.४ खर्ब ८४ अर्ब ७१ करोड तरलता प्रवाह भएको थियो।
आर्थिक वर्ष २०८२/८३ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.० प्रतिशतभित्र सीमित राख्ने लक्ष्य रहेकोमा चालु आर्थिक वर्षको पहिलो नौ महिनामा औसत मुद्रास्फीति २.३९ प्रतिशत रहेको छ।
कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा २०८२ चैतमा कायम सञ्चितिबाट १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त राष्ट्र बैङ्कले जनाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.