काठमाडौं – नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे पक्राउ परेका छन्। उनी मोबाइल फोन बन्द गरी भाग्दै गरेको अवस्थामा पक्राउ परेका हुन्।
उनीमाथि ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० वैशाख २ गते आधारभूत टेलिफोन सेवा सञ्चालनको अनुमतिपत्र लिई सञ्चालनमा आएको ‘स्मार्ट टेलिकम प्रालि’ले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेपछि २०८० वैशाख ३ गतेदेखि अनुमतिपत्र स्वतः रद्द भएको थियो।
दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ अनुसार स्मार्ट टेलिकमका सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, प्रणाली र सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो।
प्रहरीका अनुसार नेपाल सरकारको सम्पत्तिमा बेइमानीपूर्वक हक टुटाउने उद्देश्यले काम गरेको आरोपमा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघात कसूरमा अनुसन्धान अघि बढाइएको हो।
पाण्डे लोन रिकभरी कमिटीको अध्यक्षको हैसियतमा लिलामी प्रक्रियामा संलग्न रहेको प्रहरीले जनाएको छ। उनी काठमाडौं महानगरपालिका–१८ रक्तकाली स्थायी ठेगाना भएका हुन्। हाल ललितपुर महानगरपालिका–५ मानभवनमा बस्दै आएका छन्।
मोबाइल फोन स्विच अफ गरी भाग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको टोलीको सहयोगमा उनलाई सिन्धुलीको कमलामाई नगरपालिका–६ बसपार्कस्थित मदन भण्डारी राजमार्गमा सवारी जाँचका क्रममा वैशाख २९ गते राति करिब ८ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस घटनामा नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले २०८२ असोज ३ गते प्रकाशित गरेको लिलामी सूचनामाथि समेत अनुसन्धान भइरहेको छ।
बैङ्कले लिलामी सूचनाको बुँदा नम्बर २ मा दूरसञ्चार सेवासँग सम्बन्धित उपकरण जडान भएका घरधनीलाई स्मार्टसेलले बुझाउनुपर्ने बाँकी घरबहाल र विद्युत् महसुल रकमसमेत ४० करोड रुपैयाँ एकमुष्ट कबोल गरी बोलपत्र पेस गर्नुपर्ने उल्लेख गरेको थियो।
प्रहरीका अनुसार बैङ्कले उक्त रकम लिए पनि हालसम्म घरधनीलाई घरबहाल तथा विद्युत् महसुल नतिरेको आरोप छ। सोही विषयमा समेत ठगी तथा आपराधिक विश्वासघात कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.