काठमाडौं – भूटानी शरणार्थी शिविर बेलडाँगीको आवाज बोकेर काठमाडौं आएका विष्णुभक्त चौहानले राज्यविहीन भूटानी शरणार्थीहरूको न्याय, पहिचान र नागरिकताको माग गर्दै सरकार तथा सत्तारुढ दलसमक्ष अपिल गरेका छन्।
वैशाख ३० गते बिहान साढे ८ बजेतिर चौहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय घण्टीघर पुगेका थिए। उनी रास्वपाका सभापति रवि लामिछानेलाई भेटेरै आफ्ना कुरा राख्न दोस्रो पटक पार्टी कार्यालय पुगेका हुन्।
चौहानका अनुसार ९ बजे सुरु हुने भनिएको बैठकका लागि लामिछाने उनी पुग्नुअघि नै बैठक कक्षमा प्रवेश गरिसकेका थिए। “बैठक सकेर निस्कनुहोला भनेर कुरेर बसेँ,” उनले भने।
वैशाख ३० गते बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको थियो। बैठकपछि बाहिर निस्किएका सभापति लामिछानेलाई चौहानले भूटानी शरणार्थी शिविर बेलडाँगीको आवाज बोकेर आएको जानकारी गराएका थिए।
चौहानले अंग्रेजीमा हातैले लेखेको हस्तलिखित अपिलपत्र खाममा राखेर लामिछानेलाई बुझाएका थिए। उनका अनुसार लामिछानेले उक्त पत्र पढेर प्रतिक्रिया दिने बताएका छन्। चौहानले नेपालमा राज्यविहीन बनेर बसिरहेका भूटानी शरणार्थीहरूको न्याय र मान्यताका लागि तत्काल पहल गर्न आग्रह गर्दै अपिलपत्र बुझाएको जानकारी दिएका छन्।
अपिलपत्रमा नेपाली भूमिमा जन्मेका र हुर्केका बालबालिकाहरू पहिचान, राष्ट्रियता र “साँचो अर्थमा आफ्नो भन्न मिल्ने ठाउँ” बिना नै बाँच्न बाध्य रहेको उल्लेख गरिएको छ।
“तीन दशकभन्दा बढी समयदेखि हामी शिविरको छाप्रोमुनि बसिरहेका छौँ,” चौहानले अपिलपत्रमा उल्लेख गरेका छन्। “हामी नेपाली रगतका हौँ। हाम्रा हजुरबा–हजुरआमा नेपालबाट भूटान सरेका थिए, तर आज हामीसँग आफ्नो भन्नका लागि कुनै भूमि छैन, र दाबी गर्न कुनै पहिचान छैन,” उनले भनेका छन्।
चौहानका अनुसार एक लाखभन्दा बढी भूटानी शरणार्थीहरू तेस्रो मुलुक पुनर्वास कार्यक्रमअन्तर्गत विभिन्न देशमा पुनर्वास भइसकेका छन्। तर अझै करिब ६ हजार ५ सय राज्यविहीन अवस्थामै रहेको उनले बताएका छन्।
नेपालमा जन्मिएका शरणार्थी बालबालिकाहरूलाई नागरिकता प्रदान गरी उनीहरूलाई सपना देख्ने, अध्ययन गर्ने, काम गर्ने र समाजमा योगदान गर्ने कानुनी अधिकार दिनुपर्ने माग उनले निरन्तर उठाउँदै आएका छन्।
माग सम्बोधन नभएसम्म काठमाडौं नछोड्ने अडानसमेत चौहानले लिएका छन्। नेपालप्रति वफादार रहेका र नेपालबाहेक अर्को कुनै घर नचिनेका ६ हजार ५ सयको समस्या समाधान गर्न उनले सरकार तथा सत्तारुढ दललाई अपिल गरेका छन्।
लामो समयदेखि जारी मानवीय सङ्कट समाधान हुने विश्वास व्यक्त गर्दै चौहानले राज्यविहीन बालबालिकाहरूको भविष्यप्रति संवेदनशील बन्न आग्रह गरेका छन्। “हजारौँ राज्यविहीन शरणार्थी बालबालिकाहरूको मौन पुकार सुन्नुहोस्, र अर्को पुस्ताले आफ्नो भविष्य गुमाउनु अघि दयालु कदम चाल्नुहोस्,” उनले अपिल गरेका छन्।
तेस्रोदेश पुनर्वासपछि एक्लिएका शरणार्थी : वालेन सरकारसँग न्यायको याचना
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.