अमेरिका – अमेरिकाको कोलोराडो राज्य यस वर्ष मे महिनाको अन्तिम साता नेपाली साहित्यको विश्वव्यापी आवाजको साक्षी बन्दैछ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अनेसासले आयोजना गर्न लागेको नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन मे २२ देखि २५ (जेठ ८–११) सम्म कोलोराडोको वेष्टमिनिष्टरस्थित होटल ड्रुरी इन प्लाजामा सञ्चालन हुँदैछ।
विश्वका करिब चालीस मुलुकबाट दुई सयभन्दा बढी साहित्यकारहरू एउटै छाताले ढाक्ने यो सम्मेलन केवल एउटा जमघट मात्र होइन, यो नेपाली भाषा र साहित्यको अस्तित्वको घोषणा हो।
शनिवार कोलोराडोमा आयोजित पत्रकार सम्मेलनमा अनेसासका केन्द्रीय समिति अध्यक्ष सर्वज्ञ वाग्लेले क्यालिफोर्नियाबाट जुम मार्फत सम्बोधन गर्दै भने, ‘सबै उमेर समूहका स्रष्टालाई एउटै थलोमा राखेर नेपाली भाषा र साहित्यको श्रीवृद्धिका लागि चिन्तन र विमर्श गर्न दुई दुई वर्षमा यो सम्मेलन आयोजना गर्दै आएका छौँ। यो त्यसै सोचको निरन्तरता हो।’
सन् २००९ मा सुरु भएको यो सम्मेलनको यात्रा लामो छ। आठौँ शृङ्खला दुई वर्षअघि युरोपको पोर्चुगलमा सम्पन्न भएको थियो। अब नवौँ पटक, कोलोराडोको आकाशमुनि।
चार दिनको सम्मेलनमा तीन दिन साहित्यका विविध विषयमाथि गहन सत्र र बहस हुनेछन्। नेपाल र विदेशका विभिन्न भेग र भाषाका स्रष्टाहरूका बीच नेपाली र अंग्रेजी दुवै भाषाका लेखकहरूको संवाद हुने कार्यक्रम छ। अन्तिम दिन सहभागीहरूलाई कोलोराडोका पर्यटकीय र ऐतिहासिक स्थलको भ्रमण गराइनेछ।
सम्मेलनमा झन्डै पचास हजार डलर खर्च हुने अनुमान गरिएको छ। अनेसास बोर्ड अफ ट्रष्टिका सभापति पदम विश्वकर्माका अनुसार आवश्यक बजेट विश्वभरका स्रष्टाहरू र कोलोराडोस्थित नेपाली समुदायका संघसंस्थाहरूको सहयोगबाट जुटाइने छ।
सम्मेलनको संयोजन गरिरहेको अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीले मूल समितिसँगै नौवटा उपसमिति गठन गरिसकिएको जानकारी दिए। सम्मेलनको अवसरमा विभिन्न स्रष्टाको कृतित्व र व्यक्तित्वलाई समेटेको विशेष स्मारिका पनि प्रकाशन गरिने छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.