अर्धनग्न प्रदर्शन गर्ने ३ जना तेस्रोलिंगी पक्राउ, आन्दोलनभित्रकै विखण्डनबारे पन्तको चिन्ता

अर्धनग्न प्रदर्शन गर्ने ३ जना तेस्रोलिंगी पक्राउ, आन्दोलनभित्रकै विखण्डनबारे पन्तको चिन्ता

177
SHARES

काठमाडौं – प्रहरीले सार्वजनिक स्थानमा सामाजिक मर्यादा विपरीतको नग्नता प्रदर्शन गर्ने ३ जना तेस्रोलिंगीलाई नियन्त्रणमा लिएको छ। कलैयास्थित जिल्ला प्रहरी कार्यालय बारा अगाडि तेस्रोलिंगी पक्राउको विरोधमा उत्रिएका तेस्रो लिङ्गी समुदायका केही व्यक्तिले कपडा खोलेर नग्न प्रदर्शन गरेपछि प्रहरीले लाठीचार्ज गरेर ३ जनालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय बाराले अर्धनग्न प्रदर्शन गरेको आरोपमा पक्राउ परेका उनीहरूमाथि अनुसन्धान सुरु भएको बताएको छ। बाराको कलैयामा तेस्रोलिंगी समुदायबीच विवाद भएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको थियो। सोही पक्राउको विरोधमा जिल्ला प्रहरी कार्यालय बारा अगाडि उनीहरूले प्रदर्शन गरेका हुन्।

संवैधानिक अधिकार प्राप्त गर्दै संसद्मा प्रतिनिधित्वसमेत गरिसकेको समुदायका व्यक्तिहरूबाट यस्तो गतिविधि हुनु गैरकानुनी भएको टिप्पणी पहिलो संविधान सभाका समलिङ्गी सभासद् तथा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले गरेका छन्।

पन्तले प्रहरी कार्यालयअगाडि भएको अर्धनग्न प्रदर्शनको भिडियो सामाजिक सञ्जालमार्फत सेयर गर्दै कसैलाई “चेली” बनाएर जबरजस्ती माग्न लगाउने र अरूलाई निषेधित हुने गरी क्षेत्र निर्धारण गर्ने काम गैरकानुनी भएको बताएका छन्।

उनले अहिले समुदायभित्र देखिएको सबैभन्दा ठूलो सङ्कट बाहिरी विभेद मात्र नभई भित्री विखण्डन, असुरक्षा र पहिचानको द्वन्द्वसमेत भएको उल्लेख गरेका छन्। उनका अनुसार समुदायभित्रै “यो मेरो बधाई माग्ने र धन्धा गर्ने क्षेत्र हो, तेरो चेली यहाँ आउन पाउँदैनन्” भन्दै आफ्नै समुदायका व्यक्तिमाथि कुटपिट र बहिष्कार गर्ने प्रवृत्ति बढ्दो छ।

पन्तका अनुसार केही व्यक्तिहरू आफूलाई तेस्रोलिंगी नभई केवल महिला भनेर राज्यका सुविधा लिने, तर अर्कोतर्फ एलजीबीटीआई आन्दोलनको प्रतिनिधित्व र दातृ निकायबाट आउने स्रोत पनि आफैँ केन्द्रित गर्ने प्रवृत्तिमा लागेका छन्। यसको परिणामस्वरूप साझा राजनीतिक दिशा, पहिचानको स्पष्टता तथा समुदायभित्रको विश्वास र एकता कमजोर बन्दै गएको उनको भनाइ छ।

उनले विदेशी दाताले स्वीकार गर्ने वा “फन्डेबल” ठान्ने पहिचानका आधारमा आफ्नो परिचय निर्माण गर्ने प्रवृत्ति बढ्दै गएको टिप्पणीसमेत गरेका छन्। आफूलाई तेस्रोलिंगी नभई केवल महिला भन्नु, तेस्रोलिंगी पहिचान बोकेकाहरूलाई “पुरानो”, “कम सभ्य” वा “अस्वीकार्य” ठान्नु, तथा हर्मोन प्रयोग वा सेक्स चेन्ज गरेका व्यक्तिहरूले आफूलाई “सक्कली” र अरूलाई “नक्कली” भन्नु आन्दोलनभित्रकै गम्भीर असहिष्णुता भएको पन्तले बताएका छन्।

उनले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायभित्र समलिङ्गी महिला, समलिङ्गी पुरुष, तेस्रोलिंगी पुरुष तथा अन्तर्लिङ्गी व्यक्तिहरू रहेको उल्लेख गर्दै उनीहरूका मुद्दा भने ओझेलमा परेको बताए। उनका अनुसार “तेस्रोलिंगी र पारलिंगी महिलाले मात्र न्यारेटिभ बनाउने” प्रवृत्तिका कारण आन्दोलन एकपक्षीय रूपमा अघि बढेको छ।

पन्तले आन्दोलनलाई केवल हर्मोन, सेक्स चेन्ज, बधाई माग्ने वा यौन पेसाको सवालमा सीमित गर्न नहुने बताएका छन्। विज्ञ र अधिकारकर्मीहरूले समुदायभित्र अन्य धेरै मुद्दाहरू पनि रहेको बुझ्नुपर्ने उनको भनाइ छ।

नेपालको सामाजिक यथार्थ पश्चिमी समाजभन्दा फरक रहेको उल्लेख गर्दै पन्तले यहाँ लैङ्गिक विविधताको आफ्नै सांस्कृतिक, धार्मिक र सामाजिक इतिहास रहेको बताए। पश्चिमबाट आयातित पहिचानलाई मात्र वैध मानेर बाँकी पहिचानलाई मेटाउने प्रयासले अन्ततः समुदायलाई नै कमजोर बनाउने उनको धारणा छ।

उनले समाज र राज्य बिस्तारै सकारात्मक बन्दै गएको अवस्थामा समुदायभित्रै सङ्घर्ष, आरोप, “मेरो–तेरो क्षेत्र” नियन्त्रण र व्यक्तिगत स्वार्थमा अल्झिरहने हो भने आन्दोलनको नैतिक शक्ति क्षीण हुँदै जाने चेतावनी दिएका छन्। अधिकारको आन्दोलन व्यक्तिगत व्यवसाय, क्षेत्र नियन्त्रण वा विदेशी फन्डको प्रतिस्पर्धामा सीमित हुन नहुने उनले बताएका छन्।

पन्तले विविधता स्वाभाविक हुने उल्लेख गर्दै सबै लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूको अनुभव, भाषा, शरीर र जीवनयात्रा समान नहुने बताए। तर विविधताभित्र संवाद, सहअस्तित्व र साझा उद्देश्य हराउने हो भने आन्दोलन टुक्रिने उनको भनाइ छ।

उनले अहिले आवश्यक कुरा एकअर्कालाई “नक्कली”, “कम”, “पुरानो” वा “गलत” भनेर अस्वीकार गर्नु नभई नेपालजस्तो बहुल समाजमा सबै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबीच सम्मानजनक सहअस्तित्व, पारस्परिक सम्मान र साझा अधिकारको आधार निर्माण गर्नु भएको बताएका छन्।

समाचार शेयर गर्नुहोस्
177
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.