काठमाडौं – सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार शर्माले आफ्नो कार्ययोजना पेस गरेका छन्। संसदीय सुनुवाइ समितिलाई डा. शर्माले सोमबार कार्ययोजना पठाएका हुन्।
संसदीय सुनुवाइ समितिले कार्ययोजना प्राप्त भएको जनाएको छ। समितिका सचिव तुल बहादुर कँडेलले पहिचानसँग कुरा गर्दै कार्ययोजना प्राप्त भएको बताए। भोलि मङ्गलवार बिहान ८ बजे बस्ने समितिको बैठकमा सदस्यहरूलाई वितरण गरिने उनले जानकारी दिए।
संवैधानिक परिषद्को सिफारिसलाई लिएर न्यायपालिका र कार्यपालिकाबीच विवाद एवं खटपट चलिरहेका बेला डा. शर्माले समितिमा कार्ययोजना पेस गरेका हुन्। उनले पेस गरेको कार्ययोजना अध्ययनका लागि सदस्यहरूलाई उपलब्ध गराइने समितिका सचिव कँडेलले जानकारी दिए।
संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध १६ वटा उजुरी परेका छन्। समितिले शर्माविरुद्ध जेठ ४ गतेसम्म उजुरी दिन सकिने व्यवस्था गरेको थियो। वैशाख २६ गते संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध सार्वजनिक रूपमा उजुरी आह्वान गरेको थियो।
समितिले शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागे स्पष्ट आधार, प्रमाण र सबुतसहित १० दिनभित्र उजुरी दिन आह्वान गरेको थियो।
समितिका सचिव कँडेलका अनुसार प्राप्त उजुरी मङ्गलवार बस्ने बैठकमा पेस गरिनेछ। त्यसपछि उजुरीहरूको अध्ययन तथा प्रारम्भिक छलफल प्रक्रिया अघि बढाइने समितिको तयारी छ। उजुरीकर्ताहरूलाई समेत समितिमा बोलाएर छलफल गर्ने तयारी गरिएको छ। उजुरीमाथिको छलफल सकिएपछि प्रस्तावित प्रधानन्यायाधीशलाई समितिमा बोलाएर सुनुवाइ गरिने सचिव कँडेलले जानकारी दिए।
प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजनामाथि अध्ययन, उजुरीमाथिको छलफल तथा संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न भएपछि मात्रै नियुक्ति प्रक्रिया अघि बढ्नेछ। तर, वरिष्ठतम न्यायाधीशलाई छाडेर अर्थात् रोलक्रम मिचेर चौथो वरियताका डा। शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएपछि न्यायालयभित्र भने तरङ्ग पैदा भएको छ।
नेपालको न्यायपालिकाको इतिहासमा संवैधानिक परिषद्ले वरिष्ठता नाघेर पहिलो पटक सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज कुमार शर्माको नाम सिफारिस गरेको हो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.