विश्वमञ्चमा नेपाली लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको छलाङ : निलमले चुमिन् सगरमाथा, पुष्पा कान्समा चम्किइन्

विश्वमञ्चमा नेपाली लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको छलाङ : निलमले चुमिन् सगरमाथा, पुष्पा कान्समा चम्किइन्

111
SHARES

काठमाडौं – लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले दुई महत्त्वपूर्ण ऐतिहासिक उपलब्धि हात पारेका छन्। विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायकी निलम पौडेलले इतिहास रचेकी छन् भने लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायकी पुष्पा थिङ लामा अभिनीत फिल्म ‘एलिफेन्ट्स इन द फग’ ले विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा ‘जुरी प्राइज’ जितेको छ।

यी दुवै उपलब्धिलाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व, क्षमता र अन्तर्राष्ट्रिय पहिचानसँग जोडेर हेरिएको छ। एकातर्फ सगरमाथाको चुचुरोसम्मको यात्रा छ भने अर्कोतर्फ विश्वकै प्रतिष्ठित चलचित्र महोत्सवमध्ये एक कान्समा प्राप्त सम्मान छ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायबाट सगरमाथा सफलतापूर्वक आरोहण गर्ने निलम पहिलो बनेकी छन्। सगरमाथाको चुचुरोमा उभिएर पौडेलले यो उपलब्धि बहिष्कृत र अदृश्य महसुस गर्ने मानिसहरूलाई समर्पित गरेकी छन्।

उनले फेसबुकमा लेखेकी छन्, “कहिल्यै कल्पना गरेको थिइनँ कि नेपालकी ट्रान्स वुमन एक दिन सगरमाथाको चुचुरोमा उभिनेछिन्।”

यो आरोहणमा वर्षौँको मौनता, शङ्का, सङ्घर्ष र शक्ति रहेको उनले लेखेकी छन्। “आज म सगरमाथामा केवल आफ्नो लागि मात्र होइन, तर कहिल्यै नदेखिएको महसुस गर्ने हरेक ट्रान्स व्यक्तिको लागि उभिएको छु,” उनले लेखेकी छन्।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले सगरमाथा आरोहण गर्ने घोषणा भने १२ वर्षअघि पनि गरेका थिए। तर, आरोहण गरेका थिएनन्। २०७० साल चैतमा रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर तेस्रोलिंगी मनोज शाही मोनिकाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने घोषणा गरेकी थिइन्। उनले आरोहण शुल्क मिनाहा गर्नुपर्ने माग गरेकी थिइन्।

मोनिकाले आरोहण शुल्क मिनाहा पाइनन् र सगरमाथा आरोहण पनि गरिनन्। ठीक १२ वर्षपछि निलम पौडेलले सफलतापूर्वक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकी छन्।

नेपालको इतिहासमा सगरमाथाको सफल आरोहण गर्ने लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिका रूपमा निलमको नाम दर्ज भएको छ। सगरमाथा आरोहण गर्न सफल निलमले आफ्नो मात्र नभएर लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायकै शिर उँचो बनाएको भन्दै प्रशंसा पाइरहेकी छन्।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि अर्को खुसीको उपहार पुष्पा थिङ लामाले दिएकी छन्। उनले अभिनय गरेको चलचित्रले कान्समा जुरी अवार्ड हात पार्न सफल भएको छ। पुष्पाको सफलतामा समुदायले खुसी व्यक्त गरिरहेका छन्।

फिल्मले हात्तीको आक्रमणबाट आक्रान्त बस्तीमा बस्दै आएको परिवारको कथा बोलेको छ। यो परिवारले फिल्ममा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्छ, जहाँ समुदायकी सदस्य पुष्पा थिङ लामाले नै अभिनय गरेकी छन्।

फिल्मकी अभिनेत्री पुष्पाले अवार्ड जितेलगत्तै निर्देशक शाहलाई नेपालको राष्ट्रिय झन्डा ओढाइदिएकी थिइन्। फिल्ममा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूको मुख्य भूमिका छ।

जुरी अवार्ड पाएको ‘एलिफेन्ट्स इन द फग’का निर्देशक अविनाश विक्रम शाह, निर्माता अनुप पौडेल र कलाकार पुष्पालाई चलचित्र विकास बोर्डले २ लाख ५० हजार रुपैयाँ दिने निर्णय पनि गरेको छ।

यो फिल्मले ७९औँ कान्सको ‘अन सर्टेन रिगार्ड’तर्फको जुरी प्राइज जितेको हो। यो विधा मुख्य प्रतिस्पर्धापछिको महत्त्वपूर्ण विधा हो भने यही अवार्ड पनि ‘अन सर्टेन रिगार्ड’तर्फको दोस्रो उच्च उपलब्धि मानिन्छ।

सगरमाथाको चुचुरोदेखि कान्स फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय मञ्चसम्म प्राप्त यी दुई उपलब्धिले नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको उपस्थिति, योगदान र क्षमतालाई विश्वमञ्चमा थप स्थापित गरेको चर्चा हुन थालेको छ।

समाचार शेयर गर्नुहोस्
111
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.