राजनीतिक नेतृत्व निर्माणमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकको अग्रसरता

राजनीतिक नेतृत्व निर्माणमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकको अग्रसरता

229
SHARES

बुटवल – यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको कानुनी, सामाजिक तथा राजनीतिक अधिकारबारे एक दिने तालिम सम्पन्न भएको छ। शनिवार यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सदस्यहरूको ज्ञान, सीप र राजनीतिक नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बुटवलमा एकदिने सचेतना तालिम सम्पन्न भएको छ।

‘पहिचानदेखि नेतृत्वसम्म’ नारासहित आयोजित तालिममा समुदायका सदस्यहरूलाई संविधान तथा प्रचलित कानुनले प्रदान गरेका अधिकार, राजनीतिक सहभागिता, मानवअधिकार, सामाजिक समावेशीकरण तथा सेवा पहुँचका विषयमा जानकारी प्रदान गरिएको हो।

समावेशी मञ्च नेपालको आयोजनामा भएको तालिममा अधिवक्ता इन्दिरा आचार्यले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको कानुनी अधिकार, मौलिक हक तथा राजनीतिक सहभागिताको वर्तमान अवस्था बारे सहजीकरण गरेकी थिइन्।

त्यसैगरी समुदायका सदस्यहरूले भोगिरहेका सामाजिक, कानुनी तथा राजनीतिक चुनौतीहरूको पहिचान गर्दै समाधानका उपायबारे समूहगत छलफल समेत गरिएको थियो।

कार्यक्रममा समावेशी मञ्चका संस्थापक अध्यक्ष डिल्लु बुढा र कार्यकारी निर्देशक गङ्गा थापाले सहजीकरण गर्दै समुदायको सामाजिक अधिकार, सार्वजनिक सेवामा पहुँच, नेतृत्व विकास, पैरवी तथा नेटवर्किङका विषयमा प्रशिक्षण दिएका थिए। सहभागीहरूले आफ्ना अनुभव, अपेक्षा तथा चुनौतीहरू साझा गरेका थिए।

कार्यक्रमको अन्त्यमा आगामी कार्ययोजना निर्माण, सञ्जाल विस्तार तथा समुदायको अधिकार सुनिश्चितताका लागि सामूहिक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

उक्त तालिम ‘ब्रेकिङ इन द ब्यारियर’ परियोजना अन्तर्गत सञ्चालन गरिएको हो। परियोजना नेपालका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व र राजनीतिक नेतृत्व सुदृढीकरणमा केन्द्रित रहेको आयोजकले जनाएको छ।

कार्यक्रम युरोपियन युनियनको सहयोग तथा एक्शनएडको साझेदारीमा सञ्चालन गरिएको हो। ‘ब्रेकिङ इन द ब्यारियर’ कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका २० जना सदस्यहरूको सहभागिता रहेको थियो।

आयोजकका अनुसार, पहिलो संविधान सभा सदस्य सुनिल बाबु पन्तको नेतृत्वमा समावेशी मञ्चसँगै मायाको पहिचान नेपाल र लिड नेपालले लैङ्गिक तथा यौनिक अल्पसंख्यकका लागि राजनीतिक साक्षरता अभियान सुरु गरेका हुन्।

समाचार शेयर गर्नुहोस्
229
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.