काठमाडौं – भूटान पिपल्स पार्टी (बीपीपी) ले आफ्नो ३६औँ स्थापना दिवसका अवसरमा भूटानी शरणार्थी समस्या, मानवअधिकार उल्लङ्घन तथा लोकतान्त्रिक अधिकारका सवालमा अन्तर्राष्ट्रिय समुदायको गम्भीर ध्यानाकर्षण गराएको छ।
पार्टी अध्यक्ष बलराम पौड्यालद्वारा जारी विज्ञप्तिमा आजभन्दा ठीक ३६ वर्षअघि अर्थात् २ जुन १९९० मा भूटान अधिराज्यमा नागरिक अधिकारको हनन, सांस्कृतिक दमन तथा राज्यप्रायोजित विभेदबाट पीडित भूटानी जनताको मुक्ति, न्याय र अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ भूटान पिपल्स पार्टी स्थापना भएको उल्लेख गरिएको छ।
स्थापना दिवसको अवसरमा पार्टीले स्वदेश, निर्वासन, प्रवास तथा तेस्रो देश पुनर्स्थापनामा रहेका सम्पूर्ण भूटानी नागरिकलाई शुभकामना व्यक्त गरेको छ। साथै, भूटानी लोकतान्त्रिक आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै संस्थापक अध्यक्ष स्वर्गीय आर.के. बुढाथोकीको योगदानको स्मरण गरेको छ।
पार्टीले बुढाथोकीको निधनपछि आन्दोलनलाई निरन्तरता दिने सम्पूर्ण नेता, कार्यकर्ता तथा समर्थकहरूप्रति कृतज्ञता व्यक्त गरेको छ।
विज्ञप्तिमा भूटान सरकारले अवलम्बन गरेको “एक राष्ट्र, एक जनता” नीतिका कारण करिब डेढ लाख भूटानी नागरिक विस्थापित भई नेपालमा शरणार्थी जीवन बिताउन बाध्य भएको उल्लेख गरिएको छ। एक लाख १३ हजारभन्दा बढी विभिन्न विकसित राष्ट्रहरूमा पुनर्स्थापित भइसकेको पार्टीले उल्लेख गरेको छ।
पुनर्स्थापनाको निर्णय उनीहरूका लागि केवल प्रशासनिक प्रक्रिया नभई आफ्नो जन्मभूमि, पहिचान र माटोबाट बिछोडिन बाध्य पारिएको पीडादायी र संवेदनशील विकल्प भएको पार्टीको भनाइ छ।
संयुक्त राज्य अमेरिकामा पुनर्स्थापित भइसकेका दर्जनौँ भूटानी नागरिकलाई रहस्यमय ढङ्गले पुनः भूटानमा गोप्य रूपमा सुपुर्दगी गरिएको घटनाप्रति पार्टीले गम्भीर आपत्ति जनाएको छ। उक्त घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा पीडितहरूको संरक्षण सुनिश्चित गर्न सम्बन्धित अन्तर्राष्ट्रिय निकाय, संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (यूएनएचसीआर) र विश्वभरका मानवअधिकार पक्षधरहरूसँग माग गरिएको छ।
पार्टीले राज्यविहीनताको पीडा केवल कानुनी हैसियतको अभावमा सीमित नहुने उल्लेख गर्दै यसले पुस्तौँसम्म असुरक्षा, अपमान र अनिश्चितताको विरासत बोक्ने जनाएको छ।
विज्ञप्तिमा नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले भूटानी शरणार्थी समुदायमा नयाँ आशा र अपेक्षा जगाएको उल्लेख गर्दै नवगठित नेपाल सरकारले कूटनीतिक, राजनीतिक तथा मानवीय पहलमार्फत शरणार्थी समस्याको न्यायपूर्ण, समतामूलक र दिगो समाधानका लागि ठोस आधार निर्माण गर्ने विश्वास व्यक्त गरिएको छ।
पार्टीले नेपाल सरकारसँग भूटानी शरणार्थी समस्याको सम्मानजनक, न्यायपूर्ण र दिगो समाधानका लागि आवश्यक कूटनीतिक तथा राजनीतिक पहल गर्न आग्रह गरेको छ। शरणार्थीहरू सधैँ नेपालमा शरणार्थी जीवन बिताउन नचाहेको र यो समस्या अनिश्चितकालसम्म क्षेत्रीय बोझका रूपमा रहिरहन नहुने विज्ञप्तिमा उल्लेख छ।
यस अवसरमा विश्वभर पुनर्स्थापित भूटानी समुदायलाई आफ्नो ऐतिहासिक विरासत, सांस्कृतिक पहिचान तथा लोकतान्त्रिक अधिकारको आन्दोलनसँग जोडिइरहन आग्रह गरिएको छ। साथै, जन्मभूमिसँगको सम्बन्ध कायम राख्न तथा मातृभूमि भ्रमण र सम्मानजनक पुनरागमनको अधिकार सुनिश्चित गर्न अन्तर्राष्ट्रिय स्तरमा सशक्त पैरवी गर्न आह्वान गरिएको छ।
पार्टीले सन् २००८ मा भूटानमा घोषणा गरिएको लोकतन्त्र व्यवहारमा अलोकतान्त्रिक, सङ्कीर्ण र निरङ्कुश रहेको दाबी गर्दै सबै जातीय समूह, भाषा र समुदायका लागि पूर्ण नागरिक स्वतन्त्रता, वास्तविक बहुदलीय लोकतन्त्र, कानुनको शासन र समान संवैधानिक पहिचान सुनिश्चित गर्न विश्व समुदायको समर्थन आवश्यक रहेको जनाएको छ।
विज्ञप्तिमा विगत साढे तीन दशकदेखि लोकतन्त्र र मानवअधिकार आन्दोलनमा सहभागिताको आरोपमा दादीमाखा, चेमगाङ, पुनाखा, रबुना तथा आर्मी सेन्टरलगायत विभिन्न कारागारमा बन्दी बनाइएका निर्दोष नागरिकहरूको तत्काल र निःशर्त रिहाइको माग गरिएको छ।
साथै, कैदीबन्दीका परिवारलाई देशनिकाला गर्ने तथा उनीहरूको नाम जनगणना अभिलेखबाट हटाउने भूटान सरकारको नीतिलाई अन्यायपूर्ण भन्दै नागरिकता पुनर्स्थापना गर्न आवश्यक कूटनीतिक दबाब सिर्जना गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिएको छ।
पार्टीले भूटानमा भारतीय सैन्य तथा अर्धसैनिक संरचनाहरूको दीर्घकालीन उपस्थितिले राष्ट्रिय सार्वभौमिकता र आत्मनिर्णयको अधिकारलाई बहसको विषय बनाएको उल्लेख गरेको छ। त्यस्तै, चीनसँगको सीमा विवाद तथा भूमि अतिक्रमणका विषयमा भूटान सरकारको मौनताले राष्ट्रिय सुरक्षाप्रति गम्भीर चिन्ता उत्पन्न गरेको दाबी गरिएको छ।
यी चुनौतीहरूको दीर्घकालीन समाधानका लागि समावेशी, पारदर्शी र लोकतान्त्रिक शासन व्यवस्था तथा सम्पूर्ण भूटानी जनताको सक्रिय र अर्थपूर्ण सहभागिता आवश्यक रहेको पार्टीको निष्कर्ष छ।
विज्ञप्तिमा पार्टीले आफ्नो सङ्घर्ष सत्ता परिवर्तनका लागि मात्र नभई देशको भौगोलिक अखण्डता, सीमा सुरक्षा, नागरिक अस्तित्वको संरक्षण, सांस्कृतिक पहिचान, न्याय तथा मानवीय गरिमाको पुनर्स्थापनाका लागि भएको स्पष्ट पारेको छ। साथै, आफ्ना मूल राजनीतिक तथा सैद्धान्तिक प्रतिबद्धताप्रति पुनः प्रतिबद्धता जनाउँदै लक्ष्य प्राप्त नभएसम्म आन्दोलन अविचलित रूपमा जारी रहने दृढ सङ्कल्प दोहोर्याएको छ।
प्रेस विज्ञप्ति
विषय: भूटान पिपल्स पार्टीको ३६औँ स्थापना दिवस र समसामयिक राजनीतिक एवं मानवीय अवस्था सम्बन्धमा।
आजभन्दा ठीक ३६ वर्षअघि, २ जुन १९९० का दिन भूटान अधिराज्यमा नागरिक अधिकारको हनन, सांस्कृतिक दमन तथा राज्यप्रायोजित विभेदबाट पीडित भूटानी जनताको मुक्ति, न्याय र अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ भूटान पिपल्स पार्टी स्थापना भएको हो। संवैधानिक राजतन्त्र, पूर्ण बहुदलीय एवं समावेशी लोकतन्त्र, विधिको शासन, मौलिक मानवअधिकारको प्रत्याभूति र सम्पूर्ण भूटानी नागरिकका लागि समान र न्यायपूर्ण अधिकारको स्थापना गर्नु नै यस पार्टीको मूल आदर्श रहँदै आएको छ।
आज यस पार्टीको ३६औँ स्थापना दिवसको ऐतिहासिक अवसरमा स्वदेशमा, निर्वासनमा, प्रवासमा तथा तेस्रो देश पुनर्स्थापनामा रहनुभएका सम्पूर्ण भूटानी नागरिकहरूमा पार्टी हार्दिक शुभकामना व्यक्त गर्दछ। साथै, भूटानी लोकतान्त्रिक आन्दोलनका क्रममा आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पार्टीका संस्थापक अध्यक्ष स्वर्गीय आर.के.बुढाथोकीज्यूको दूरदर्शी नेतृत्व एवं ऐतिहासिक योगदानको उच्च सम्मानका साथ स्मरण गर्दछ। उहाँको निधनपश्चात् पनि पार्टीलाई साथ एव आन्दोलनलाई निरन्तरता दिने सम्पूर्ण नेता, कार्यकर्ता र समर्थकहरूप्रति पार्टी हार्दिक कृतज्ञता प्रकट गर्दछ।
भूटान सरकारले अवलम्बन गरेको “एकराष्ट्र, एक जनता”को विभेदकारी नीतिका कारण करिब डेढलाख भूटानी नागरिक विस्थापित भई नेपालमा शरणार्थीका रूपमा दशकौँ बिताउन बाध्य भए। यसरी कष्टकर शरणार्थी जीवन बिताएका करिब १ लाख २० हजारमध्ये १ लाख १३ हजारभन्दा बढी नागरिकहरू हाल विभिन्न विकसित राष्ट्रहरूमा पुनर्स्थापित भइसकेका छन्। एवं रीतले पुनर्स्थापनाका लागि सहमत हुनु उनीहरूका लागि केवल एक प्रशासनिक निर्णय मात्र थिएन, आफ्नो जन्मभूमि, पहिचान र माटोबाट बिछोडिन बाध्य पारिएको अत्यन्तै संवेदनायुक्त र बाध्यात्मक रोजाइ थियो।
यस्तो संवेदनशील परिस्थितिबीच संयुक्त राज्य अमेरिकामा पुनर्स्थापित भइसकेका दर्जनौँ भूटानी नागरिकहरूलाई रहस्यमय ढङ्गले पुनः भूटानमा गोप्य सुपुर्दगी गरिरहेको घटनाप्रति भूटान पिपल्स पार्टी घोर भर्त्सना गर्दछ ।यस जघन्य अपराधको निष्पक्ष छानबिन, सत्यतथ्य तत्काल सार्वजनिक गर्न र पीडितको संरक्षणको लागि पार्टी, सम्बन्धित अन्तर्राष्ट्रिय निकाय, संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त र विश्वभरका मानवअधिकार पक्षधरहरूसँग जोडदार माग गर्दछ।
राज्यविहीनताको पीडा केवल कानुनी हैसियतको अभावमा मात्र सीमित हुँदैन; यो त पुस्तौँसम्म हस्तान्तरण हुने असुरक्षा, अपमान र अनिश्चितताको दुःखद विरासत हो। यद्यपि, नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले भूटानी शरणार्थी समुदायमा नयाँ आशा र अपेक्षा जगाएको छ। नवगठित नेपाल सरकारले अवलम्बन गर्ने कूटनीतिक, राजनीतिक तथा मानवीय पहलहरूले शरणार्थीहरूको दीर्घकालीन समस्याको न्यायपूर्ण, समतामूलक र दिगो समाधानका लागि ठोस आधार निर्माण गर्नेमा भूटानी शरणार्थीसँगै पार्टी विश्वस्त छ।
भूटान पिपल्स पार्टी नेपाल सरकारले भूटानी शरणार्थी समस्याको न्यायपूर्ण, सम्मानजनक र दिगो समाधानका लागि आवश्यक कूटनीतिक तथा राजनीतिक पहल गर्ने अपेक्षा व्यक्त गर्दछ। भूटानी शरणार्थीहरू न त सधैँ नेपालमा शरणार्थी जीवन बिताउन चाहन्छन्, न त यो समस्या अनिश्चितकालसम्म क्षेत्रीय बोझका रूपमा रहिरहनु उचित छ।यस अवसरमा विश्वभर पुनर्स्थापित भई बसोबास गरिरहेका भूटानी समुदायलाई आफ्नो ऐतिहासिक विरासत, सांस्कृतिक पहिचान तथा लोकतान्त्रिक अधिकारको आन्दोलनसँग जोडिइरहन आह्वान गर्दछौँ। संसारको जुनसुकै कुनामा रहे पनि आफ्नो जन्मभूमिसँगको सम्बन्ध कायम राख्न तथा मातृभूमि भ्रमण र सम्मानजनक पुनरागमनको अधिकार सुनिश्चित गर्न एकजुट भई अन्तर्राष्ट्रिय स्तरमा सशक्त पैरवी गर्न अनुरोध गर्दछौँ।
अन्त्यमा,
सन् २००८ मा भूटानमा घोषणा गरिएको तथाकथित लोकतन्त्र व्यवहारमा अलोकतान्त्रिक, सङ्कीर्ण र निरङ्कुश छ भन्ने कुरा विश्व समुदायबाट लुकेको छैन ।त्यसैले पनि सबै जातीय समूह, भाषा र समुदायका लागि पूर्ण नागरिक स्वतन्त्रता, वास्तविक बहुदलीय लोकतन्त्र, कानुनको शासन र समान संवैधानिक पहिचान सुनिश्चित गर्न विश्व समुदायको न्यायपूर्ण समर्थन अपरिहार्य छ। विगत साढे तीन दशकदेखि लोकतन्त्र र मानव अधिकार आन्दोलनमा सहभागिताको आरोपमा दादीमाखा, चेमगाङ, पुनाखा,रबुना र आर्मी सेन्टर लगायत विभिन्न कारागारहरूमा अमानवीय रूपमा बन्दी बनाइएका निर्दोष नागरिकहरूको तत्काल र निःशर्त रिहाइका लागि पार्टी जोडदार अपिल गर्दछ। कैदी बन्दीहरूका परिवारलाई देश निकाला गर्ने र परिवारसँगै उनीहरू समेतको नाम जनगणना रेकर्डबाट हटाउने भूटान सरकारको अन्यायपूर्ण नीतिलाई तुरुन्तै सच्याउन र उनीहरूको नागरिकता पुनर्स्थापना गर्न भूटान सरकारमाथि आवश्यक कूटनीतिक दबाब सिर्जना गर्न विश्व समुदायलाई पार्टी आह्वान गर्दछ।
भूटानमा भारतीय सैन्य तथा अर्धसैनिक संरचनाहरूको दीर्घकालीन उपस्थितिले राष्ट्रिय सार्वभौमिकता र आत्मनिर्णयको अधिकारलाई निरन्तर बहसको विषय बनाएको छ। अर्कोतर्फ, चीनसँगको सीमा विवाद र भूमि अतिक्रमणका विषयमा भूटान सरकारको मौनताले राष्ट्रिय सुरक्षाप्रति गम्भीर चिन्ता पैदा गरेको छ। यस्ता चुनौतीहरूको दीर्घकालीन समाधानका लागि समावेशी, पारदर्शी र लोकतान्त्रिक शासन व्यवस्था तथा सम्पूर्ण भूटानी जनताको सक्रिय र अर्थपूर्ण सहभागिता अपरिहार्य छ।यस अवसरमा देशभित्र, प्रवासमा, निर्वासनमा र संसारको जुनसुकै कुनामा पुनर्स्थापित भई बसोबास गरिरहेका सम्पूर्ण भूटानी समुदायलाई आफ्नो ऐतिहासिक विरासत, सांस्कृतिक पहिचान र मातृभूमि भ्रमण तथा सम्मानजनक पुनरागमनको अधिकारका लागि एकजुट भई अन्तर्राष्ट्रिय स्तरमा सशक्त पैरवी गर्न अपिल गर्दछौँ।
भूटानी नागरिकका लागि सत्य, न्याय र मानव गरिमाको पक्षमा अन्तर्राष्ट्रिय समुदायको ऐक्यबद्धता आज अझ बढी आवश्यक बनेको छ। त्यसैले यस ऐतिहासिक अवसरमा हामी विश्व समुदायलाई भूटानी शरणार्थी समस्या, मानवअधिकार उल्लङ्घन तथा लोकतान्त्रिक अधिकारको प्रश्नप्रति गम्भीर ध्यान दिन हार्दिक अनुरोध गर्दछौँ। हाम्रो सङ्घर्ष केवल सत्ता परिवर्तनका लागि होइन; देशको भौगोलिक अखण्डता, सीमा सुरक्षा, नागरिक अस्तित्वको संरक्षण, सांस्कृतिक पहिचान, न्याय तथा मानवीय गरिमाको पुनर्स्थापनाका लागि हो। यस ऐतिहासिक मोडमा पार्टी आफ्ना मूलभूत राजनीतिक तथा सैद्धान्तिक प्रतिबद्धताहरू पुनः स्पष्ट गर्दै अभीष्ट लक्ष्य प्राप्त नभएसम्म यो अभियान अविचलित रूपमा निरन्तर जारी रहने दृढ सङ्कल्प दोहोर्याउँदछ।
बलराम पौड्याल
अध्यक्ष,
भूटान पिपल्स पार्टी
निर्वासन कार्यालय, बिर्तामोड, झापा, नेपाल
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.