काठमाडौं – राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनले कानुनी रूपमा नेपाललाई जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरिए पनि नेपाली समाजमा जातीय भेदभाव तथा छुवाछुत ज्यूँका त्यूँ रहेको निष्कर्ष निकालेको छ।
महाधिवेशनले ‘चन्द्रागिरि घोषणापत्र’ जारी गर्दै नेपालको संविधान २०७२ ले संवैधानिक रूपमा समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै सबै प्रकारका विभेद अन्त्य गर्ने सङ्कल्प गरेको स्मरण गराएको छ। घोषणापत्रमार्फत जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि प्रभावकारी रूपमा कानुन कार्यान्वयन गर्न सरकारसँग माग गरिएको छ।
महाधिवेशनले वर्तमान सरकारले निजी तथा स्वरोजगार सञ्चारमाध्यमहरूलाई ‘आर्थिक नाकाबन्दी’ गर्ने गरी सरकारी सञ्चारमाध्यममा मात्र सूचना तथा विज्ञापन दिने नीति अवलम्बन गरेको भन्दै त्यसको घोर भर्त्सना गरेको छ। साथै सरकारी विज्ञापन सबै सञ्चारमाध्यमलाई समान रूपमा वितरण गर्न माग गरिएको छ।
प्रेस काउन्सिल, सूचना विभाग, राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजनलगायत सरकारी सञ्चारसम्बद्ध निकायका सञ्चालक समितिमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न महाधिवेशनले माग गरेको छ। साथै सरकारी सञ्चारमाध्यममा कार्यरत करार, सिफ्ट बेसिस तथा समाचार बुलेटिनमा कार्यरत दलित समुदायका पत्रकारलाई नहटाउन र उनीहरूको पेसागत सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग आग्रह गरिएको छ।
समाचार लेखेकै कारण दलित समुदायका पत्रकारमाथि हुने भौतिक आक्रमण, धरपकड, धम्की तथा स्वतन्त्र प्रेसविरोधी गतिविधि तत्काल बन्द गर्न, राज्य जिम्मेवार बन्न र यस्ता घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्न माग गरिएको छ।
महाधिवेशनले दलित समुदायका पत्रकारको नेतृत्वमा सञ्चालित सञ्चारमाध्यमलाई कर छुट तथा सञ्चार सामग्रीमा अनुदानको व्यवस्था गर्न माग गरेको छ। साथै पत्रकारिता तथा आमसञ्चार विषय अध्ययन गर्ने दलित समुदायका विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरी सहज अध्ययन वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।
नेपाल पत्रकार महासङ्घले राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाललाई आङ्गिक संस्थाका रूपमा स्वीकार गरी सहकार्य गर्नुपर्ने विषय पनि घोषणापत्रमा उल्लेख गरिएको छ। दलित समुदायका पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि तालिम, गोष्ठी, सेमिनार, फेलोसिपलगायत कार्यक्रम सञ्चालन गर्न तीनै तहका सरकार तथा अन्य सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको छ।
घोषणापत्रमा जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभावसम्बन्धी ऐन, २०६८ जारी भइसकेपछि पनि देशभर दलित समुदायमाथि छुवाछुत र विभेदका घटना भइरहनु, अन्तरजातीय विवाहकै कारण हत्या हुनु तथा सामाजिक अपराधका घटनाहरू बारम्बार दोहोरिनु चिन्ताजनक रहेको उल्लेख गरिएको छ। यस्ता घटना आगामी दिनमा दोहोरिन नदिने वातावरण बनाउन सरकारसँग जोडदार माग गरिएको छ।
दलित आन्दोलनमा योगदान पुर्याउने सबैप्रति सम्मान व्यक्त गर्दै राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको ऐतिहासिक दोस्रो राष्ट्रिय महाधिवेशन सफल बनाउन अहम् भूमिका निर्वाह गर्ने सम्पूर्ण सङ्घसंस्था, विभिन्न निकाय, प्रमुख अतिथि, अतिथि, देशभरका प्रतिनिधि तथा चन्द्रागिरि नगरपालिकाप्रति आभार तथा धन्यवाद व्यक्त गरिएको छ।
घोषणापत्र प्रस्ताव समितिमा संयोजक विनोद परियार तथा सदस्यहरू सरिता बराइली, मानसिंह विश्वकर्मा, मिलन विक र वसन्त विश्वकर्मा रहेका थिए।
महाधिवेशनले राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको स्थापना दिवस (२०७६ जेठ १८) लाई प्रत्येक वर्ष सम्पूर्ण तहमा उत्सवका रूपमा मनाउने सङ्कल्प गरेको छ। असोजदेखि मंसिरसम्मको तीन महिनालाई ‘सङ्गठन जागरण अभियान’का रूपमा सञ्चालन गर्ने निर्णय गरिएको छ। सोहीअनुसार जिल्लाले असोज मसान्तसम्म, प्रदेश समितिले कार्तिक मसान्तसम्म र केन्द्रीय समितिले मंसिर मसान्तसम्म साधारणसभा तथा अधिवेशन सम्पन्न गर्ने सङ्कल्प गरिएको छ।
महाधिवेशनले राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको विधानले तोकेअनुसार सदस्यता नवीकरण, नियमित बैठक तथा अन्य विधानबमोजिमका कार्यहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सङ्कल्पसमेत गरेको छ।
गोपाल बराइलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले गोपाल बराइलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
नयाँ कार्यसमितिको अध्यक्षमा गोपाल बराइली चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा लक्ष्मण दर्नाल चयन भएका छन्।
उपाध्यक्षहरूमा सावित्री रसाइली, मानसिंह विक, सुशील दर्नाल, नरभूपाल विक, विनोद परियार, भोला पासवान, टेकेन्द्र विश्वकर्मा, प्रेमबहादुर विक, भीमबहादुर विक तथा सरिता बराइली चयन भएका छन्।
महासचिवमा करण ताम्राकार चयन भएका छन् भने सचिवहरूमा राजेश कुमार पासवान, बसन्त विश्वकर्मा, चिन्ता परियार तथा बसन्त विश्वकर्मा चयन भएका छन्। कोषाध्यक्षमा सञ्जय सौगात चयन भएका छन्।
त्यसैगरी, कार्यसमितिका सदस्यहरूमा हिरा परियार, कर्णबहादुर विक, गणेश विक, कुशल दलामी, अमिर रामदाम, मनिष विक, अम्बिका परियार, अर्चना परियार, सुवास राम, मिना विश्वकर्मा, राजेश सुनाम, प्रकाश परियार, सञ्जु देवी परियार तथा पिवी दियाली चयन भएका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.