लैङ्गिक अल्पसंख्यक समुदायभित्रै हिंसा, प्रहरी भूमिकामाथि प्रश्न

लैङ्गिक अल्पसंख्यक समुदायभित्रै हिंसा, प्रहरी भूमिकामाथि प्रश्न

न्याय पाउन मान्छे मर्नै पर्ने हो?

519
SHARES

काठमाडौँ- बिहीबार राति करिब ९ बजे काठमाडौँको बसपार्क–माछापोखरी पुलमुनि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका दुई व्यक्तिबीच कुटपिट भएको घटना सार्वजनिक भएको छ। पीडित अनुष्का गुरुङमाथि कुटपिट भएको र कुटपिटमा सतिसा अधिकारीको संलग्नता रहेको आरोप लागेको छ।

दुवै जना लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्ति हुन्। समुदायका व्यक्तिमाथि समुदायकै अर्को व्यक्तिले कुटपिट गरेको जानकारी प्राप्त भएको समुदाय सुधारका अभियन्ता देवेन्द्रबहादुर खत्री ‘मधु’ले बताए।

स्थानीयवासी तथा समुदायका सदस्यहरूका अनुसार पछिल्लो समय बसपार्क क्षेत्रमा केही व्यक्तिमाथि लागूऔषध प्रयोग गर्ने तथा गराउने, यौन व्यवसायसँग सम्बन्धित दलाली गर्ने, सार्वजनिक स्थानमा होहल्ला गर्ने, अपशब्द प्रयोग गर्ने, लुटपाट गर्ने तथा आफ्नै समुदायका सदस्यसँगै सर्वसाधारणलाई पनि दुःख दिने गतिविधिमा संलग्न रहेको आरोप लाग्दै आएको छ।

गत २१ फागुनको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष उम्मेदवारसमेत रहेका मधुले यस घटनाप्रति समुदाय, सर्वसाधारण, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको हकहितका लागि पैरवी गर्ने संघसंस्थाहरूको समेत ध्यानाकर्षण गराएका छन्।

उनका अनुसार केही दिनअघि नै सम्बन्धित व्यक्तिहरूविरुद्ध बालाजु प्रहरी चौकीमा निवेदन दर्ता गरिएको थियो। तर त्यसपछि पनि समस्या समाधान हुनुको सट्टा विरोध गर्ने वा सम्झाउने व्यक्तिलाई बारम्बार कुटपिट गर्ने, आर्थिक माग गर्ने, कोठाभित्र थुनेर धम्क्याउने तथा “मान्छे लगाएर मार्छु” भन्ने जस्ता धम्की दिएको गुनासो प्राप्त भएको उनले बताए।

“यदि यस्ता आरोप सत्य हुन् भने, यो कानुनी शासन र नागरिक सुरक्षामाथिको गम्भीर चुनौती हो,” मधुले भने।

उनका अनुसार पीडित पक्षले प्रहरी अनुसन्धानमा सहयोग गरिरहेको अवस्थामा पनि पीडक पक्षका प्रतिनिधिहरूले “पीडक बिरामी छ”, “विभिन्न समस्या छन्” भन्ने आधार प्रस्तुत गर्दै घटनालाई प्रभावित पार्ने वा अनुसन्धानको दिशा मोड्ने प्रयास गरेका छन्।

“यस्ता दाबीहरूको समेत निष्पक्ष छानबिन हुनुपर्छ। कुनै पनि व्यक्तिको स्वास्थ्य अवस्था वा व्यक्तिगत परिस्थितिले हिंसा वा आपराधिक कार्यलाई कानुनी रूपमा उचित ठहर गर्न सक्दैन,” मधुले भने, “त्यसैले अनुसन्धान प्रमाणका आधारमा निष्पक्ष रूपमा अगाडि बढ्न आवश्यक छ।”

हाल पीडित अनुष्का गुरुङ शारीरिक चोटभन्दा पनि पटक–पटकको हिंसा र धम्कीका कारण मानसिक रूपमा गम्भीर आघातमा रहेको मधुको भनाइ छ।

पीडितले न्याय पाउने, आवश्यक स्वास्थ्य तथा मनोसामाजिक सहयोग प्राप्त गर्ने तथा दोषी देखिएका व्यक्तिमाथि कानुनबमोजिम कारबाही हुने वातावरण सुनिश्चित गर्नु राज्यको दायित्व भएको उनले बताए।

उनले प्रहरी प्रशासन, अनुसन्धान निकाय तथा सरोकारवाला सङ्घसंस्था र निकायसँग घटनाको निष्पक्ष, पारदर्शी र प्रभावकारी अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न, पीडितको सुरक्षा सुनिश्चित गर्न तथा बसपार्क क्षेत्रमा भइरहेका भनिएका अपराधजन्य गतिविधिमाथि कडाइका साथ निगरानी र आवश्यक कानुनी कारबाही गर्न माग गरेका छन्।

“कानुन सबैका लागि समान हुनुपर्छ। पीडितले न्याय पाउनुपर्छ, निर्दोषको संरक्षण हुनुपर्छ र दोषी देखिएका व्यक्तिले कानुनअनुसार उत्तरदायित्व वहन गर्नुपर्छ। यही नै सुरक्षित, सभ्य र न्यायपूर्ण समाज निर्माणको आधार हो,” उनले भने।

पीडित पक्षका अनुसार प्रहरीले पनि घटनालाई पर्याप्त गम्भीरताका साथ नलिएको गुनासो गरिएको छ। “न्याय पाउन मान्छे मर्नै पर्ने, अङ्गभङ्ग हुनै पर्ने वा गम्भीर चोट लाग्नै पर्ने हो र?” भन्दै पीडित पक्षले प्रश्न उठाएको छ।

समाचार शेयर गर्नुहोस्
519
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.