इंग्ल्याण्डलाई उल्ट्याउँदै अर्जेन्टिना फाइनलमा, अब स्पेनसँग उपाधि भिडन्त

इंग्ल्याण्डलाई उल्ट्याउँदै अर्जेन्टिना फाइनलमा, अब स्पेनसँग उपाधि भिडन्त

86
SHARES

काठमाडौँ – फिफा विश्वकपको फाइनलमा स्पेन र अर्जेन्टिना भिड्ने भएका छन्। विश्वकपको उपाधिका लागि आगामी आइतबार स्पेन र अर्जेन्टिनाबीच खेल हुनेछ।

अमेरिकाको एटलान्टा स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै अर्जेन्टिनाले इंग्ल्याण्डलाई २–१ गोलले पराजित गर्दै स्पेनसँगको फाइनल भिडन्त पक्का गरेको हो। पहिलो सेमिफाइनलमा फ्रान्सलाई हराउँदै स्पेन फाइनल पुगेको थियो।

खेलमा पहिलो अग्रता इंग्ल्याण्डले लिएको थियो। ५५औँ मिनेटमा इंग्ल्याण्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर एक गोलले पछि परेर दबाबमा परेको अर्जेन्टिनाले आफ्नो खेल सुधार्दै ८५औँ मिनेटमा गोल फर्कायो।

कप्तान लियोनल मेसीको पासमा एन्जो फर्नान्डेजले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि इन्जुरी समयमा मेसीकै पासमा लौतारो मार्टिनेजले हेडमार्फत विजयी गोल गर्दै नियमित समयभित्रै अर्जेन्टिनालाई २–१ को जित दिलाए र टोलीलाई फाइनल पुर्‍याए।

अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र लौतारो मार्टिनेजले गोल गरे।

यो जितसँगै अर्जेन्टिना सातौँ पटक विश्वकपको फाइनलमा पुग्न सफल भएको छ भने ६० वर्षपछि फाइनल पुग्ने इंग्ल्याण्डको सपना चकनाचुर बनेको छ।

३९ वर्ष २१ दिनका मेसी विश्वकपको सेमिफाइनल खेल्ने इतिहासकै सबैभन्दा पाका खेलाडी बनेका छन्। उनले सन् १९५८ मा फ्रिट्ज वाल्टर र गुनार ग्रेनले राखेको कीर्तिमान (३७ वर्ष २३६ दिन) तोडेका हुन्। खेलमा दुई असिस्ट गरेका मेसी ‘प्लेयर अफ द म्याच’ समेत चुनिए।

इंग्ल्याण्डका कप्तान ह्यारी केनले सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने आउटफिल्ड खेलाडीको कीर्तिमान बनाए।

दुवै टोलीका सुरुवाती ११ मा ३२ वर्षभन्दा माथिका सात जना खेलाडी सामेल थिए, जुन विश्वकप सेमिफाइनलको इतिहासमा सबैभन्दा बढी उमेरका खेलाडीहरू मैदान उत्रिएको रेकर्ड हो।

खेलपछि म्यान अफ द म्याच चुनिएका मेसीले भने, ‘मसँग शब्दहरू नै छैनन्। यो हाम्रो देश र जनताका लागि ठूलो खुसीको क्षण हो। यो टोलीले मलाई सधैँ अचम्ममा पार्छ। हामी अद्वितीय छौँ, र यो घमन्ड होइन, मुटुदेखिको आवाज हो।’

बेलायतका प्रशिक्षक थॉमस टुचेलले भने, ‘हामी निकै निराश छौँ, जितको निकै नजिक थियौँ। गोल गरेपछि हामी रक्षात्मक र निष्क्रिय भयौँ। हामीले बल नियन्त्रणमा राख्न सकेनौँ र उनीहरूका तर्फबाट लगातार क्रस र प्रहारहरू भइरहे, जसका कारण हामीले नतिजा गुमाउनुपर्‍यो।’

समाचार शेयर गर्नुहोस्
86
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.