"/>
काठमाडौँ – सुनसरीको इटहरीमा नगर प्रमुख, सुरक्षा निकाय तथा सरोकारवालाको सहभागितामा आयोजित एक सार्वजनिक कार्यक्रममा रातिको समयमा केही तेस्रोलिंगी व्यक्तिहरूको गतिविधिका कारण इटहरीलाई बदनाम तुल्याएको आरोप लागेको छ।
कार्यक्रममा बोल्ने एक सहभागीले राति ८ बजेपछि इटहरीको पश्चिम लाइन, फेदीखोला आसपास धेरै तेस्रोलिंगी व्यक्तिहरूको उपस्थितिले सामाजिक रूपमा नकारात्मक प्रभाव परेको दाबी गरे। “त्यहाँ जोसुकै सवारीसाधन लिएर आउँछ वा आवतजावत गर्छ, उहाँहरू सिधै सडकमा आएर उभिनुहुन्छ, रोक्नुहुन्छ,” उनले भने।
उनले त्यसबारे थप बोल्न पनि असहज हुने अवस्था रहेको उल्लेख गरे। “मान्छेले हेर्दा पनि कस्तो खालको भनेदेखि हामीले धेरै ठाउँमा देखेका पनि छौँ। बोल्न पनि अलिकति असुहाउँदो कुरा हुन्छ,” उनले भने, “त्यसैले यो विकृतिलाई कसरी समाधान गर्न सकिन्छ? यसमा स्थानीय सरकार, नगरप्रमुख तथा सुरक्षा निकायले यो विषयलाई गम्भीर रूपमा सोचिदिन अनुरोध गर्न चाहन्छु।”
उनले उक्त विषयका कारण विगतमा केही मानिसको ज्यानसमेत गएको दाबी गर्दै मानव सुरक्षाका दृष्टिले पनि यसलाई गम्भीरतापूर्वक लिन आग्रह गरे।
कार्यक्रममा सहभागी सुरक्षाकर्मीले पश्चिम लाइन क्षेत्रमा रातिको समयमा बस्ने व्यक्तिहरूलाई धेरै पटक सम्झाएर बुझाएको जानकारी दिए। उनीहरूले गरेको कार्यक्रममा पनि गएर, “योभन्दा वैकल्पिक उपाय के हुन सक्छ? अन्य सीप वा रोजगारीका अवसर कसरी सिर्जना गर्न सकिन्छ?” भन्ने विषयमा समेत संवाद गरिएको बताए।
सुरक्षाकर्मीका अनुसार पटकपटक सम्झाएर त्यहाँबाट हटाउने तथा लखेट्ने अवस्था पनि आएको थियो। “यसमा विशेषगरी वडा नम्बर ९ र वडा नम्बर ६ का अध्यक्षज्यूहरू पनि हुनुहुन्छ। उहाँहरू दुवै भएको हुनाले हामी फेरि एकपटक सबै मिलेर यसलाई कसरी कम गर्न सकिन्छ, नियन्त्रण गर्न सकिन्छ भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ,” उनले भने।
उक्त सार्वजनिक कार्यक्रममा व्यक्त भनाइको भिडियो सार्वजनिक गर्दै पहिलो संविधानसभा सदस्य तथा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले यो समस्या देश व्यापी रहेको उल्लेख गरेका छन्। गृहमन्त्री सुधन गुरुङलाई मेन्सन गर्दै पन्तले यो समस्या इटहरीमा मात्र सीमित नभई देशव्यापी रहेको उल्लेख गरेका हुन्।
पन्तले अवसर र अधिकारबाट वञ्चित हुँदैमा कसैलाई पनि गलत वा गैरकानुनी काम गर्ने छुट नहुने बताएका छन्। “सरकारले यस्ता विकृतिमा अंकुश लगाउँदै गर्दा जीविकोपार्जनका अवसर सिर्जना गर्ने दीर्घकालीन योजना पनि ल्याउनुपर्छ,” उनको भनाइ छ।
केही व्यक्तिले तेस्रोलिंगी समुदायलाई बदनाम गराउने गतिविधिमा संस्थागत संलग्नता रहेको आरोपसमेत सार्वजनिक रूपमा लगाएका छन्।
२०८२ फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक उम्मेदवार रहेकी समावेशी समाजवादी पार्टीकी सचिव सञ्जीवनी लामा (सन्ध्या)ले केही दिनअघि सामाजिक सञ्जालमार्फत फ्रेण्ड्स हेटौँडाले पठाएको पत्र, आरजे डियर किरणको फेसबुक स्ट्याटस तथा भिडियो सार्वजनिक गर्दै संस्थागत रूपमा घर–घरमा माग्न पठाउने काम भइरहेको दाबी गरेकी छन्।
लामाले फेसबुकमा लेखेकी छन्, “मान्छेको जात दुई जिब्रे हुन्छ रे, छेपारोले जस्तै रङ फेर्छ रे भन्थे। भन्छ एउटा, गर्छ अर्को भन्ने कुरा सत्य हो जस्तो लाग्छ। हिजो त्यही संस्था, जसले माग्ने विषयमा विरोध गर्थ्यो।”
उनले लेखेकी छन्,”तेस्रोलिंगीले घर, समाज र बजारमा मागेर विकृति फैलायो भन्ने संस्थाको एउटा जिम्मेवार पदमा बस्ने व्यक्तिले यस्तो किसिमको अभिव्यक्ति दिँदै टोल–टोल र वडा–वडामा कारबाहीको माग गर्दै पत्र पठायो। तर आज सोही व्यक्तिले चेला बनाउँदै घर–घरमा माग्न पठाउनु कतिको जायज हो?”
लामाले आफ्नो स्ट्याटसमा कसैसँग व्यक्तिगत दुस्मनी वा रिसइबी नरहेको उल्लेख गर्दै आफूले केवल भोगेको पीडा सार्वजनिक गरेको बताएकी छन्। “मेरो कसैसँग पनि व्यक्तिगत दुस्मनी वा रिसराग छैन, न मलाई राख्नु नै छ। म आफ्नो दुःख गरेको छु, खाएको छु, र कसैको काममा बाधा–अड्चन ल्याउने काम गरेकी छैन। तर मान्छेको जात किन यस्तो किसिमको झुट बोल्छ होला, झुटको खेती गर्छ होला? यो कस्तो किसिमको लाजनीति हो? यो कस्तो किसिमको वकालत हो? यो कस्तो अभियान हो? हाम्रो समाज कता जाँदैछ?” भन्दै उनले प्रश्न गरेकी छन्।
उक्त सार्वजनिक कार्यक्रम, सामाजिक सञ्जालमा सार्वजनिक गरिएका अभिव्यक्ति, सम्बन्धित पत्र तथा भिडियोले तेस्रोलिंगी समुदायका वास्तविक समस्या, केही व्यक्तिका गतिविधिबाट सिर्जित विवाद र त्यसमा संस्थागत भूमिकाबारेको बहसलाई थप तीव्र बनाएको छ।
तेस्रोलिंगीहरूको नाममा झापामा ‘चन्दा आतङ्क’
दुई वर्षअघि गरिएको कुराकानी :
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.