कालीकोट – रास्कोट नगरपालिका–४ स्थित शिलालेख मूर्ति तोडफोड घटनाबारे प्रहरी र न्यायिक समितिमा उजुरी परेको छ। दलित शिल्पकारले निर्माण गरेको मूर्ति मन्दिरमा चढाउन नहुने भन्दै तोडफोड गरिएको तथा जातीय अपमानजनक व्यवहार भएको आरोपसहित उजुरी परेको वडा नं. ४ को कार्यालयले जनाएको छ।
रास्कोट नगरपालिका–४ स्थित शिवनाथ मन्दिरमा स्थापना गर्नका लागि निर्माण गरिएको शिला मूर्तिमा नाम लेख्ने विषयमा विवाद भएपछि तोडफोड भएको पाइएको हो। स्थानीय पदम शाहीले शिलालेख लेखिएको ढुङ्गामा आफ्नो नाम उल्लेख नगरिएको भन्दै मूर्ति पल्टाइदिएको स्वीकार गरेका छन्।
आरोपअनुसार मदिरा सेवन गरेका शाहीले ७० वर्षीय शिल्पकार नयाँ लुवारले शिवनाथ मन्दिरमा चढाउनका लागि निर्माण गरेको शिला मूर्ति तोडफोड गरेका हुन्। मूर्ति तोडफोड गर्ने क्रममा शिल्पकार लुवारलाई सार्वजनिक स्थलमै जातीय अपमानजनक शब्द प्रयोग गर्दै गालीगलौज गरेको आरोप पनि शाहीमाथि लागेको छ।
तर, शाहीले भने आफूले दलित वा बाहुनको विषयमा कुनै टिप्पणी नगरेको बताएका छन्। उनका अनुसार आफ्नो र आफ्ना परिवारका सबै सदस्यको नाम लेखिएको भए पनि ढुङ्गा ल्याउने आफ्नो नाम उल्लेख नगरिएकाले विवाद भएको हो। नाम नलेख्ने बताएपछि आफूले शिलालेख भएको मूर्ति पल्टाइदिएको उनले स्वीकार गरेका छन्।
वडा अध्यक्ष दिनेश सन्ज्यालका अनुसार शाहीले आफ्नो गल्ती स्वीकार गर्दै त्यसप्रति पछुतो व्यक्त गरेका छन्। कमजोरी स्वीकार गर्दै क्षतिपूर्ति तिर्नसमेत तयार रहेको उनले बताएका छन्। “प्रहरी र न्यायिक समितिमा उजुरी परेको छ। प्रहरी चौकीमा सोमबार र न्यायिक समितिमा मङ्गलवार छलफल हुँदैछ,” वडा अध्यक्ष सन्ज्यालले पहिचानसँग भने।
पीडित नयाँ लुवारले भने क्षतिपूर्ति मात्र पर्याप्त नहुने भन्दै कानुनी कारबाही हुनुपर्ने माग गरेका छन्। आफूमाथि सार्वजनिक रूपमा अपशब्द प्रयोग भएको उल्लेख गर्दै उनले दोषीमाथि कानुनबमोजिम कारबाहीको माग गरेका छन्।
वडा अध्यक्ष सन्ज्यालले गल्ती गर्नेलाई कानुनअनुसार कारबाही हुने र पीडितले न्याय पाउनुपर्ने बताए।
पीडित नयाँ लुवारका अनुसार करिब पाँच महिनाको निरन्तर मेहनतपछि करिब चार लाख रुपैयाँ बराबरको लागतमा उक्त शिला मूर्ति निर्माण गरिएको थियो। सो मूर्ति स्थानीय समुदायको सामूहिक सहमतिमा शिवनाथ मन्दिरमा स्थापना गर्ने तयारीसमेत गरिएको थियो।
तर, असार ३२ गते बिहान करिब ९ बजेतिर मन्दिर परिसरमा पुगेका बेला रास्कोट नगरपालिका–४ निवासी पदम शाहीले मूर्तिमा तोडफोड गरेको लुवारले बताएका छन्। उनका अनुसार शाहीले “तँ डुमले बनाएको मूर्ति मन्दिरमा चढाउन हुँदैन” भन्दै जातीय तथा अपमानजनक शब्द प्रयोग गरेका थिए। घटनामा शिला मूर्तिमा आंशिक क्षति पुगेको छ।
घटनाका बेला नयाँ लुवार आफ्नै पारिवारिक कामको सिलसिलामा धामीसँग परामर्श गर्न मन्दिर पुगेका थिए। सोही क्रममा विवाद उत्पन्न भई मूर्ति तोडफोड तथा जातीय गालीगलौज भएको लुवारको भनाइ छ।
नेपालको संविधानले जातीय विभेद तथा छुवाछुतलाई निषेध गरेको छ भने जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ ले जातका आधारमा गरिने अपमान, विभेद तथा बहिष्कारलाई दण्डनीय अपराधका रूपमा व्यवस्था गरेको छ। त्यसैगरी सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने कार्य पनि प्रचलित कानुनअनुसार फौजदारी अपराधको दायरामा पर्छ।
स्थानीयवासीले इलाका प्रहरी कार्यालय रास्कोट, जिल्ला प्रहरी कार्यालय कालीकोट तथा सम्बन्धित निकायसँग घटनाको निष्पक्ष अनुसन्धान गरी आरोपितलाई तत्काल पक्राउ गर्न माग गरेका छन्। साथै, जातीय छुवाछुतसम्बन्धी कानुन तथा मुलुकी अपराध संहिताअनुसार कडा कारबाही गर्न र पीडित शिल्पकार नयाँ लुवारलाई उचित क्षतिपूर्ति तथा न्याय सुनिश्चित गर्न पनि उनीहरूको माग छ।
उनीहरूले जातीय विभेद र सार्वजनिक सम्पत्तिको तोडफोड सरकारवादी फौजदारी मुद्दा भएकाले यस्ता गम्भीर घटनालाई स्थानीय दबाब, सामाजिक प्रभाव वा मिलापत्रका माध्यमबाट टुङ्ग्याउन नहुने बताएका छन्।
शिल्पकार नयाँ लुवारले लामो समयदेखि कालीकोट तथा आसपासका जिल्लाका विभिन्न मन्दिरका लागि ढुङ्गाका शिला मूर्तिहरू निर्माण गर्दै आएका छन्। उनले निर्माण गरिएका शिला मूर्तिहरू विभिन्न मन्दिरमा स्थापना भइसकेका छन्। स्थानीय स्तरमा उनी कुशल शिल्पकारका रूपमा परिचित छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.