राजनीतिक तथा सामाजिक बहिष्करण अन्त्यका लागि पैरवी समूह गठन, अध्यक्षमा सुमन लिम्बु चयन

राजनीतिक तथा सामाजिक बहिष्करण अन्त्यका लागि पैरवी समूह गठन, अध्यक्षमा सुमन लिम्बु चयन

72
SHARES

सुनसरी – लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले भोगिरहेका राजनीतिक तथा सामाजिक बहिष्करणका सवाललाई सम्बोधन गर्ने उद्देश्यका साथ पैरवी समूह गठन भएको छ। लिड नेपाल दमक–झापाद्वारा इटहरीमा आयोजित लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले भोगिरहेका राजनीतिक तथा सामाजिक समावेशितासम्बन्धी सरोकारवालासहितको पैरवी समूह गठन कार्यक्रम अन्तर्गत उक्त समूह गठन गरिएको हो।

कार्यक्रममा कोशी प्रदेश सांसद सपना परियारले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको वास्तविक समावेशिता स्थानीय तहबाट नै सुरु हुनुपर्नेमा जोड दिइन्। स्थानीय सरकार, प्रदेश सरकार तथा सङ्घीय सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र आरक्षणको व्यवस्था प्रभावकारी रूपमा लागू गर्नुपर्ने उनले बताइन्।

उनले विभिन्न राजनीतिक दलहरूले पनि समुदायलाई समेट्दै नेतृत्व विकास र नीति निर्माण तहसम्म अवसर प्रदान गर्न सके भविष्यमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरू प्रतिनिधिसभा तथा नीति निर्माण तहसम्म पुग्न सक्ने विश्वास व्यक्त गरिन्।

इटहरी उपमहानगरपालिकाकी सुशिला कार्कीले समावेशी समाज निर्माणका लागि सबै समुदायप्रति समान व्यवहार, सम्मान र अवसर सुनिश्चित गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउँदै समुदायसँग सहकार्य गर्दै अगाडि बढ्ने बताइन्।

कार्यक्रममा माइती नेपाल, मितिनी नेपाल, ओरेक नेपाल, जागृति महिला समूह, महिला सहयोगी समूह, धरान पोजिटिभ ग्रुप लगायत इटहरी उपमहानगरपालिका क्षेत्रमा कार्यरत विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको दिगो सशक्तीकरणका लागि सीपमूलक तालिम, स्वरोजगार प्रवर्द्धन, कानुनी सहायता, पैरवी तथा अधिकारमुखी कार्यक्रमहरू सञ्चालन गर्न सके समुदायको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने धारणा व्यक्त गरेका थिए।

त्यसैगरी कार्यक्रममा विराट टेलिभिजन, एरिना टेलिभिजन, सप्तकोशी टेलिभिजन लगायत सुनसरी जिल्लामा क्रियाशील विभिन्न सञ्चारमाध्यम तथा पत्रकारहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। सञ्चारमाध्यमले समावेशी र उत्तरदायी पत्रकारितामार्फत समुदायका मुद्दालाई प्राथमिकताका साथ उठाउनुपर्ने विषयमा समेत छलफल भएको थियो।

कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको राजनीतिक सहभागिता, नेतृत्व विकास, नीति निर्माण प्रक्रियामा अर्थपूर्ण प्रतिनिधित्व तथा स्थानीय सरकार र राजनीतिक दलसँग निरन्तर समन्वय र पैरवीलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको थियो।

कार्यक्रमको महत्त्वपूर्ण उपलब्धिका रूपमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार प्रवर्द्धन, नीति पैरवी तथा समावेशी राजनीतिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले २० सदस्यीय पैरवी समूह गठन गरिएको लिड नेपालले जनाएको छ।

उक्त समूहको अध्यक्षमा सुमन लिम्बु चयन भएका छन्। समितिमा सञ्चारकर्मीको तर्फबाट सुप्रिया राई, सचिन राई, रुबल राई, यम चहार, जानुका उराउ, किरण विश्वकर्मा लगायत विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूलाई समेटेर समावेशी ढङ्गले २० सदस्यीय समिति गठन गरिएको आयोजकले जनाएको छ।

आयोजक लिड नेपालले नवगठित पैरवी समूहले स्थानीय तहदेखि प्रदेश र सङ्घीय तहसम्म समुदायका मुद्दाहरूलाई सशक्त रूपमा उठाउँदै समावेशी नीति निर्माण, समान अवसर तथा अधिकार सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।

कार्यक्रममा विभिन्न सरोकारवाला निकाय, स्थानीय सरकार, सञ्चारमाध्यम तथा नागरिक समाजका प्रतिनिधिसहित जम्मा ५५ जनाको सहभागिता रहेको थियो।

समाचार शेयर गर्नुहोस्
72
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.