पर्वत – जिल्ला प्रशासन कार्यालय पर्वतले बिग्रिएको नाम सच्याउन वडाबाट सिफारिस ल्याउनुपर्ने बताएको छ। अन्य लैङ्गिक पहिचानमा नागरिकता लिएका तेस्रोलिंगीलाई नाम सच्याउन वडाको सिफारिस आवश्यक पर्ने प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए।
सर्वोच्च अदालतको फैसला अनुसार अन्य लैङ्गिक पहिचानमा नागरिकता पाए पनि बिग्रिएको नाम सच्याउने प्रक्रियामा अझै प्रशासनिक जटिलता रहेको देखिएको छ।
प्रमुख जिल्ला अधिकारी पौडेलले जन्मदर्ता, प्रारम्भिक अनुसूचीसहित पालिकाको सिफारिस आवश्यक पर्ने बताए। “उहाँहरू आउनुभएको थियो। लैङ्गिक पहिचान ‘अन्य’ उल्लेख भएको नागरिकतामा नाम बिग्रिएको भन्नुभएको थियो,” पर्वतका सिडिओ पौडेलले पहिचानसँग भने, “सर्वोच्च अदालतको फैसला पनि छ भन्नुभएको थियो। फैसलासहित वडामा निवेदन दिनुहोस्, सिफारिस ल्याउनुहोला भनेर पठायौँ।”
सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र हरिकृष्ण कार्कीको संयुक्त इजलासले २०७३ माघ १० गते लैङ्गिक तथा यौनिक अल्पसंख्यक (जिएसएम) समुदायका व्यक्तिलाई अन्य लिङ्गमा परिवर्तित नाम अनुसार नागरिकता दिन परमादेश जारी गरेको थियो।
सर्वोच्च अदालतको फैसला अनुसार जिएसएम समुदायकी अन्तरलिंगी माया परियार नागरिकतामा बिग्रिएको नाम सच्याउन जिल्ला प्रशासन कार्यालय पर्वत पुगेकी थिइन्। तर, प्रमुख जिल्ला अधिकारी पौडेलले बिग्रिएको नाम सच्याउन वडाबाट सिफारिस ल्याउनुपर्ने बताएपछि मायासहितको टोली मङ्गलवार नै जलजला गाउँपालिका वडा नम्बर ७ को कार्यालय पुगेको छ।
समावेशी मञ्च नेपालका संस्थापक एवं नेपालमा पहिलो पटक तेस्रोलिंगी पहिचानमा नागरिकता लिएका डिलु बुदुजा (बद्री पुन)को नेतृत्वमा जिल्ला प्रशासन कार्यालय हुँदै वडा कार्यालय पुगेको टोलीसँग वडा अध्यक्ष टुंगनाथ शर्माले छलफल गरेका छन्। उनले सर्वोच्च अदालतको फैसला अध्ययन गरिरहेको बताए।
दुवै यौनाङ्ग लिएर जन्मेकी अन्तरलिंगी माया नाम परिवर्तन गर्न नपाउँदा तनावमा छिन्। पहिचानसँगको कुराकानीमा मायाले अन्य पहिचानको नागरिकता लिन चिकित्सकको रिपोर्ट नै बुझाउनु परेको बताइन्। “अन्य लिङ्गमा नागरिकता त पाएँ, तर नाम परिवर्तन भएन, बिग्रियो,” उनले भनिन्, “मलाई अन्य पहिचानमा महिलाको नाम राख्न मन छ।”
उनको माग सम्बोधनका लागि सर्वोच्च अदालतको फैसलालाई आधारका रूपमा लिएर अध्ययन भइरहेको वडा अध्यक्ष शर्माले बताए।
पर्वतको मिलनचोकमा माया हेराउने काम गर्छिन्। हात हेर्ने, फुक्ने काम गर्छिन् उनी। सबैले यस्तो-उस्तो भनेर नाम राख्दा नमज्जा लाग्छ उनलाई। “यस्तो भाग्य लिएर जन्मनु पर्यो। कहिले मरौँ जस्तो लाग्छ। कहिले फेरि देउता साथमा हुनुहुन्छ, देउताले पूरा गर्नुहुन्छ भन्ने हुन्छ,” उनले भनिन्, “आफूलाई टेन्सन पर्दा, अरूले नाम राख्दा दुःख लाग्छ। कतिपयले राम्रो सोच्नुहुन्छ, कतिपयले नराम्रो सोच्नुहुन्छ।”
२५ वर्षकी मायाले ११ कक्षा पास गरेकी छन्। ७ वर्षको उमेरमा उनले झाँक्री विद्या पाइन्। “बाजे झाँक्री हुनुहुन्थ्यो। बाजे बित्नुभयो। त्यसपछि मलाई समातेर लगे,” उनले भनिन्, “लुकाएर राखी झाँक्री विद्या सिकाएकाले अहिले हेराउन, कोराउन लागेको हो।”
उनले यतिबेला भने नाग माताको उपमा पाएकी छन्। ९ वर्षको उमेरदेखि उनलाई आफ्नो पहिचान महिला र पुरुषभन्दा भिन्न अनुभूति भयो। “केटीप्रति आकर्षण हुँदैन। केटाप्रति नै आकर्षण हुन्छ, ध्यान जान्छ,” उनले भनिन्। बेलाबेला उनलाई किन बाँच्नु र, मरौँ जस्तो पनि हुन्छ। तर, उनलाई आफ्नो शरीरमा आएका नागमाताले बचाइरहेका छन्।
उनीसँग हेराउन र झारफुक गराउन काठमाडौँ, बुटवलदेखि देशका विभिन्न ठाउँका मानिसहरू पुग्छन्। उनीहरूले स्वेच्छाले दिएको दक्षिणाबाट उनको परिवार चलिरहेको छ। उनले समलिङ्गी विवाह गरेकी छन्। बच्चा छन् त भन्ने प्रश्नमा उनले भनिन्, “हामीजस्तो तेस्रोलिंगीको कहाँ बच्चा हुन्छ र?” उनी जीवनसाथीबाट पछि धोका नपाउने विश्वासमा छिन्।
“स्कुलमा मेरो नाम राखे। न केटा, न केटी, हिजडा भने,” उनले पहिचानसँग भनिन्, “सरहरूले पनि नाम राख्न थाले। त्यसपछि पढाइ छोडेँ।”
घरपरिवारले नागरिकता बनाउन भन्न थाले। “के को बनाउने भन्ने दोधारमा परियो,” उनले भनिन्। “एक पटक होलबडी चेक गर्ने कुरा भयो। एक पटक होलबडी चेक गरेपछि यस्तो भनेर थाहा हुन्छ भने।” त्यसपछि उनी अस्पताल गएर होलबडी चेक गराइन्। त्यसपछि मात्रै उनले अन्य पहिचानको नागरिकता पाउन सकिन्।
उनको कसैसँग सम्पर्क थिएन। वडाले कुश्मा पठाइदियो। बडगाउँ अस्पतालमा चेकजाँच गराइन्। अस्पतालको सिफारिस लिइन्। बल्ल मात्रै वडाले नागरिकताको लागि सिफारिस बनाइदियो।
“यता न यताको भइयो। न केटाको, न केटीको जन्म लिन सकियो। महिला हाउभाउ भएकाले अन्यभित्रको महिला बन्न पाए हुन्थ्यो भन्ने छ।”
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.