वडा अध्यक्ष कप दौडमा उठ्यो प्रश्न: महिलाको प्रतिस्पर्धामा तेस्रोलिंगी विजयी

वडा अध्यक्ष कप दौडमा उठ्यो प्रश्न: महिलाको प्रतिस्पर्धामा तेस्रोलिंगी विजयी

70
SHARES
तस्बिर : पोखरा महानगरपालिका वडा नं १७ को कार्यालय

कास्की – पोखरामा महिलाहरूको दौड प्रतियोगिता आयोजना हुँदा लैङ्गिक तथा यौनिक अल्पसंख्यक (जिएसएम) समुदायका व्यक्तिहरूलाई पनि सहभागी गराइएको छ। प्रतियोगितामा दुई जना तेस्रोलिंगी महिला सहभागी भएका राष्ट्रिय महिला सञ्जाल कास्कीले जानकारी दिएको छ।

दौड प्रतियोगितामा दुई वटा पुरस्कार पनि तेस्रोलिंगी महिलाले प्राप्त गरे। बालक जन्मेका तेस्रोलिंगी महिला र बालिका जन्मेका महिलालाई सँगै प्रतिस्पर्धा गराउँदा बालक जन्मेका तेस्रोलिंगी महिला विजयी भएका थिए।

गैरसरकारी संस्था महासङ्घ कास्कीकी सचिव केशु भुजेलले समावेशी मञ्च नेपालले पोखरामा आयोजना गरेको कार्यक्रममा दुई वटा पुरस्कार तेस्रोलिंगी महिलाले प्राप्त गरेको प्रसङ्ग उल्लेख गर्दै भनिन्, “जन्मजात महिलाभन्दा उनीहरूमा भिन्न क्षमता देखियो। अहिले यो विषय क्लिक भएको छ।”

पहिलो संविधानसभाका सदस्य सुनिल बाबु पन्तले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले पुरुष वा महिलाको वर्गमा समेटिन होइन, भिन्न पहिचानको माग गर्दै आएको बताए। उनका अनुसार लैङ्गिक तथा यौनिक अल्पसंख्यकलाई पुरुष वा महिलाको समूहमा मिसाएर प्रतिस्पर्धा गराउने विषय होइन, उनीहरूका लागि छुट्टै प्रतियोगिता आयोजना गर्नुपर्छ।

उनले पुरुष र महिलाका लागि छुट्टाछुट्टै प्रतियोगिता आयोजना हुने गरे पनि अन्य लैङ्गिक तथा यौनिक अल्पसंख्यक (जिएसएम) समुदायका लागि विशेष प्रतियोगिता नभएको बताए।

गत जेठमा पोखरा महानगरपालिका–१७ ले वडा अध्यक्ष कप दौड प्रतियोगिता आयोजना गरेको थियो। प्रतियोगितामा महिलाहरूको छुट्टै दौड प्रतियोगिता आयोजना गरिएको वडा नं. १७ का सचिव सुरेन्द्र प्रसाद शर्माले जानकारी दिए।

उनले आधिकारिक रूपमा दौड प्रतियोगितामा तेस्रोलिंगी सहभागी भएको रेकर्ड भने नरहेको बताए। “पुरुष र महिलालाई सँगै दौडाउने कुरा भएन। पुरुष र महिलाको छुट्टाछुट्टै प्रतिस्पर्धा भएको थियो,” वडा सचिव शर्माले पहिचानसँग भने, “महिलाहरूको छुट्टै दौडमा तेस्रोलिंगी आउनुभएको होला, आउनुभएन भन्न सकिएन, तर आधिकारिक रेकर्ड भने छैन।”

गैरसरकारी संस्था महासङ्घ कास्कीकी सचिव केशु भुजेलले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिलाई समाजमा स्थापित गर्न अझै चुनौती रहेको बताइन्। उनले भनिन्, “समाजमा स्थापित गर्ने चुनौती छ। समाजमा अझै पनि उही नकारात्मक दृष्टिकोण छ, हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छैन। त्यही समूह अगाडि आइरहेको छ, तर रमाइलोका विषय मात्र बाहिर आएका छन्, त्यसभित्रका वास्तविक कुरा आएका छैनन्।”

उनले प्रतिनिधिसभामा भूमिका श्रेष्ठ महिला कोटाबाट गएको उल्लेख गर्दै प्रश्न गरिन्,”भूमिकालाई लैङ्गिक तथा यौनिक अल्पसंख्यक कोटाबाट किन पठाउन सकिएन? त्यसका लागि राजनीतिक दलहरूलाई दबाब दिनुपर्‍यो। महिला र पुरुषको कोटा हुन्छ भने लैङ्गिक तथा यौनिक अल्पसंख्यकको पनि छुट्टै कोटा हुनुपर्छ।”

उनले सुनिल बाबु पन्त संविधानसभामा जाँदाको अवस्था र अहिले भूमिका प्रतिनिधिसभामा जाँदाको अवस्थाबीच तुलना गर्दै सबैले विचार गरिरहेको बताइन्। “त्यसैले चुनौती धेरै छन्,” उनले भनिन्।

उनका अनुसार कानुनी रूपमा जति अधिकारको कुरा गरिए पनि व्यवहारमा कानुन कार्यान्वयनका क्रममा ती अधिकार प्राप्त गर्न कठिनाइ हुने गरेको छ। “कानुनमा पनि सुधार गर्नुपर्छ। धेरै कुराहरू छन्। त्यसका लागि के र कसरी गर्ने भन्नेमा छलफल आवश्यक छ,” उनले भनिन्।

भुजेलले राजनीतिक दलहरूलाई कार्यक्रममा बोलाउँदा समेत नआउने अवस्था रहेको उल्लेख गर्दै उनीहरूलाई पनि सचेत गराउनुपर्ने बताइन्। “वडा तहबाटै लबिङ गर्नुपर्‍यो। हामीलाई समावेश गराऊ भनेर आवाज उठाउनुपर्छ,” उनले भनिन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका प्रतिनिधि भेषराज तिमल्सिनाले संविधानले दिएका अधिकारबारे जनचेतना हुनै पर्ने बताए। उनका अनुसार संविधानका पानामा अधिकार लेखिदिँदैमा मात्र पुग्दैन, मैले पनि बुझ्न आवश्यक छ। संविधानका पाना पल्टाएर मात्र पनि हुँदैन।

उनले संविधान संशोधनसँगै मुलुकी ऐनमा पनि संशोधन हुने उल्लेख गर्दै राजनीति सामाजिक सेवाको माध्यम भएकाले त्यसमा आउने र काम गर्ने चासो आवश्यक रहेको बताए। “३०–३५ वर्षको अभ्यासलाई हेरेर करोडौँ खर्च गर्नुपर्छ भन्ने सोच छ। त्यसलाई पनि सुधार गर्न लागिरहेका छौँ। संविधानको पाना मात्रै हेरेर हुँदैन। समुदायबारे राजनीतिक नेतृत्वले बुझिदिनुपर्छ। समुदायभित्र पनि सबैले बुझ्नुपर्छ,” उनले भने।

समाचार शेयर गर्नुहोस्
70
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.