सबै प्रकारका विभेद अन्त्य गर्ने राजनीतिक अभियानमा जिएसएम

सबै प्रकारका विभेद अन्त्य गर्ने राजनीतिक अभियानमा जिएसएम

215
SHARES

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकी सदस्य प्रतीक्षा चापागाईँले एसियामा अपाङ्गता भएका यौनिक तथा लैङ्गिक अल्पसंख्यक (जिएसएम) व्यक्तिहरू राजनीतिमा आउन नसकेको बताएकी छन्।

उनले अपाङ्गता भएका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने र उनीहरूलाई ‘कन्ट्रीब्युटर’का रूपमा हेरिनुपर्ने धारणा राखिन्। पहिला आफूहरूलाई ‘इम्पावर’ गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले यही कमी आफूले महसुस गरेको बताइन्।

पाेखरामा साउन ९ गते पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा चापागाईँले नीति–नियम निर्माणका क्रममा ‘इन्टरसेक्सनल पर्स्पेक्टिभ’ पनि समेटिनुपर्ने बताइन्। यसले अपाङ्गता भएका यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरूलाई खुल्न मद्दत पुग्ने र समाजको दृष्टिकोण पनि समग्र रूपमा परिवर्तन हुने विश्वास व्यक्त गरिन। उनले आफू यही कारण राजनीतिमा आउन चाहेको बताइन्।

उनले राजनीतिमा आउँदा आफूले विभिन्न जटिलताहरू भोगिरहेको उल्लेख गरिन्। नेपाली कांग्रेसबाट क्रियाशील सदस्यता प्राप्त गरेको जानकारी दिँदै उनले मायाको पहिचान नेपाल संस्थाबाट प्रतिनिधिमण्डलसहित सभापति गगन थापासँग भेट भएको स्मरण गरिन्। सभापति थापासँगकाे भेटपछि आफूलाई केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा सदस्यका रूपमा राखेको उनले सुनाइन्।

नीति प्रतिष्ठानमा नियुक्त भएपछि त्यहाँको विधान अध्ययन गरेको उल्लेख गर्दै उनले विधानमा ‘अल्पसंख्यक’ भनेर मात्र उल्लेख गरिएको बताइन्। उनका अनुसार अल्पसंख्यकभित्र पनि धेरै प्रकारका अल्पसंख्यक समुदाय छन्। जातजाति, अपाङ्गता भएका व्यक्तिहरू तथा सिमान्तकरणमा परेका सबै समुदाय त्यसभित्र पर्ने उनको भनाइ छ।

उनले सबैभन्दा बढी सिमान्तकृत यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय रहेको उल्लेख गरिन्। नेपालको संविधान धेरै विषयमा प्रगतिशील भए पनि कार्यान्वयन पक्ष फितलो रहेको उनले बताइन।

उनका अनुसार हरेक राजनीतिक दलमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि छुट्टै समिति र छुट्टै विभागको आवश्यकता छ।

चापागाईँले आफू दृष्टिविहीन समलिङ्गी महिला भएकाले प्रत्यक्ष चुनाव लडेर नीति निर्माण तहसम्म पुग्न कठिन हुने सुनाइन्। त्यसैले आरक्षणको व्यवस्था तथा नेतृत्वको सहयोगमार्फत आफ्नो क्षमताअनुसार योगदान गर्ने अवसर दिन आग्रह गरिन्।

उनले आफू भारतको दिल्लीस्थित जेएनयूबाट मास्टर्स अध्ययन पूरा गरेर आएको उल्लेख गर्दै आफ्नो क्षमता समाजलाई अर्पण गर्न र आत्मसन्तुष्टिका साथ काम गर्न पाउने गरी केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गर्न आग्रह गरिन्।

उनले भविष्यमा चुनाव लड्न टिकटको व्यवस्था गरिदिन तथा विधेयक र कानुन निर्माणमा समेत काम गर्ने अवसर दिनुपर्ने बताउँदै राजनीतिमा लाग्नुको आफ्नो मुख्य उद्देश्य यही रहेको स्पष्ट पारिन्।

राजनीतिक अभियन्ता वर्षा ठकुरीले आगामी स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा लागेको बताएकी छन्। पहिलो संविधानसभा सदस्य तथा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले पोखरामा सञ्चालन गरेको राजनीतिक प्रशिक्षण कार्यक्रममा सहभागी ठकुरीले समाजमा महिला, पुरुषसँगै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय पनि रहेको बताइन्।

उनले भनिन्, “हामी जुन समाजमा छौँ, त्यो समाजमा महिला र पुरुष मात्र होइन, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय पनि हुन्छन्। समान सहभागिताको कुरा गरिरहँदा हरेक तह र तप्काका नीति निर्माणदेखि नेतृत्वसम्म महिला र पुरुषको मात्रै बाहुल्यता देखिन्छ। तर यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको सहभागिता किन छैन?”

ठकुरीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरूमा पनि नेतृत्व गर्ने उस्तै क्षमता हुने बताइन्। “जति क्षमता उहाँहरूमा छ, त्यति नै क्षमता हाम्रो पनि छ। हामी पनि त्यो ठाउँमा पुग्न सक्छौँ,” उनले भनिन्।

समाजलाई परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले आफूहरू युवा भएकाले परिवर्तनको नेतृत्व गर्न चाहेको बताइन्। “यो समाजलाई परिवर्तन पनि चाहिएको छ। हामी युवा पनि हौँ र यो समाजलाई परिवर्तन गर्न चाहन्छौँ। भोलिको दिनमा महिला र पुरुषले मात्र हक तथा अधिकार पाउने होइन, यौनिक तथा लैङ्गिक अल्पसंख्यकले पनि हक तथा अधिकार पाउनुपर्छ,” उनले भनिन्।

राज्यले उपलब्ध गराउने सेवा–सुविधाबाट कोही पनि वञ्चित हुन नहुनेमा जोड दिँदै उनले राजनीतिमा प्रवेश गर्ने आफ्नो उद्देश्य पनि स्पष्ट पारिन्। “यदि राजनीतिक क्षेत्रमा प्रवेश गर्ने अवसर पाएँ भने त्यहीअनुसारका नीति तथा योजना बनाउनेछु। जहाँ पछि पारिएको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय मात्र होइन, सबै प्रकारका हिंसा र विभेद भोग्न बाध्य हरेक सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्ने र ती विभेद चिर्ने उद्देश्यका साथ राजनीतिमा प्रवेश गर्न चाहन्छु,” उनले भनिन्।

राजनीतिक अभियन्ता प्रनिल क्षेत्रीले आफू राजनीतिमा आउनुको मुख्य उद्देश्य लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व र अधिकार सुनिश्चित गर्नु रहेको बताए।

उनले भने, “राजनीति भनेको राज्यका लागि नीति निर्माण गर्ने माध्यम हो। तर, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय त्यहाँ किन पुग्न सकेको छैन? समाजले हेर्ने दृष्टिकोण के छ? भन्ने प्रश्नले नै मलाई राजनीतिमा आउन प्रेरित गरेको हो।”

क्षेत्रीले आफूहरूको उद्देश्य वैकल्पिक सरकार निर्माण गर्नु नभई राज्यका सबै तहमा अर्थपूर्ण सहभागिता र पहुँच सुनिश्चित गर्नु रहेको स्पष्ट पारे। “हामीले तल्लो निकायदेखि माथिल्लो निकायसम्म वैकल्पिक सरकार निर्माण गरेर विकल्प दिने होइन। हाम्रो हक, अधिकार र पहुँच त्यहाँ पुग्नुपर्छ। हाम्रो अधिकार स्थापित हुनुपर्छ भन्ने उद्देश्यले नै म राजनीतिमा आबद्ध भएको हो,” उनले भने।

राजनीतिक अभियन्ता शलिना चौधरीले विभिन्न राजनीतिक दल आए पनि नेतृत्वमा महिला र पुरुषको मात्रै पहुँच कायम रहेको बताइन। उनले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व हुन नसकेको उल्लेख गरिन्।

उनले भनिन्, “विभिन्न किसिमका राजनीतिक दलहरू आए। तर, पहिलेदेखि नै के भइरहेको छ भने महिला र पुरुष मात्रै राजनीतिमा लाग्ने, महिला र पुरुष मात्रै नेतृत्वमा पुग्ने। हाम्रो समुदायका व्यक्तिहरू यो राज्यको एउटा पनि अङ्ग होइनन् जस्तो लाग्यो।”

चौधरीले आफ्नो समुदायका व्यक्तिहरूलाई राज्यका विभिन्न निकायमा समावेश नगरिएको उल्लेख गरिन्। “हाम्रो समुदायका व्यक्तिहरूलाई कहीँ पनि समावेश गराइएको अवस्था छैन। अहिले किन आवश्यकता छ भने हाम्रो समुदायका व्यक्ति जबसम्म कुनै पनि स्थानीय तहदेखि केन्द्रीय तहसम्म पुग्न सक्दैनौँ, त्यतिबेलासम्म हाम्रो समुदायको हक र अधिकार सुनिश्चित हुने छैन। त्यही हक र अधिकार सुनिश्चित गर्नका लागि राजनीतिमा हाम्रो सहभागिता अति नै आवश्यक छ,” उनले भनिन्।

समाचार शेयर गर्नुहोस्
215
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.