कोशी बगिरहेकी थिइन
पहाडका हजारौँ आँसु बोकेर,
त्यो दिन,
उनको छालमा पानीभन्दा धेरै
दुई हृदय बगिरहेका थिए,
जीवनको साँझमा पुगेका
ती दुई हात अझै
एक–अर्कालाई समातिरहेका थिए,
कहिल्यै नछुट्ने वाचा गरेका ती हात
आज समयसँग होइन,
पीडासँग हारिरहेका थिए,
कपालमा उमेरको हिउँ थियो,
आँखामा वर्षौँको प्रेम थियो,
सँगै हाँसेका थिए,
सँगै रोएका थिए,
अभावका दिनहरू पनि
सँगै पार गरेका थिए।
तर आज पत्नीको शरीर
क्यान्सरको पीडाले थाकेको थियो,
औषधिले दुखाइ केही बेर थाम्थ्यो,
तर रात पर्नासाथ
पीडा फेरि उनको शरीरभरि
अँध्यारो भएर फैलिन्थ्यो,
श्रीमान् उनको छेउमा बसेर
उनको अनुहार हेर्थे
सायद मनमनै भन्थे,
“तिम्रो दुखाइमैले लिन पाएको भए…,
तर प्रेमले पनि
रोग निको पार्न सक्दो रहेनछ,
त्यस दिन
सुनकोशीको किनारमा
उनीहरू धेरै बेर मौन बसे,
न कुनै गुनासो,
न कुनै प्रश्न,
न भविष्यको योजना,
केवल एउटा हातमा अर्को हात,
र दुई आँखामा
पूरै जीवनको सम्झना,
सायद उनीहरूले सम्झिए
पहिलो भेट,
पहिलो मुस्कान,
विवाहको त्यो दिन,
सन्तानका साना पाइला,
घरका चाडपर्व,
झगडापछिको मिलन,
र एक–अर्कालाई हेरेर
“हामी छौँ नि” भनेका ती अनगिन्ती क्षण,
आज पनि उनीहरू सँगै थिए,
तर जीवनले
उनीहरूलाई ठूलो परीक्षा लिएको थियो,
अनि कोशी बगिरहीन…
लाग्छ,त्यो क्षणमा
कोशीलाई उनीहरूको शरीर होइन,
उनीहरूको दुःख बगाएर लैजान मन थियो,
त्यतिबेला हामीले उनीहरूको
काँधमा हात राखेर भनेको भए
“आमा-बुबा!
अझै केही समय बस्नुहोस्,
तपाईँहरूको कथा यत्तिमै सकिएको छैन”,
हामीले अँगालो हालेर भनेको भए-
“तपाईँहरूको पीडा एक्लै बोक्नुपर्दैन,
हामी छौँ नि!!”
बाबाको आँखामा लुकेको
अवर्णनीय वेदना पढिदिएको भए
किनकि कहिलेकाहीँ
मानिसलाई जीवनबाट होइन,
अपहेलनाबाट बचाउनुपर्ने हुन्छ।
आर्थिक अभावबाट निकाल्नुपर्ने हुन्छ
दया र करुणामा डुबाउनुपर्ने हुन्छ।
माया र स्नेहले सुमसुम्याउनुपर्ने हुन्छ
“हामी छौ नि” भन्ने एउटा शब्द बोल्नुपर्ने हुन्छ
र कहिलेकाहीँ
औषधिभन्दा ठूलो औषधि
सहयोगी हात हुन्छन्,
मिठा शब्द हुन्छन्
न्यानो अँगालो हुन्छ
“तिमी एक्लै छैनौ”
-बाँच्ने आशा जाग्छ
कोशी अझै बगिरहेकी छन्,
उनले कति प्रेमका कथा बोकीन,
कति बिछोडका आँसु बोकीन,
कति अधुरा सपनाहरू लिएर
समुद्र छुने यात्रा गरिरहेकी छन्।
तर त्यो दिनदेखि
सायद कोशीका छालहरूले
हामीलाई सधैँ सम्झाइरहनेछ
मानिसलाई मृत्युले मात्र मार्दैन,
कहिलेकाहीँ असह्य पीडा,
आर्थिक अभाव,कटु वचनले मार्छ,
उसलाई जीवनबाट टाढा धकेल्न सक्छ।
त्यसैले वरिपरि हेरौँ,
कुनै वृद्धका आँखामा
मौन आँसु त छैन?
कुनै बिरामी ओठमा
नबोलेको पीडा त छैन?
कुनै थाकेको मनले
“मलाई समातिदेऊ” भनिरहेको त छैन?
सुन्न सकौँ,
छुन सकौँ,
अँगाल्न सकौँ,
किनकि
कहिलेकाहीँ जीवन बचाउने
सबैभन्दा ठूलो औषधि
न त अस्पतालमा हुन्छ,
न त औषधिमा हुन्छ
त्यो त हाम्रो न्यानो अँगालोमा,
मायालु शब्दमा,
र “म तिम्रो साथमा छु” भन्ने
एउटा सानो वाक्यमा लुकेको हुन्छ,
अब बाँकी नै के रह्यो र…?
यसैले
अलबिदाका यी शब्दसँग
चढाउँछु दुई थोपा श्रद्धा-सुमन!!!
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.