काठमाडौं – सरकार जनताको पीडामा बेखबर बनेको छ। पीडा महसुस गर्ने सरकारको खोजी भइरहेको छ। जनताले ठूलो आशा गरेर अहिलेको सरकारलाई भोट दिए। तर, परिवर्तनको आशा विकराल समस्यामा परिणत भएको छ।
रास्वपालाई मतदान गरेका नागरिक घण्टीमा भोट दिएकोमा पश्चात्ताप गर्न थालेका छन्। खाना पकाउने ग्यासको हाहाकारले आक्रान्त बनेका नागरिक सरकारलाई गीतमार्फत खबरदारी गर्न थालेका छन्।
गीत मात्रै होइन, नागरिक टन्टलापुर घाममा रित्तो सिलिन्डर बोकेर लामो लाइनमा बस्न बाध्य भएका छन्। त्यो पनि ग्यास पाए पो त। ग्यास नपाउँदा नागरिक आजित भएका छन्। सत्तारुढ दलकै सांसद नागरिकको पीडामा बोल्न बाध्य भएका छन्। रास्वपा सांसद आशिका तामाङले ग्यास अभावमा सरकारको फितलो व्यवस्थापनबारे कविता नै सुनाइन्।
सरकारमाथि नागरिकको पीडा व्यवहारमा समाधान गर्नुको साटो बोलेर, स्टन्टबाजी गरेर, अझ भनौँ सामाजिक सञ्जालमा भ्युज बटुलेर समाधानको नाटक मञ्चन गरिरहेको आरोप लागेको छ।
उद्योगमन्त्री ग्यास नपाउँदा आफूमाथि आक्रोश पोख्नेहरूको घरघरमा पुग्न थालेकी छन्। फोन गरेर ग्यास पुर्याएकी छन्। पहुँच हुनेले पाउने, नहुनेले नपाउने अवस्था बनेको छ।
तर, लाइनमा बसेका नागरिक भने रित्तै भएका छन्। घरको भान्सामा खाना पकाउन नपाएको पीडा नागरिकले व्यक्त गरिरहेका छन्। जुन पीडामा सरकारले देखावटी समाधानको ढोंग पिटिरहेको आरोप छ।
राप्रपा सांसद खुश्वु ओलीले उद्योगमन्त्री ग्यास बाँड्दै हिँडेको प्रसङ्ग सुनाउँदै प्रधानमन्त्री वालेन्द्र शाहलाई स्पष्टीकरण लिन आग्रह गरेकी छन्।
सरकारको नेतृत्व गरेको रास्वपा जनतालाई भुलभुलैयामा पार्न माहिर बनेको आरोप लागिरहेको छ। रास्वपाका केही सांसदले ग्यास अभावमा सरकारको ध्यानाकर्षण गराए पनि सिङ्गो रास्वपा भने विगतका नेताहरूजस्तै सिस्टम र प्रणालीको जवाफ दिएर पानीमाथिको ओभानो बन्ने दाउमा लागेको छ।
रास्वपा संसदीय दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी आवश्यकता अनुसार बजारमा ग्यास वितरण भएको दाबी गर्छन्। हिजोको सरकारले नागरिकको आवश्यकता पूरा नगर्दा धारे हात लगाउने रास्वपाका नेताहरूको यतिबेला आफ्नै ओठमुख सुकेको छ। ग्यास अभावको प्रत्यक्ष मारमा नागरिक परिरहेका बेला बुर्लाकोटीले सरकारको बचाउ गर्दै जवाफ दिए।
गुप्तबासमा बसेका प्रधानमन्त्री वालेन्द्र शाहको लापरबाही र गैरजिम्मेवारीका कारण समस्या माथि समस्या थपिँदै गएको आरोप लागेको छ। प्रधानमन्त्री शाहको गैरजिम्मेवारी मात्रै नभई समन्वय गर्नसमेत ढङ्ग नपुर्याएका कारण विकराल अवस्था देखिएको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले बताए।
ग्यासको कृत्रिम अभाव, कालोबजारी र वितरणको अव्यवस्थाबारे सरकार भने जवाफविहीन छ। अभाव छैन भन्ने बाँसुरी बजाइरहेको छ। एकातिर सरकारले बजारमा आवश्यकता अनुसार ग्यास वितरण भइरहेको दाबी गरिरहेको छ।
तर, ग्यास अभाव छैन भन्ने सरकारको दाबी र नागरिकले भोगिरहेको वास्तविकताबीच ठूलो विरोधाभास देखिएको छ। सडकमा रित्तो सिलिन्डर बोकेर घण्टौँ लाइनमा बस्न बाध्य नागरिकदेखि सदनमा आवाज उठाइरहेका सांसदसम्मको खबरदारीले सरकारको दाबीमाथि नै प्रश्न खडा गरेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.