दुबई – “प्राप्त अधिकार रक्षा आजको आवश्यकता! पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता!!” भन्ने नाराका साथ नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) यूएईको आयोजनामा ३२औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवस दुबईमा भव्य रूपमा सम्पन्न भएको छ।
नेपाल आदिवासी जनजाति महासङ्घ यूएई तथा आबद्ध विभिन्न १२ जातीय सङ्घसंस्थाहरू साथै आदिवासी जनजाति युवा महासङ्घ शाखा युएईको संयुक्त सहभागितामा आयोजित कार्यक्रममा विभिन्न जातीय समुदायका खानपान, भेषभूषा, भाषा, संस्कृति तथा मौलिक परम्पराहरूको प्रदर्शन गरिएको थियो।
सांस्कृतिक झाँकी, मौलिक नाचगान तथा शुभकामना आदानप्रदानले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। नेफिन युएईका अध्यक्ष भागीरथी कुमार भगतको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्यदूतावास, दुबईका वाणिज्यदूत कुञ्जन शाह रहेका थिए। कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, व्यवसायी, बुद्धिजीवी, समाजसेवी तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो।
नेफिन युएईका उपाध्यक्ष बुद्ध बहादुर तामाङको संयोजकत्वमा भएको उक्त कार्यक्रममा औपचारिक कार्यक्रम सञ्चालक महासचिव मनिषा सुब्बा र सचिव देव भुजेलले संयुक्त रूपमा गरेका थिए।
त्यस्तै अनौपचारिक कार्यक्रम सञ्चालक नेफिन युएईको कला संस्कृति सचिव प्रदिप पुन मगर , प्रवक्ता काजल तामाङ र महिला प्रमुख सबिना चाम्लिङ राईले सञ्चालन गरेका थिए।

कार्यक्रमको मुख्य आकर्षण विभिन्न जातीय सांस्कृतिक झाँकी, परम्परागत खानाका परिकार, जातीय भाषा तथा भेषभूषाका स्टल र पौराणिक तथा मौलिक वस्तुहरूको प्रदर्शनी रहेको थियो। प्रमुख अतिथि कुञ्जन शाहलगायत कार्यक्रमका अध्यक्ष तथा अतिथिहरूले विभिन्न जातीय स्टलहरूको अवलोकन गर्दै त्यहाँ राखिएका मौलिक सामग्री तथा खानाका परिकारबारे जानकारी लिएका थिए। सहभागी दर्शकहरूले पनि विभिन्न समुदायका मौलिक परिकारको स्वाद लिँदै सांस्कृतिक प्रस्तुतिको आनन्द लिएका थिए।
एकातिर जातीय सांस्कृतिक तथा साङ्गीतिक प्रस्तुतिले कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएको थियो भने अर्कोतर्फ विभिन्न समुदायका मौलिक खानपान, जीवनशैली र संस्कृतिको विविधता प्रस्तुत गरिएको थियो।
‘नेवा: पुच: यूएईबाट सम्मान तथा सांस्कृतिक सहभागिता’
कार्यक्रममा नेवा: पुच: यूएईका तर्फबाट संस्थालाई दिएको योगदानको उच्च कदर गर्दै पुरुषतर्फ सल्लाहकार भीम नारायण श्रेष्ठ र महिलातर्फ केन्द्रीय सदस्य योगिता हाडालाई सम्मान गरिएको थियो। सम्मानित दुवै जनालाई उपस्थित महानुभावहरूले बधाई तथा शुभकामना दिएका थिए।
कार्यक्रमको मिडिया पार्टनरका रूपमा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) यूएई रहेको थियो। नेवा: पुच: युएईको तर्फबाट पत्रकार सचिन्द्र श्रेष्ठ फोनिज युएईको उपाध्यक्ष पदमा सर्वसम्मत निर्विरोध रूपमा चयन भई उक्त कार्यक्रममा सहभागी भएका थिए।
नेवा: पुच: यूएईको स्टलमा राखिएका विभिन्न मौलिक परिकार तथा सामग्रीहरू संस्थासँग आबद्ध महानुभावहरूले स्वेच्छाले तयार गरी प्रायोजन गरेका थिए। संस्थागत स्वयंसेवकको लागि पुच: बाट रिता शाही र जय प्रकाश कपालीले सहभागिता जनाएका थिए।

सांस्कृतिक झाँकी प्रदर्शनी तर्फ पुच: का प्रमुख सल्लाहकार , सांस्कृतिक विभाग प्रमुख एवं निवर्तमान अध्यक्ष लक्ष्मण श्रेष्ठले धिमे, महासचिव कुमार बलामीले भुस्या , किरण बज्राचार्यले खिं, समिक श्रेष्ठले लाखे नाच,प्रतिमा बज्राचार्यले नेवारी नृत्य प्रस्तुत गरेका थिए। अन्य झाँकीमा नेपालको राष्ट्रिय झन्डा सहित पुच: का अध्यक्ष वीरेन्द्र कुमार नकर्मी, उपाध्यक्ष एवं नेफिन सदस्य सुनिलमान श्रेष्ठ,उपाध्यक्ष एवं नेफिन सदस्य दीपेश श्रेष्ठ,सदस्य एवं नेफिन युएई कोषाध्यक्ष ईश्वर श्रेष्ठ, सदस्य एवं वाईफिन युएई अध्यक्ष गोपाल श्रेष्ठ,सदस्यहरू नवराज श्रेष्ठ, योगिता हाडा, प्रतिमा बज्राचार्य ,एलिना श्रेष्ठ, सल्लाहकार भुवन नकर्मी, विष्णुलाल श्रेष्ठ,तथा संरक्षक भीम नारायण श्रेष्ठ तथा झाँकीको प्रमुख महत्त्वपूर्ण आकर्षण , नेवारी परम्परागत सामग्रीहरू सुकुन्दा, कल: पानस, जल न्हायकँ सिनामु , कोटा,कल:, शंख, घण्टी , अन्टी, सहित दीप प्रज्वलन गरी नेवारी भेषभुषामा सजिएर कार्यक्रमको शोभा बढाई दिनुहुने निरु श्रेष्ठ, अमिता बज्राचार्य , योगिता हाडा,दुर्गा श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, रिता शाही, दिपा श्रेष्ठ, मिना महर्जन,सबिना लामा एस बी, रिता श्रेष्ठ, गिता प्रधान, सुरेश प्रजापति , जय प्रकाश कपाली , अशोक श्रेष्ठ,साजन श्रेष्ठ, सूर्य विक्रम श्रेष्ठ र सचिन्द्र श्रेष्ठ लगायत अन्य धेरै महानुभावहरूको समेत सहभागितामा नेवा: पुच: यूएईले मौलिक नेवारी संस्कृति र कला प्रस्तुत गरेको थियो।
‘फोनिज यूएईको तेस्रो अधिवेशन सम्पन्न’
यसै अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) यूएईको तेस्रो अधिवेशनसमेत सम्पन्न भएको छ। अधिवेशनले यूएईमा क्रियाशील आदिवासी जनजाति पत्रकारहरूबीच एकता, सहकार्य, व्यावसायिकता र समावेशी पत्रकारिताको अभ्यासलाई थप सुदृढ बनाउने उद्देश्य सहित सूर्यबहादुर खवासको अध्यक्षतामा २१ सदस्यीय २०२६–२०२८ कार्यसमिति चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा सूर्य बहादुर खवास, उपाध्यक्षमा सचिन्द्र श्रेष्ठ, कविराज राजवंशी, सन्देश तमु र श्यामबहादुर चौधरी रहेका छन्। सचिवमा किशोरी लामा र कोषाध्यक्षमा राम छिलिङ राई, सह कोषाध्यक्ष आनन्द कुमार भुजेल निर्वाचित भएका छन्।
त्यस्तै, अन्य सदस्यहरूमा जीवन तामाङ, रेमिका सुनुवार श्रेष्ठ, बिन्दु सुनुवार,अमृता बान्तवा, सञ्जय भुजेल, दिना कुमाल, स्नेहा तमु, प्रसाद तमु, रोशन महतो, दिलीप हाँङ्ग, टिका फियाक र देवी माया सुनुवार अधिवेशनबाट निर्वाचित भएका छन्। नेफिन युएईका प्रमुख संरक्षक एवं निवर्तमान अध्यक्ष विक्रम पङ्धाक संयोजक, प्रमुख सल्लाहकार बुद्धि मेवाहाङ राई उपसंयोजक , सल्लाहकार एवम् नेवा: पुच: युएईका महासचिव कुमार बलामी निर्वाचन समिति सदस्य थिए।

निर्वाचन समितिका संयोजक, उपसंयोजक र सदस्यले नव निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई मञ्चमा शपथ ग्रहण गराई प्रमुख अतिथि , मूल समारोहका अध्यक्ष, संयोजक, नेफिन युएईका महासचिव तथा संरक्षक सनिल घिसिङको रोहबरमा प्रमाणपत्र तथा खादा ओढाएर सम्मानका आधिकारिक रूपमा घोषणा गरेका थिए।
३२ओं विश्व आदिवासी जनजाति दिवसको अवसरमा आयोजित यस कार्यक्रमले यूएईमा रहेका विभिन्न आदिवासी जनजाति समुदायबीचको एकता, सहकार्य, सांस्कृतिक संरक्षण तथा मौलिक पहिचानको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको आयोजकहरूले बताएका छन्। हामी जो जहाँ जुनसुकै देश, जुनसुकै ओहोदामा रहे पनि नेपाली हुनुमा गर्व गर्नु पर्छ। राष्ट्रियताको सवालमा र विश्व सामु नेपाल राष्ट्रको पहिचानलाई उजागर गर्न नेवार ,मगर ,गुरुङ्ग लगायत सम्पूर्ण जातीय समुदायहरू आफ्नो मौलिकतालाई अगाडि बढाउन एकजुट भएर लाग्नु पर्छ नेफिन युएईका पूर्व महासचिव, वर्तमान सल्लाहकार तथा नेवा: पुच: युएईका महासचिव कुमार बलामीले जानकारी गराए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.