छैटौँ भुटानी माझी सम्मेलन सम्पन्न, नयाँ कार्यसमिति घोषणा

छैटौँ भुटानी माझी सम्मेलन सम्पन्न, नयाँ कार्यसमिति घोषणा

51
SHARES

अमेरिका – छैटौँ भुटानी माझी सम्मेलन–२०२६ ओहायोको मोनरोमा सम्पन्न भएको छ। सम्मेलनले संस्कृति, पहिचान, शैक्षिक उपलब्धि र सामुदायिक एकतालाई प्राथमिकताका साथ उठाएको दाबी गरिएको छ।

भुटानी अमेरिकन माझी कम्युनिटी (बिएएमसी) को आयोजनामा सम्पन्न सम्मेलनमा अमेरिकाका विभिन्न राज्यबाट आएका माझी समुदायका सदस्य, सामाजिक अगुवा, युवा, कलाकार तथा शुभेच्छुकहरूको सहभागिता थियो।

सम्मेलनमा चित्रकला प्रतियोगिता, बोरा दौड, बेलुन फुटाउने खेल र म्युजिकल चेयरलगायत मनोरञ्जनात्मक तथा सामुदायिक गतिविधि सञ्चालन गरिएका थिए। आरुष माझी, समीर, करुण, हेमसागर माझी र बेधा प्रधानलगायत कलाकारले साङ्गीतिक प्रस्तुति दिएका थिए।

रिजा, सोफिया, जेसिका, प्रिया, प्रियश, प्रभा, रत्न, रेखा माझी/श्रेष्ठ तथा नबिना तामाङलगायत बालबालिका र युवा कलाकारका सांस्कृतिक प्रस्तुतिले सम्मेलनलाई थप आकर्षक बनाएको आयोजकले जनाएको छ।

कार्यक्रममा शिक्षा तथा सामुदायिक क्षेत्रमा योगदान पुर्‍याएको भन्दै निदम माझीलाई प्रशंसापत्र प्रदान गरिएको थियो। ज्येष्ठ सदस्य गौरीमाया माझी, मोनमाया माझी र पूर्णिमाया माझीलाई पनि सम्मान गरिएको थियो।

सम्मेलनको विशेष अवसरमा डा. सुभाष माझीलाई भुटानी माझी समुदायबाट पहिलोपटक डाक्टर अफ ह्युमन सर्भिसेज उपाधि हासिल गरेकोमा विशेष सम्मान गरिएको छ।

तस्बिर : अर्जुन प्रधान/अमेरिका

सन् २०२६ देखि २०२९ सम्मका लागि बिएएमसीको नयाँ कार्यसमिति पनि घोषणा गरिएको छ। नयाँ कार्यसमितिको अध्यक्षमा डा. सुभाष माझी, उपाध्यक्षमा गणेश माझी, महासचिवमा सनमान माझी, कोषाध्यक्षमा सुसन माझी र सचिवमा कविता माझी चयन भएका छन्।

जीत माझी, बुद्ध माझी, अमिषा माझी, हेम माझी, शारदा माझी र बिशाल माझीले संस्थाका विभिन्न विभागीय जिम्मेवारी सम्हाल्ने भनिएको छ।

कार्यक्रममा निवर्तमान अध्यक्ष प्रेम माझी तथा निवर्तमान कार्यसमितिले तीन कार्यकालमा पुर्‍याएको योगदानको प्रशंसा गरिएको थियो।

भुटानी कम्युनिटी अफ सिनसिनाटी (बिसिसी) का अध्यक्ष पुष्प लुइँटेलले माझी समुदायको सङ्गठनात्मक एकता, सामाजिक प्रगति र भावी पुस्ताको उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरे।

बिएएमसीका अध्यक्ष प्रेम माझी प्रेम माझीले सम्मेलन सफल बनाउन सहयोग गर्ने अतिथि, कलाकार, स्वयंसेवक, सहभागी तथा सम्पूर्ण समुदायप्रति आभार व्यक्त गरे। विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार तथा अतिथि र कलाकारलाई मायाको चिनो प्रदान गरिएको थियो।

सम्मेलनले माझी संस्कृति, भाषा र पहिचानको संरक्षणसँगै ज्येष्ठ पुस्ताको योगदानको सम्मान, युवाको सहभागिता तथा शैक्षिक उन्नतिलाई अघि बढाउने सन्देश दिएको दाबी गरेको छ।

ग्लोबल भुटानीज अर्गनाइजेसन (जिबिओ) का प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष डीबी राई, राम गुरुङ, डा. दिनेश चौहान र लीला कुइँकेललगायतको सम्मेलनमा उपस्थिति थियो।

समाचार शेयर गर्नुहोस्
51
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.