अरूले ८० ल्याउँदा तेस्रोलिंगीले ७५ ल्याए पास : अर्जुनधारा नगरप्रमुख

अरूले ८० ल्याउँदा तेस्रोलिंगीले ७५ ल्याए पास : अर्जुनधारा नगरप्रमुख

264
SHARES

झापा – “हामी आफैँ चुकेका हौँ। सबैभन्दा ठूलो कुरा मन हो। हामी महिला, पुरुष, तेस्रोलिंगीभन्दा पनि सबैभन्दा ठूलो कुरा मानवताको हिसाबले केही गर्न सकिन्छ,” लिड नेपालकी कार्यकारी निर्देशक नुमा लिम्बु चञ्चलाले भनिन्।

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको राजनीतिक साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले युरोपियन युनियनको आर्थिक सहयोग तथा एक्सन एडसँगको समन्वयमा सञ्चालित ‘ब्रेकिङ ब्यारियर्स’ कार्यक्रमअन्तर्गत राजनीतिक अभियन्ताहरूको टोलीले स्थानीय तहका जनप्रतिनिधिहरूसँग संवाद गरिरहेको छ। सोही क्रममा लिड नेपालकी कार्यकारी निर्देशक चञ्चलाले अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ र उपप्रमुख खड्गमाया पराजुलीसमक्ष मानवताको हिसाबले केही गर्न अनुरोध गरिन्।

नगरप्रमुख गोम्देनले तेस्रोलिंगी हुनु अपराध नभएको बताए। “तेस्रोलिंगी हुनु अपराध होइन। जन्मै पाइसकेपछि जन्मेको मान्छेलाई सम्मान गर्नुपर्छ,” उनले भने, “कसरी ठाउँ दिने, माया गर्ने, एक्लोपना फिल नहोस्, त्यो पो गर्नुपर्छ।”

कोही पढ्न इच्छुक छन् भने कुनै न कुनै पेसामा आबद्ध भएर आत्मनिर्भर हुने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए। “समाजमा तेस्रोलिंगीले केही गर्न सक्छन्, समाजको एउटा पार्ट हो, समाजको एउटा अङ्ग हो, अरूले गरेजस्तो गर्न सक्छ भन्ने बनाउनुपर्छ, तपाईँहरूले नेतृत्व गरेर आएपछि,” उनले भने।

“तपाईँहरू आएर मैले सहयोग गर्नुमात्र ठूलो कुरा होइन। तपाईँहरूलाई आत्मनिर्भर बनाएर, सक्षम बनायो भने मात्रै त्यो उपलब्धि हो,” नगरप्रमुख गोम्देनले भने।

उनले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू कुन कुरामा रुचि राख्छन्, कुन क्षेत्रलाई लिएर व्यावसायिक हुन सक्छन्, आत्मनिर्भर हुन सक्छन् र उद्यमशील हुन सक्छन् भन्ने कुरा पहिचान गर्नुपर्ने बताए।

“भोलि कुनै जागिर निस्कियो भने त्यसमा तेस्रोलिंगीलाई मिट खाने आयो भने हामी अर्जुनधारा नगरपालिकाले तेस्रोलिंगीलाई गेस मार्क यति दिनेछौँ भन्न सकिन्छ,” उनले भने।

“तेस्रोलिंगीबाट पास मार्क चाहिँ गेस मार्क भन्यो भने त्यो पनि तपाईँहरूको लागि प्राथमिकता हो। तर, गेस मार्क दिँदा पर्न सक्ने योग्य चाहिँ हुनुपर्छ,” उनले स्पष्ट पारे।

उदाहरण दिँदै उनले भने, “अरूले ८० ल्याउँदा पास हुन्छ भने तेस्रोलिंगीले ७५ ल्याउँदा पास हुन्छ।”

उनले गुमराहमा बसेकाहरूलाई बाहिर निकाल्ने काम गर्नसमेत सुझाव दिए। “अनि तपाईँहरूलाई कुन कुराको सीपमूलक तालिमहरू हामीले दिँदा पालिकाले सपोर्ट गरेको अनुभूति हुन्छ, तपाईँहरू खुलेर हामी जुन लिङ्गी भए पनि समाजमा अरू लिंगीजत्तिकै छौँ है भन्ने हुनुपर्‍यो,” उनले भने।

समाचार शेयर गर्नुहोस्
264
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.