झन्डै बीस वर्षपछि थिएटरमा गएर मैले एक वर्षअघि एउटा नेपाली चलचित्र हेरेँ– कोशेढुंगा।
बितेका बीस वर्षमा नेपाली चलचित्रले धुन्धान फड्को मारेको होला भन्ने मलाई लागेको थियो।
…डीसी… डार्लिंग।
भ्रम टुटाएर थिएटरबाट निस्केँ।
मलाई यस्तो लाग्छ– चलचित्र यस्तो होस्, जसका बारेमा बीसौं, तीसौं वर्षपछि पनि त्यो चलचित्र भनेर कुरा गर्न पाइयोस्। गफका विषय बनाउन पाइयोस्।
बलिउड र हलिउडका यस्ता प्रशस्त चलचित्रहरू छन्, जसलाई आज पनि हामी गफका विषय बनाउँछौँ।
मैले आजसम्म नेपाली चलचित्रलाई मेरो गफको विषय बनाउन पाएको छैन।
नेपाली चलचित्रका कथा, संवाद र प्रस्तुत गर्ने शैलीप्रति उहिल्यैदेखि नै मेरा अनेक गुनासा छन्। ती मलाई असाध्यै हल्का र बकवास लाग्छन्। यसैले म नेपाली चलचित्रको खास पारखी होइन। म जस्तालाई पारखी बनाउन नसक्नु नेपाली चलचित्रको समस्या हो वा पारखी बन्न नसक्नु मेरो समस्या हो, म जान्दिनँ।
सस्ता कथा, सस्ता संवाद, सस्ता अभिनय र प्रस्तुत गर्ने सस्ता तरिका नेपाली चलचित्रका विशेषता हुन्। म सस्ता चीजको पारखी होइन।
जसरी मलाई सस्ता चीजका पारखी नहुन छुट छ, त्यत्तिकै छुट तिनलाई महँगा नहुनुमा पनि छ। यस्ता छुटको म आदरै गर्छु।
ढुङ्गा कोशे होस् वा जस्तो होस्, मलाई ढुङ्गा चाहिँ मन पर्छ।
डाँडा र खोलाहरूका वरिपरि जन्मे–हुर्केर हो कि खै किन हो, उकाला बाटा, खोला र बडेमाका ढुङ्गाहरू मलाई असाध्यै मन पर्छ।
खोला, उकाला बाटा र ढुङ्गाहरूका अनेक विशेषताहरू हुन्छन्। ती विशेषताहरू कम्ता रहरलाग्दा र वर्णनयोग्य हुँदैनन्।
खोला तरेपछि, उकाला बाटा हिँडेपछि र बडेमाका ढुङ्गाहरूमा बसेपछि एकखालको शान्तानुभूति हुन्छ। यस्तो लाग्छ– खोला, उकाला बाटा र बडेमाका ढुङ्गाहरूले जिन्दगीमा धेरै कुरा सिकाउँछन्।
खोलाहरूले तर्न सिकाउँछन्, उकाला बाटाहरूले सङ्घर्ष सिकाउँछन् र बडेमाका ढुङ्गामाथिका थचक्क बसाइले, आनन्द के हो, त्यो सिकाउँछन्।
अमेरिका आएयता मैले सबैभन्दा बढी मिस गरेको तिनै खोला, उकाला बाटा र बडेमाका डुङ्गाहरू हुन्।
सन् २००७ मा जब म नेपालबाट अमेरिकाको बाल्टिमोर शहरमा आएँ, कान्तिपुर कोसेलीमा लेखेँ पनि– मैले उकाला बाटाहरू मिस गरिरहेको छु।
हुन त, अमेरिकामा पनि उकाला बाटा र डुङ्गाहरू नभएका होइनन्। तर म आज जहाँ बस्छु, त्यहाँबाट खोला, उकालाबाटा र बडेमाका ढुङ्गा खोज्न अलि टाढै जानु पर्छ।
नेपालमा हुँदा, अझ खासगरी कास्कीको देउरालीमा हुँदा, खोला, उकाला बाटा र बडेमाका ढुङ्गा मेरो दैनिकी जस्तै थियो।
वेशी जानु र खरबारीको उकालो हुँदै घर उक्लनु दैनिकी जस्तो थियो। बीचमा खोला र बडेमाका ढुङ्गा भेटिन्थे, तीमाथि चढेर थचक्क बस्दा गजबको अनुभूति हुन्थ्यो।
वेशी नगएको दिन म अक्सर मुडुली डाँडातिर हरेक साँझजस्तो निस्कन्थेँ। त्यहाँका बडेमान ढुङ्गाहरूमाथि बसेर माछापुच्छ्रे हिमाल हेर्थेँ।
ओ हो, त्यो माछापुच्छ्रे ! त्यसले सहनै नसक्ने गरी मुर्छा पार्छ पो त, प्रकृतिको सौन्दर्य बुझ्नेहरूलाई।
काठमाडौँ आएपछि पनि उकाला बाटाहरू खोज्दै वरिपरिका कुनै डाँडाहरू हिँड्न बाँकी राखिएन।
खोलाहरू भएनन्, उकाला बाटाहरू भएनन् र बडेमाका ठूला डुङ्गाहरू भएनन् भने मलाई जीवन लेथार्जिक लाग्छ।
कताकति, म पनि एक लेथार्जिक।
एक लेथार्जिक आज एउटा कथा सुनाउँदैछु, जो मेरो जिन्दगीको कोशेढुंगा पनि हो।
कथाको वर्ष– २०५१।
आजभन्दा तीस वर्षअघि।
कथाको खास पात्र हुन्– मेरी नीलीमा।
खासमा नीलीमा मेरी होइनन्, मदनमणि दीक्षितकी हुन्।
दीक्षितकी नीलीमा को हुन्, म जान्दिनँ।
म यत्ति जान्दछु, मदनमणि दीक्षितले लेखेको एउटा पुस्तकको नाम हो– मेरी नीलीमा।
मामाकी घोडी, मेरी हिँहीं।
मान्नुस्, मेरो यो हिँहीं हो।
दीक्षितकी नीलीमा मेरो हात परिन्। पढेँ, हुरुक्क भएँ। सहनै सकिनँ, लेखेँ– मनमा लागेका कुरा। कान्तिपुरको कोसेलीको दोस्रो पृष्ठको एउटा कुनामा दुई कोलममा ‘मेरी नीलीमा’ माथि मैले लेखेको एउटा पाठकानुभूति मेरो र दाइ विजयको संयुक्त नाममा प्रकाशित भयो।
त्यो खास समीक्षा थिएन, म र विजय दाइमाथि परेको मेरी नीलीमाको जबरजस्त प्रभाव थियो।
त्यही प्रभावमा हामी प्रकट भएका थियौँ। समीक्षा भन्नुस् वा पाठकानुभूति।
त्यो प्रकाशित भएको दुई दिनपछि कान्तिपुरका उबेलाका कोसेली संयोजक कृष्णमुरारी भण्डारीमार्फत हामीलाई खबर आयो– तपाईँहरूलाई मदनमणि माडसाबले भेट्न खोज्नुभएको छ।
उतीबेला आजको जस्तो मोबाइल फोन थिएन। मेरो घरमा ल्यान्ड लाइन फोन पनि थिएन। कान्तिपुरले कसो कसो हामीलाई खबर गर्यो कि तपाईँहरूलाई मदनमणि माडसाबले भेट्न खोजिरहनुभएको छ।
कान्तिपुरमार्फत मदनमणि दीक्षितको घरको फोन नम्बर प्राप्त भयो।
मेरी नीलीमा र माधवीका लेखक, हामी जस्ता लुरे (म साँच्चीकै लुरे थिएँ, उ बेला) लाई भेट्न खोजिरहेका छन्??
यो खबर सुनेको साँझ मैले बानेश्वरको तीन चक्कर लगाएँ।
काठमाडौँको नयाँ बानेश्वरको एउटा कुनै फोन बुथमा गएर मदनमणि दीक्षितको घरमा फोन लगाएँ। दीक्षितले फोन उठाउनुभयो। भन्नुभयो– म तपाईँहरूसँग कुरा गर्न चाहन्छु।
मैले नतमस्तक भएर भनेँ– हवस्।
उहाँले मलाई शुक्रवारको दश बजेको समय दिनुभयो।
म उहाँलाई बुधवार फोन गरिरहेको थिएँ।
म असाध्यै बेचैनपूर्वक शुक्रवार पर्खिरहेको छु।
शुक्रवारअघि बिहीबारले ट्विस्ट लियो।
बिहीबारको मन्त्रिपरिषद्को बैठकले मदनमणि दीक्षितलाई नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गर्यो। अब म डरमा परेँ। मलाई ती मान्छेले भोलिको भेट्ने समय दिएका छन्, जो हिजो पदीय हिसाबले त्यति ठूलो हैसियतमा थिएनन्, जति म भोलि भेट्न जाँदा हुनेछन्।
हिजोसम्म म मेरी नीलीमाका लेखकलाई भेट्न जाँदै थिएँ, अब ती डरलाग्दा उपकुलपति भएका छन्।
जाऊँ कि नजाऊँ? म तनावमा परेँ।
तनावमा पर्नुका अनेक कारण थिए।
उपकुलपति यसै पनि मेरो लागि भीमकाय शब्द थियो।
शब्दै भीमकाय, मान्छे कति भीमकाय हुँदो हो, शायद म काँपेको पनि हुँदो हो।
शायद काँपेरै म निर्धारित समयमा शुक्रवार बिहान दस बजेतिर काठमाडौँको कालीकास्थानस्थित हुँदै गरेका उपकुलपति दीक्षितका घरमा पुगेँ।
ढोका ढकढक्याएँ।
कसैले ढोका खोल्यो। भनेँ– म सन्जय घिमिरे, मदनमणि सरले बोलाएर आएको।
ढोका खोल्ने के हुनुहुन्थ्यो, मलाई सम्झना भएन।
कोही एउटा १९ वर्षको एउटा लुरे मदनमणि दीक्षितले भेट्न बोलाएर आएको भनिरहेको छ। होइन कि भन्ने पनि लाग्यो होला शायद ढोका खोल्नेलाई।
तै, भनियो– एक छिन बस्दै गर्नुस्।
बस्दै गर्दा, सोचिरहेको थिएँ– के उपकुलपति दीक्षितले मलाई भेट दिनु होला?
दीक्षित माथिको कोठामा कसैसँग कुरा गर्दै हुनुहुन्थ्यो शायद।
ती ‘कोही’, पछि तल झरेपछि थाहा भयो, ती थिए– उद्योगपति मोहन गोपाल खेतान, नयाँ उपकुलपतिलाई बधाई दिन आएका।
उद्योगपति खेतान तल झरेपछि उपकुलपति दीक्षितले मलाई माथि उहाँको पढ्ने/लेख्ने कोठामा बोलाउनुभयो।
गएँ।
माथि गएर बस्ने बित्तिकै उहाँले मलाई सोध्नुभयो– मेरी नीलीमा माथि, कान्तिपुरमा समीक्षा लेख्ने सन्जय घिमिरे, तपाईँ नै हो?
मैले हो भनेँ।
उहाँले पत्याउनुभएन।
देखेर होला शायद– काँचो उमेर, लुरे शरीर।
अहँ, पत्याउनुभएन।
त्यो ‘सो–कल्ड’ समीक्षामा दुई जनाको नाम थियो– विजय/सन्जय घिमिरे।
मेरो रूप, अवतार र उमेर देखेर नपत्याएरै होला, सोध्नुभयो– विजय को हो? कति उमेरको हो?
मैले भनेँ– हामी दाजुभाइ हौँ। उमेरले हामीबीच करिब दुई वर्षको अन्तर छ। जसले लेखे पनि हामी प्रायः लेखहरू संयुक्त नाममा छाप्छौँ। मेरी नीलीमाका बारेमा लेख्नेचाहिँ मै हुँ।
अहँ, फेरि पनि उहाँले पत्याउनुभएन। मैले अनेक प्रयत्न गरेँ।
उहाँले भन्नुभयो– मेरी नीलीमालाई त्यति गहिराइमा पढेर कसरी तपाईँले लेख्नुभयो? मैले आजसम्म मेरी नीलीमाका बारेमा यति उत्कृष्ट समीक्षा कसैले लेखेको पढेको छैन। यो उमेरमा तपाईँको यो चेत…!
मेरो मनलाई ढक्क बनाउने अरू थुप्रै वाक्यहरू उहाँले बोल्दै जानुभयो। मेरा आँखा रसाए।
हिँड्ने बेलामा भन्नुभयो– अर्को साता प्रज्ञा प्रतिष्ठानमा आउनु होला।
अर्को साता प्राज्ञ प्रतिष्ठान गएँ।
भेट भयो अविनाश श्रेष्ठसँग, जो त्यतिबेला प्राज्ञ प्रतिष्ठानबाट निस्कने प्रज्ञा र समकालीन साहित्यका सम्पादक थिए। प्रज्ञामा एक से एक प्राज्ञहरूका समालोचनात्मक लेखहरू छापिन्थे भने समकालीन साहित्यमा निबन्ध, कथा र कविताहरू।
भेट्ने बित्तिकै श्रेष्ठले भन्नुभयो– उपकुलपतिजीले प्राज्ञमा एउटा समालोचनात्मक लेख लेख्न तपाईँलाई भन्न भन्नुभएको छ।
मैले उतीबेला हुन्छ त भनेँ। तर जब त्यहाँबाट फर्किएँ, मलाई तनाव भयो– डा. वासुदेव त्रिपाठी, डा. ईश्वर बरालहरूका समालोचनात्मक लामा लामा लेखहरू छापिने प्राज्ञमा म बबुरो के लेखूँ?
तै, सुरुमै हार्न मनले मानेन।
भोलिपल्ट मिनिबस चढेर कीर्तिपुरस्थित केन्द्रीय पुस्तकालय गएँ। समालोचना सम्बन्धी अंग्रेजी, हिन्दी र नेपालीका अनेक पुस्तक पल्टाएँ। सात दिनसम्म लगातार यसै गरेँ। अंग्रेजीका धेरै कुरा बुझिएन, हिन्दी र नेपालीका समालोचना सम्बन्धी अनेक सन्दर्भ र वाक्यहरू उतारेँ। र लेख्न बसेँ– प्राज्ञमा छापिन लायक एउटा समालोचनात्मक लेख लेख्न।
लेख्न त लेखेँ, के के लेखेँ। चित्तै बुझेन। एकदिन गएर सम्पादक अविनाश श्रेष्ठलाई भनेँ– यो मेरो वशको विषय होइन रहेछ।
उहाँले मलाई अलिक सजिलो बनाइदिनुभयो, भन्नुभयो– ठिकै छ, केही छैन, तपाईँको कुनै निबन्ध, कथा वा कविता छ भने दिनुस्, समकालीन साहित्यमा छापौँला।
मलाई धेरै हलुको भयो।
म लेखनमा सुरुदेखि नै अलिक स्वच्छन्द मान्छे। मलाई लेखनमा अनुशासन मन पर्दैन। एउटा स्वच्छन्द निबन्ध सम्पादक श्रेष्ठलाई दिएँ। छापियो समकालीन साहित्यमा। मेरो त्यही नै पहिलो निबन्ध हो।
जतिबेला दीक्षित उपकुलपति हुनुहुन्थ्यो, सदस्य–सचिव थिए– डा. ध्रुवचन्द्र गौतम।
अरू एक से एक प्राज्ञहरू थिए।
उबेला डा. गौतमसँग मित्र देवेन्द्र भट्टराई र म अलिक सङ्गत बढाउँदै थियौँ। हाम्रो राम्रै हिमचिम भइसकेको थियो।
हामीलाई लोभ लाग्थ्यो यसो गर्न।
आफूले चिनेका उपकुलपति, आफूले चिनेका सदस्य–सचिव।
शायद एक वर्षपछि प्राज्ञ प्रतिष्ठानमा खरिदारको जागिर खुल्यो। मैले पनि दरखास्त हालेँ, डा. गौतमले नै दरखास्त हाल्नु भनेर। अन्तर्वार्तामा छानिएँ। शायद यसकारण छानिएँ– उपकुलपति र सदस्य–सचिव मेरा दाहिना थिए।
जब अन्तर्वार्ता दिन गएँ, अन्तर्वार्ता लिँदै थिए– डा. योगेन्द्रप्रसाद यादव। त्यहीँ थिए– मैले जानेबुझेका डा. ध्रुवचन्द्र गौतम।
यादवले मलाई इतिहासका अनेक प्रश्न सोधेर हैरान पारे। पृथ्वीनारायण शाह कहिले गोर्खाबाट हिँडे? पृथ्वीनारायण शाह कुन बार घरबाट हिँडेका थिए? शाहले कस्ता लुगा लगाएका थिए? आदि इत्यादि।
म कायल भएँ। सही उत्तर दिनै सकिनँ।
मैले प्रज्ञा प्रतिष्ठानमा खरदारको जागिर पाइनँ। यसकारण पाइनँ– मैले इतिहास जानिनँ। आज पनि म कहिलेकाहीँ सोच्छु– इतिहासका तिथिमिति र खरिदारको जागिरको सम्बन्ध के हो? पृथ्वीनारायण शाह घरबाट निस्केको दिन वा बार जान्दा खरिदारको दैनिकी काममा कति फरक पर्थ्यो?
म डा. गौतमसँग पल्किँदै थिएँ, शायद डा. गौतम पनि म र देवेन्द्रलाई अलिअलि स्वीकार गर्दै थिए। त्यही समयमा मलाई मन पराउँदै गएका डा. गौतमका अगाडि, डा. यादवले मलाई सोधेका प्रश्न र मैले दिन नसकेका जवाफबाट म लज्जित भएँ। र त्यसपछि डा. गौतमलाई मैले फेस गर्न सकिनँ।
डा. गौतमसँग मेरो सम्बन्ध टुट्यो। मित्र देवेन्द्रले आजपर्यन्त डा. गौतमसँग गजबको सम्बन्ध कायम गरिरहेको छ। म चुकेँ। एउटा खरिदारको जागिरको लोभले मेरो सम्बन्ध डा. गौतमसँग टुटायो।
ठिकै त ठिकै भयो, खरिदारको जागिर नपाएर। पाएको भए– म एउटा खरिदार कमलादी र पुतलीसडकतिर वर्षौँसम्म एउटा इष्टकोट लगाएर हिँडिरहेको हुने थिएँ। म आज जहाँ छु, त्यहाँ हुने थिइनँ। खरिदारको जागिर नपाउनु पनि मेरो जिन्दगीको एउटा कोशेढुंगा हो।
दर्शनशास्त्रमा एउटा महत्त्वपूर्ण भनाइ छ– हिजो केही कुरा नहुनु, आजको हुनु हो। हिजो त्यो नभएकै कारण, आज यो भइरहेको छ।
मैले खरिदारको जागिर पाइनँ, यो कुनै महत्त्व र ठूलो कुरा थिएन। र, होइन पनि। ठूलो कुरा के थियो र हो भने, हाम्रा उपकुलपति, सदस्य–सचिव र प्राज्ञहरू धुन्धानका थिए। सम्झनालायक थिए, प्राज्ञ र प्रज्ञाले भरिएका।
आजका उपकुलपति, सदस्य–सचिव र प्राज्ञहरू देखेर मलाई लाज लाग्छ।
आज ती पदहरूमा जो जस्ता आसीन छन्, उनीहरूलाई देखेर बालेन सरकारलाई यी पदेन नामहरू सच्याउन मेरो आग्रह छ। आज जो कुलपति भएका छन्, ती कुलपति शब्द सुहाउँदा छैनन्। कुलपति बडो विशाल शब्द पो हो त। त्यो शब्दको भारी बोक्न आजका लुरेहरूले कदापि सक्दैनन्।
प्राज्ञ शब्द पनि उस्तै भारी शब्द हो। आजका ती मान्छे, जसलाई प्राज्ञ भनिएको छ, ती त्यो शब्दका तुलनामा धेरै लुरे छन्। जो तिनले आफ्नो शरीर धान्न सक्दैनन्, तिनले प्राज्ञको थप गह्रुँगो भारी कसरी धान्न सक्छन्?
ती जो, मैले नपाएको खरिदारको पदका लायक छैनन्, ती कसरी प्राज्ञका लायक भए?
तिनीहरूलाई त्यही ठाउँमा अरू पद दिएर राखे हुन्छ, तर तिनलाई कृपा गरेर कुलपति वा उपकुलपति नभनियोस्, प्राज्ञ नभनियोस्।
म त मदनमणिलाई उपकुलपति मानेर आएको मान्छे। ध्रुवचन्द्रलाई सदस्य–सचिव गनेर आएको मान्छे।
आज प्रज्ञा प्रतिष्ठानहरू खिइँदै छन्। न प्रज्ञा, न प्राज्ञ!
नयाँ भनेका पनि टाँइ टाँइ फिस!
लेखक घिमिरे हाल टेक्सास, अमेरिका निवासी हुन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.