शक्ति फर्काउने दाउमा देउवा-ओली पुनः सक्रिय

शक्ति फर्काउने दाउमा देउवा-ओली पुनः सक्रिय

61
SHARES

काठमाडौँ – पुराना राजनीतिक खेलाडी नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनाव सकिएको झन्डै पाँच महिनापछि फेरि सलबलाउन थालेका छन्।

सत्ता र शक्ति गुमाएपछि केही समय राजनीतिक रूपमा रक्षात्मक देखिएका देउवा र ओली पछिल्ला गतिविधिमार्फत पुनः आफ्नो राजनीतिक प्रभाव स्थापित गर्ने प्रयासमा सक्रिय भएका हुन्।

विदेशमा रहँदा रेड कर्नर नोटिस जारी भएका देउवा स्वदेश फर्किँदा भव्य स्वागत पाएपछि पुनः पुरानै राजनीतिक रबाफका साथ प्रस्तुत भएका छन्। देउवा स्वदेश फर्किएसँगै एमाले अध्यक्ष ओली पनि निर्वाचन क्षेत्रमा पुगेर पार्टीभित्रको आन्तरिक विवादसँगै सरकारमाथि आक्रोश पोख्न थालेका छन्।

देउवा र ओलीले लगभग एकै समयमा आफ्नो राजनीतिक सक्रियता बढाएर गुमेको शक्ति र प्रभाव फर्काउने अभियान थालेको सङ्केत गरेका छन्। पूर्वराजाप्रति आक्रोशित देउवा पछिल्लो समय सरकारप्रति भने तुलनात्मक रूपमा नरम देखिएका छन्।

ओलीले भने वर्तमान सरकारलाई चलाउने ढङ्ग नभएको भन्दै उरन्ठेउलाको संज्ञा दिएका छन्। सरकारप्रतिको दृष्टिकोणमा फरक देखिए पनि पार्टीभित्रको आन्तरिक किचलो कायम राख्ने र आफ्नै नेतृत्वमाथि उठेका चुनौतीको सामना गर्ने क्रममा देउवा र ओलीको राजनीतिक नीति भने समान देखिएको छ।

नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापालाई हटाएर पुनः आफ्नो पद र प्रभावमा फर्कने प्रयासका रूपमा देउवाको उपस्थितिमा राष्ट्रिय भेला नै मञ्चन भएको छ।

भेलामा देउवा पक्षीय नेताहरूबीचकै आन्तरिक विवादसमेत छताछुल्ल भएको छ। १५औँ महाधिवेशन देउवाको नेतृत्वमा गर्ने घोषणा गर्दै गर्दा मञ्चमै एकले अर्कोलाई तानातान गरेका छन्। कागज खोस्नेदेखि भनाभनसम्म भएको छ।

जेनजी आन्दोलनपछि कांग्रेसको सक्रिय राजनीतिबाट संन्यास लिएको घोषणा गरी कार्यवाहक सभापतिको जिम्मेवारीसमेत पूर्णबहादुर खड्कालाई सुम्पिएका देउवा यतिबेला पुनः पार्टीभित्रको आन्तरिक विवाद चर्काउने दिशामा सक्रिय भएको आरोप लागेको छ।

विदेशबाट फर्किँदासमेत आफू नागरिकको रूपमा आएको बताएका देउवाले सर्वोच्च अदालतबाट विशेष महाधिवेशन अवैध हुने विश्वास राखेको अभिव्यक्ति दिए।

देउवामा शक्तिको भोक फेरि जागेको टिप्पणी भएका छन्। देउवाले पार्टीभित्रको आन्तरिक विवादमा मात्रै होइन, देशमा धर्मनिरपेक्षता कायम हुँदाहुँदै हिन्दू धर्मको वकालत गर्नसमेत भ्याएका छन्।

शान्ति र स्थिरता आफू नेतृत्वमा हुँदा मात्रै आउने जस्तो गरी देउवाले धर्मको नाममा देशमा भाँडभैलो सिर्जना गर्ने प्रयास गर्न थालेको आरोप पनि लागेको छ।

झन्डै साढे पाँच महिना विदेश बसेर फर्किएका देउवा अहिले फेरि गर्जिन थालेका छन्। आधिकारिकता पाएको कांग्रेस सभापति गगनकुमार थापामाथि आक्रोशित बनेका छन्। गगनलाई गाली गर्नेहरूको भेलाको मुख्य वक्ता बनेका देउवाले उही पुरानै रबाफ फर्काउने प्रयास गरे।

देउवा पक्षीय नेताहरूले पनि बिपी कोइरालाको नाम लिँदै राष्ट्रिय एकताको अलाप गरेका छन्। तर पार्टीभित्र विभाजन र विग्रह निम्त्याउने आरोप लागेका नेताहरूले नै बिपी कोइरालाको मेलमिलापको नीतिको अलाप गरेपछि सभापति गगनकुमार थापाको पनि कन्सिरी तातेको छ। बिपी कोइरालालाई बुझेरभन्दा नबुझेर बोल्ने नेताहरूलाई सभापति थापाले मुखभरिको जवाफ दिए।

जेनजी आन्दोलन नै देउवा, ओली र पुष्पकमल दाहाल प्रचण्डको मिलीजुली सत्ता चलाउने नीति विरुद्ध भएको जगजाहेर छ। जनता वाक्कदिक्क बनेर पार्टी नफेरे पनि मत बदलेर पत्तासाप हुने गरी चुनावमा पराजित गरे। चुनाव जित्ने पूर्वप्रधानमन्त्रीमा प्रचण्ड एक्ला छन्।

आफूलाई चुनावमा पराजित गर्ने अरू नभएर आफ्नै पार्टी एमालेका नेता–कार्यकर्ता रहेको आरोप ओलीले लगाएका छन्। अध्यक्षबाट हटाउने चियागफदेखि हस्ताक्षर सङ्कलनसम्मका अभियानले ओली झनक्क रिसाएका छन्। पार्टी नबदल्ने, भोट बदल्नेहरूलाई ओलीले ‘नकचरा’को संज्ञा नै दिए।

पार्टीभित्र अल्पमतमा पार्ने अभियानले अध्यक्ष पद नै गुम्ने त्राससमेत ओलीमा देखिएको छ। ओलीले आफूलाई अध्यक्षबाट हटाउन लाग्नेहरूलाई आभाराहरू समेत भनेका छन्। वर्षौँसम्म ‘बा’ मानेकाहरूमाथि ओली खनिए।

हलो अर्काको जोतेर भात खान मात्रै एमाले पार्टीमा लागेको ओलीको आरोप छ। देउवाले कांग्रेसको पराजय विशेष महाधिवेशनका कारण भएको दोष थोपरेजस्तै ओलीले पनि आफ्नै नेता–कार्यकर्तालाई आरोप लगाएका छन्।

दुवै नेताको अभिव्यक्तिमा देखिएको साझा पक्ष भनेको पार्टीभित्रको असन्तुष्टि र नेतृत्वविरुद्धको चुनौतीलाई बाह्य कारणभन्दा आफ्नै दलभित्रका नेता–कार्यकर्ताको गतिविधिसँग जोडेर प्रस्तुत गर्नु हो। सत्ता र शक्ति गुमाएका देउवा र ओलीमा यतिबेला उस्तै छटपटी देखिएको छ।

झन्डै दुई तिहाइ नजिकको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारमाथि देउवा मौन बसे पनि ओलीले नाच्न नजानेका उरन्ठेउलाहरूमाथि टिप्पणी गर्नु व्यर्थ हुने भन्दै झटारो हानेका छन्।

पार्टीभित्र आन्तरिक किचलो जारी राख्ने, विवाद बढाउने र सरकारसँग निहुँ मात्र खोज्ने देउवा-ओलीको एउटै लक्ष्य स्पष्ट देखिएको छ। चुनावमा जनताले पुराना राजनीतिक शक्तिलाई दिएको सन्देशपछि पनि देउवा र ओलीको राजनीतिक सक्रियता भने पुरानै शक्ति समीकरण फर्काउने दिशामा केन्द्रित छ।

फरक पार्टी, फरक अभिव्यक्ति र फरक राजनीतिक शैली भए पनि दुवै नेताले अहिले सामना गरिरहेको मुख्य चुनौती एउटै छ-आफ्नै पार्टीभित्र कमजोर हुँदै गएको प्रभाव पुनः स्थापित गर्नु। त्यसैले देउवा र ओलीको पछिल्लो सक्रियता केवल सरकारविरुद्धको राजनीतिक प्रतिक्रिया मात्र नभई, आफ्नै दलभित्र गुम्दै गएको पकड फर्काउने समान राजनीतिक दाउपेचका रूपमा समेत देखिन थालेको छ।

समाचार शेयर गर्नुहोस्
61
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.