शिक्षाविद्, पूर्वराजदूत एवं दासढुङ्गा दुर्घटना छानबिन आयोगका सदस्य धौभडेलको निधन

शिक्षाविद्, पूर्वराजदूत एवं दासढुङ्गा दुर्घटना छानबिन आयोगका सदस्य धौभडेलको निधन

305
SHARES

क्यानडा – नेपालका वरिष्ठ शिक्षाविद्, त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक तथा भारत र भुटानका लागि पूर्वनेपाली राजदूत प्रा.हर्षनारायण धौभडेलको ९० वर्षको उमेरमा क्यानडाको क्यालगरीमा निधन भएको छ।

दीर्घकालदेखि पार्किन्सन्स रोगबाट पीडित धौभडेलको अस्पतालमा उपचार सम्भव नभएपछि छोरी निशाको घरमा राखिएको थियो। उनको त्यही छोरीकाे घरमा निधन भएको ज्वाइँ ज्योति वैद्यले जानकारी दिए। उनका चार छोरीहरूमध्ये तीन जना क्यानडा र एक जना अमेरिकामा बस्दै आएका छन्।

वि.सं. १९९२ फागुनमा सिराहामा जन्मिएका धौभडेलको पुर्खा भने भक्तपुरका हुन्। हजुरबुबा शंकरदास रोजगारीका क्रममा सिराहा पुगेपछि उनको परिवार तराईमै बसोबास गर्न थालेको थियो। धौभडेलले कक्षा ८ सम्म सिराहा र ९ देखि १२ कक्षासम्मको पढाइ भारतको जयनगरबाट पूरा गरेका थिए।

त्यसपछि त्रिचन्द्र क्याम्पस र पटना विश्वविद्यालयबाट बी.ए. तथा बी.एड., भारतको जवाहरलाल नेहरु विश्वविद्यालय (इलाहाबाद) बाट एम. एड. र सन् १९८३ मा अमेरिकाको ओरेगन विश्वविद्यालयबाट विशेष शिक्षा (M.Sc. Special Education) मा स्नातकोत्तर गरेका थिए।

धौभडेलले सिद्धार्थ वनस्थली स्कुलको प्रिन्सिपलबाट आफ्नो सेवा यात्रा सुरु गरेका थिए। वि. सं. २०२१ देखि २०५७ सम्म करिब ३६ वर्ष त्रिभुवन विश्वविद्यालयमा निरन्तर सेवा गरेका उनले प्राध्यापक, कान्ति छात्रावासको वार्डेन, महेन्द्ररत्न क्याम्पस ताहाचलको क्याम्पस प्रमुख, शिक्षाशास्त्र संकायको सहायक डिन तथा डिन र शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) को कार्यकारी निर्देशकको जिम्मेवारी सफलतापूर्वक सम्हाले।

नियमित सेवाबाट निवृत्त भएपछि पनि उनले वि. सं. २०६८ सम्म विभिन्न शैक्षिक संस्थाहरूमा परामर्शदाताका रूपमा सेवा प्रदान गरेका थिए।

वामपन्थी विचारका धौभडेलले नेपालको लोकतान्त्रिक आन्दोलनमा पनि अग्रणी भूमिका निर्वाह गरेका थिए। नेपाल प्राध्यापक सङ्घ र पेसागत महासङ्घको अध्यक्ष रहेका उनले २०४६ को जनआन्दोलनमा प्राध्यापकहरूको तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

२०५० को दासढुङ्गा दुर्घटना छानबिन आयोगका सदस्य धौभडेल सन् १९९५ देखि १९९६ (वि.सं. २०५१) सम्म भारत र भुटानका लागि नेपाली राजदूत नियुक्त भएका थिए।

उनी ‘सेतो गुराँस’ का संस्थापक थिए भने मानवअधिकार, नेपाल दृष्टिविहीन कल्याण सङ्घ, बहिरा महासङ्घ तथा अपाङ्ग महासङ्घजस्ता अनेकौँ सामाजिक सङ्घ-संस्थाहरूमा सक्रिय रूपमा आबद्ध थिए।

उनकी धर्मपत्नी शशीप्रभा धौभडेलले पनि ३० वर्षसम्म लिटल एन्जेल्स स्कुलमा अध्यापन गरेकी थिइन्। धौभडेल दम्पतीका चार छोरीहरू (डा. सङ्गीता, ई. निशा, रश्मी र डा. प्रज्ञा), ज्वाइँहरू तथा चार नातिनातिना छन्।

समाचार शेयर गर्नुहोस्
305
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.